मङ्गलबार, १३ अक्टोबर २०२६

नागरिकता कानुन संशोधनको आवश्यकता

News Image
• • •

डा. महेन्द्रजंग शाह
नागरिकता के हो?

नागरिकता अवधारणाको ऐतिहासिक विकास प्राचीन ग्रिकमाको नगर-राज्य एथेन्सबाट सुरु भएको मानिन्छ, जहाँ निश्चित पुरुष वर्गलाई मात्र राज्यका निर्णय प्रक्रियामा भाग लिने अधिकार थियो। रोमन साम्राज्यमा नागरिकतालाई कानुनी संरक्षण र अधिकारको रूपमा विस्तार गरियो। आधुनिक युग सन् १७८९ को फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामपछि नागरिकतालाई मानव अधिकार, समानता र लोकतन्त्रको मुख्य खम्बाको रूपमा हेर्न थालियो।

नागरिकतालाई Ubi jus, ibi remedium (जहाँ अधिकार हुन्छ, त्यहाँ उपचार हुन्छ), Nemo patriam suam abnegare potest (कसैले आफ्नो मातृभूमिलाई अस्वीकार गर्न सक्दैन) र Nemo bis vexari debet (एउटै विषयमा व्यक्तिलाई दुई पटक दुःख दिनु हुँदैन) भन्ने लेटिन सुक्तीसंग जोडेर हेरेको पाइन्छ। रामायण महाकाव्यका ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन। यो श्लोकको नेपाली मुलका वंशजलाई बनाइएका विदेशीबाट हालै उजागार हुन लागेको छ। 

नागरिकता जन्मभूमिप्रतिको सम्बन्ध, निष्ठा र अपनत्वको अवधारणा व्यक्त गर्ने प्रमाणपत्र नै नागरिकता हो। यो कानुनी प्रावधान मात्र होइन एक न्यायिक सिद्धान्त पनि हो भन्ने मान्यता वंशजमा हुनु खुसीको विषय पनी हो। नागरिकको खुसी नै शासकको खुसी हो भन्ने कौटिल्यको अर्थशास्त्रमा पढिने श्लोक ‘प्रजासुखे सुखं राज्ञः, प्रजानां च हिते हितम्’ भन्ने धारणामा सरकार मौन छ र किन राज्यले नागरिकता केवल परिचयपत्र वा कानुनी प्रमाणपत्र मात्र बनायो तर व्यक्ति र राज्यबीचको स्थायी बन्धन बनाएन र वंशजलाई किन विदेशी बनायो भन्ने नै आजको प्रश्न हो।

नागरिकता भनेको राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने कानुनी पहिचान हो। यसले व्यक्तिलाई राज्यप्रति निष्ठावान् बनाउँछ भने राज्यले व्यक्तिलाई अधिकार र सुरक्षाको ग्यारेन्टी दिन्छ। नागरिकता अधिकार र कर्तव्यको दायरा हो। नागरिकता केवल परिचयपत्र वा कागज मात्र होइन, यो अधिकार (Rights) र कर्तव्य (Duties) को सन्तुलित संयोजन हो। अधिकारको रोह राजनीतिक भोट हाल्ने, चुनाव लड्ने, नागरिक स्वतन्त्रता, समानता, र सामाजिक आर्थिक अधिकार। 

कर्तव्यको रोह कर तिर्ने, कानुनको पालना गर्ने, राष्ट्रिय सुरक्षामा योगदान दिने र राज्यप्रति निष्ठावान् रहनेबाट हेर्न सकिन्छ। नागरिकताले व्यक्ति र राज्यबीचको कानुनी, राजनीतिक र सामाजिक सम्बन्धलाई जनाउँछ। नागरिकता राज्यको सार्वभौमसत्तासँग जोडिएको एउटा महत्त्वपूर्ण कडी जसले व्यक्तिलाई राज्यको पूर्ण सदस्यको मान्यता दिन्छ। 

