जिद्दी अमेरिकी राष्ट्रपति ट्रम्प सही बाटोमा फर्किएलान् ?

विश्वमा कोरोना भाइरस (कोभिड–१९) को  महामारी चलिरहेको र सबैभन्दा बढी अमेरिकामा नै यसको संक्रमण बढेर आक्रान्त पारेको स्थिति छ।

त्यहाँ करिब ३९ हजार जति मानिसले ज्यान गुमाइसकेको र साढे ७ लाख मानिस संक्रमित भएर आक्रान्त बनिरहेका छन्। ठीक यतिबेलै अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कोषमा दिने गरेको आर्थिक राशी अचानक रोकिदिएका छन्।

सारा विश्व नै भयंकर महामारीको शिकार भएर छटपटाइरहेको बेला विश्वको स्वास्थ्य संस्थालाई दिँदै आएको अमेरिकी सहयोग राशी यसरी एकाएक रोकिनु अत्यन्तै दुःखद र अमानवीय कुरा हो। यसको असर अमेरिकालगायत संसारभरि पर्ने कुरा निश्चित छ।

हुन त अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्प निक्कै पहिलादेखि नै यो विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनको पक्ष लिएको भनेर आरोप लगाउँदै आएका हुन्। तर गएको मंगलबार अर्थात १४ अप्रिलका दिन उनले दुईदेखि तीन महिनाका लागि यस संस्थालाई अमेरिकाले दिँदै आएको सहयोग स्थगित गरेर रोक्ने निर्णय सुनाए।

स्मरण रहोस्, विश्व स्वास्थ्य संगठनको कुल बजेटको करिब १५ प्रतिशत बजेट अमेरिकाले ब्यहोर्दै आएको छ।

ड्रोनाल्ड ट्रम्प अमेरिकामा यो कोभिड–१९ महामारी फैलिएपछि यता के भन्दै आएका हुन् भने कोरोना महामारीको कुप्रबन्ध र त्यसँग जोडिएका केही महत्वपूर्ण जानकारीहरू लुकाउनमा यो विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाको आँकलन गरिनेछ।

यस्तो आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको यो सहयोग रोक्ने निर्णयको अमेरिका भित्र र बाहिर चारैतिर बिरोध गरिएको छ। यो कोभिड–१९ महामारी रोक्ने अमेरिकी प्रशासनको असफलतालाई ढाकछोप गर्न गरिएको प्रपञ्च भनेर आलोचना भइरहेको छ।

चीनले यो अमेरिकी राष्ट्रपतिको निर्णयलाई अनैतिक र आफ्ना असफल कदमहरुलाई लुकाउन चालिएको कदम र कोशिस भनेर औंल्याएको छ। संयुक्त राष्ट्र संघका महासचिव एण्टिनिओ गुत्तेरसले पनि यसको आलोचना गर्दै के भनेका छन्, ' कोरोना भाइरसविरूद्ध सारा संसारको संघर्षमा विश्व स्वास्थ्य संगठनका प्रयत्नहरू धेरै महत्वका छन्।'

उनले के पनि प्रष्टसँग भनेका छन्,'यस्तो बेलामा विश्व संस्थाका संसाधनमा कटौती गरिनु हुन्न।' अमेरिकी विश्वचर्चित उद्योगपति बिल गेट्सले पनि यस निर्णयप्रति खेद प्रकट गरेका छन्। उनले विश्वमा स्वास्थ्य संकट चलिरहेका यस्तो बेलामा विश्व स्वास्थ्य संगठनको पैसा रोक्नु खतरनाक कुरा भएकाे बताएका छन्।

संस्थाको कामबाट कोरोनाको प्रसारमा कमी आइरहेको छ। यसमा कुनै किसिमको पनि अड्को तेर्स्याउने स्थितिमा अरु कुनै संगठनले त्यसको ठाउँ लिन सक्दैन। बरू यथार्थ सत्य के हो भने विश्वलाई आजको जत्तिको यो विश्व स्वास्थ्य संगठनको आवश्यकता पहिला कहिल्यै परेको थिएन। स्वयं अमेरिकाको सबैभन्दा ठूलो चिकित्साकर्मीको संगठन अमेरिकी मेडिकल एशोसिएशनले पनि गलत निर्णय भनेर बिरोध जनाएको छ।

वास्तवमा महामारी कोरोनाले अमेरिकाको अर्थब्यवस्था र जनजीवनलाई आज अत्यन्तै नराम्रो किसिमले जसरी थला बसाएको छ र बर्बाद तुल्याएको छ। त्यसको रोष भने राष्ट्रपति ट्रम्प एउटा यस्तो संगठनविरूद्ध प्रकट गर्दैछन् जुन संस्थाको आवश्यकता विश्वलाई आज पहिलेभन्दा बढी परेको छ र त्यसमा पनि अझ विकासशील देशलाई त अपरिहार्य नै छ।

यथार्थतः आज विश्व स्वास्थ्य संगठनकै माध्यमबाट विश्वका धेरैजसो देशले कोरोना भाइरसले उत्पन्न गरेका चूनौतिलाई बुझेका छन् र त्यसविरूद्ध लड्ने हौसला र तरीकाहरू पनि हासिल गरेका छन्। तर, राष्ट्रपति  ट