विश्वभर नागरिकता प्रदान गर्ने मूलत तीनवटा सर्वमान्य कानुनी सिद्धान्तहरू छन्। रक्तको सिद्धान्त जसमा बच्चा जहाँ जन्मे पनि आमा वा बाबुको नागरिकताका आधारमा बच्चाले नागरिकता पाउँछ। नेपालले यही सिद्धान्तलाई अपनाएको छ। माटो/स्थानको सिद्धान्त जसमा कुनै व्यक्ति जुन देशको भूगोल/माटोमा जन्मन्छ, उसले सोही देशको नागरिकता स्वतः प्राप्त गर्छ जस्तै: अमेरिका, क्यानडा आदिमा छ। अङ्गीकृत नागरिकता जसमा निश्चित अवधि बसोबास गरेपछि, विवाह गरेपछि वा राज्यलाई विशिष्ट योगदान दिएपछि कानुनबमोजिम दिइने नागरिकता भन्ने बुझिन्छ।

नेपालमा नागरिकता कानुन

नेपालको नागरिकता कानुनको इतिहास हेर्दा वि.सं. १९१० को मुलुकी ऐन र राणाकालीन सनद-सवालदेखि शुरू भई आधुनिक ऐन-नियमहरूसम्म विकसित हुँदै आएको छ। वि.सं. १९१० को मुलुकी ऐन र पूर्वकालमा नागरिक र गैरनागरिकबीच विभेद गर्ने विभिन्न सनद, सवाल र दिव्योपदेशहरू प्रचलनमा थिए।

नेपालमा नागरिकता सम्बन्धी कानूनी र नीतिगत थालनी नेपाल नागरिकता ऐन, २००९ (वि.सं. २००९ माघ १६/ सन् १९५३ जनवरी २६) मा यसै ऐनबाट भएको हो। यसलाई संवैधानिक वि.सं. २०१९ मा जारी संविधानबाट नेपालको संविधानमा पहिलोपटक नागरिकतासम्बन्धी व्यवस्था समावेश गरिएको थियो। नेपाल नागरिकता ऐन, २०२० (वि.सं. २०२० फागुन ४) ले नागरिकता वितरणलाई थप व्यवस्थित बनायो। 

वि.सं. २०२५ मा नेपाल नागरिकता नियमावली, २०२५ लागू भयो। वि.सं. २०४६ को परिवर्तनसंग नेपाल नागरिकता ऐन, २०६३ आयो। यसको सम्बन्ध भनिने प्रजातन्त्र र लोकतन्त्रसंग पनी छ। यसका शासकको अयोग्यता र विबेकहिनातपनी जोडीएर आउछ। प्रजातन्त्रको पुनःस्थापनापछि २०६३ मा नयाँ नागरिकता ऐन जारी भयो।

यस ऐनले २०४६ चैत्र मसान्तसम्म नेपालमा बसोबास गरेका आधारमा जन्मको आधारमा नागरिकता दिने व्यवस्था गर्‍यो। वि.सं. २०६९ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई नागरिकता प्रमाणपत्रमा अन्य लिङ्ग उल्लेख गरी पहिचान दिने निर्णय भयो। 

नागरिकतालाई वि.सं. २०६८ देखि कम्प्युटर प्रणाली मार्फत नागरिकता वितरणको थालनी भयो। वि.सं. २०७७ मा सिआईएमएस प्रणाली अपग्रेड गरी पायक पर्ने जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरियो। ३, असोज २०७२ मा जारी संविधानले वंशज, अङ्गीकृत, सम्मानार्थ र गैर आवासिय नागरिकता लगायतका व्यवस्था गरेको छ। 

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ र पछि नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक लगायतका विधेयकहरूमार्फत समयसापेक्ष कानूनी सुधारहरू अगाडि बढाइएको छ। कानूनी ब्यबस्था नेपालमा नागरिकतासम्बन्धी व्यवस्था नेपालको संविधानको भाग २, धारा १० देखि १५, नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ बाट सञ्चालित छ। 

संविधान र कानुनले वंशजको नागरिकता पाउने वर्गमा संविधान प्रारम्भ हुँदा नेपालमा बसोबास गरेका वा वंशजको आधारमा नागरिकता प्राप्त गरेका बाबु वा आमाका सन्तान। नेपालभित्र फेला परेको, बाबु र आमाको ठेगाना नभएको नाबालक (तर बाबु वा आमा फेला परेमा वंशजमा परिणत हुने)।

अंगीकृत नागरिकता नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सर्तअनुसार अंगीकृत नागरिकता पाउन सक्ने। नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिला वा नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषको हकमा संघीय कानुन बमोजिम हुने।

सम्मानार्थ नागरिकता नेपाल सरकारले विशेष योगदान पुर्‍याएका विदेशी व्यक्तित्वहरूलाई सम्मानस्वरूप प्रदान गर्न सक्ने र गैरआवासीय नेपाली नागरिकता (NRNA) सार्क (SAARC) राष्ट्र बाहेकका देशमा बसोबास गरी विदेशी मुलुकको नागरिकता प्राप्त गरेका तर साविकमा नेपालको नागरिकता लिएका वा वंशजको आधारमा नागरिकता पाउन सक्ने योग्यता भएका व्यक्तिहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने ब्यबस्था गरेको छ।

नागरिकताको मापदण्ड 

वंशजबाट नागरिकता पाएको व्यक्ति पछि अर्को देशको नागरिक बनेपछि कुन देशले उसलाई अझै आफ्नो नागरिक मान्छ र कुन देशले विदेशी/पूर्व नागरिकको रूपमा व्यवहार गर्छ भन्ने हो भने मुख्य मापदण्ड वंशज नागरिकता र दोहोरो नागरिकता सम्बन्धी कानुन हो। अन्तर्राष्ट्रिय कानुनमा सबै देशलाई बाँध्ने एउटै नियम छैन। प्रत्येक देशले आफ्नै कानुन बनाउँछ। 

वंशजलाई विदेशी नमान्ने/नागरिकता कायम राख्ने मापदण्ड अवलम्वन गरेका देशमा सामान्यत व्यक्तिले वंशज वा जन्मबाट प्राप्त मूल नागरिकता स्वतः गुमाउँदैन। अर्को देशको नागरिकता लिए पनि पहिलो देशले नागरिकता स्वीकार गरिन्छ। नागरिकता त्याग्नुपर्ने भए पनि प्रायः स्वेच्छिक रूपमा त्याग गरेपछि मात्र समाप्त हुन्छ। 

नागरिकताको आधार विदेशमा बस्यो कि बसेन भन्दा कानुनी रूपमा नागरिकता त्यागेको/नत्यागेको कुरामा बढी केन्द्रित हुन्छ। बेलायतले र अमेरिकामा पनि अर्को देशको नागरिकता प्राप्त गर्दैमा नागरिकता स्वतः समाप्त हुँदैन। नागरिकता त्याग्ने कार्यमा स्वेच्छा र आवश्यक कानुनी प्रक्रिया महत्त्वपूर्ण हुन्छ। यसबाट के बुझिन्छ भने वंशज विदेशी वा पूर्व नागरिक हुदैन। अर्कोतर्फ नेपाल लगायत केही देशले एकल नागरिकतालाई प्राथमिकता दिन्छन्। 

त्यहाँ आफ्नै नागरिकले स्वेच्छाले विदेशी नागरिकता लिएमा मूल नागरिकता समाप्त हुन सक्छ। विदेशी नागरिकता प्राप्त गरेपछि व्यक्ति मूल देशको कानुनअनुसार विदेशी नागरिक वा पूर्व नागरिकको हैसियतमा पुग्न सक्छ। अपवादमा कहिलेकाहीँ विदेशी नागरिकता त्यागेपछि मात्र मूल नागरिकता पुनः प्राप्त गर्न सकिन्छ। तर वंशज हुनु र हालको नागरिक हुनु दुई अलग कानुनी प्रश्न बन्न सक्छ। 

नेपालको संविधानको धारा ११ ले बाबु वा आमा नेपाली नागरिक भएको अवस्थामा निश्चित सर्तमा वंशजको नागरिकता प्रदान गर्ने व्यवस्था गर्छ। तर बाबु विदेशी भएको ठहरेमा केही अवस्थामा वंशजको नागरिकता अङ्गीकृत नागरिकतामा परिणत हुने व्यवस्था पनि छ। अझ महत्वपूर्ण कुरा, नेपाल नागरिकता ऐन, २०६३ को दफा १० अनुसार नेपाली नागरिकले आफूखुसी विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम रहँदैन। 

वंशज भएको व्यक्ति विदेशी मूलको भयो भनेर बुझ्नु सही हुँदैन। ऊ नेपाली मूल वंशजको व्यक्ति हुन सक्छ। प्रश्न हाल उसको कानुनी नागरिकता कुन देशको छ भन्ने हो। कानुनी सिद्धान्त वंशज नागरिकता प्राप्त गर्ने आधार हो। विदेशी नागरिकता प्राप्त गर्नु भने नागरिकताको अर्को कानुनी अवस्था हो। त्यसैले वंशज भएकाले सधैं नेपाली नागरिक वा विदेशमा बसेकाले विदेशी भन्ने सरल निष्कर्ष निकाल्न मिल्दैन। सम्बन्धित देशको नागरिकता कानुनले कसरी व्यवस्था गरेको छ भन्ने हेर्नुपर्छ। 

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० र भारतको नागरिकता ऐन १८५५ को दफा ९ अनुसार कुनै नागरिकले स्वेच्छाले अर्को देशको नागरिकता प्राप्त गरेमा त्यसको परिणामस्वरूप भारतीय नागरिकता समाप्त हुन्छ। नेपालको गैरआवासीय नेपाली वा नेपाली मूलको विदेशी अवधारणासँग भारतको ओसिआईसंग तुलना गर्न सकिन्छ, तर दुवै पूर्ण रूपमा समान कानुनी संरचना होइनन्। बेलायत अमेरिका, क्यानडा र अस्टेलिउमा मूल नागरिकता कायम रहन सक्छ। जापानमा एउटा नागरिकता रोज्ने प्रणाली छ। 

वंशजलाई विदेशी किन?

नेपाली नागरिकताको बारेमा भारतीय चासो अध्याधिक देखिन्छ। यसैको परिणाम ‘यो संविधान जारी हुँदाका बखत’ भन्ने लेखिन्छ र यसका सारथी भारितय कलोवादी काग्रेस, एमाले र माओवादी नै हुन। शासक भारतीय गुलाम भएका कारण नेपाली नागरिकतामाथीको यो समस्या हो। भारतीय जगमा नेपालको नागरिकता कानुन बन्ने मानकले नेपाली वंशज गैर आवासीय बनेका हुन्।

नागरिकतामा भारतीय नीतिका कारण आफ्नै नागरिकसंग आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध जोडिराख्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर राजनीतिक अधिकारमा सीमा लगाउन बाध्य छ नेपाल भन्दा अनुपयुक्त हुदैन। यसको परिणाम सिक्किम की फिजी पथ हो।  

यस डरलाग्दो अवस्थालाई सहजीकरण गर्न र आफ्ना नागरिकको भावना, पहिचान र भावनात्मक सम्बन्ध स्थापित गर्न, आर्थिक समृद्धि र पूँजी/प्रविधि हस्तान्तरण गर्न अन्तर्राष्ट्रिय अभ्यासको दोहोरो नागरिकता प्रदान गर्नेगरी नेपालको नागरिकता ऐन बन्नुपर्ने अवस्था स्पष्ट देखिन्छ। यसबाट विश्वव्यापीकरणको मान्यता, नागरिकको संवैधानिक अधिकार र समानता स्थापना साथै राष्ट्रिय हित र कूटनीतिक सकारात्मक प्रभाव पर्न सक्छ।

नेपाली मूलका विदेशी नागरिकलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने तर्कको मूल मर्म पूँजी, ज्ञान र प्रविधिको भित्र्याउने, पुर्ख्यौली पहिचान जोगाउने र राष्ट्रिय विकासमा जोड्ने हो। यसै सन्तुलनलाई मिलाउन भनी संविधानले राजनीतिक अधिकारको सीमा तोकी गैरआवासीय नेपाली नागरिकता लाई वंशज बनाउनु नै आजको विश्व मानक हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!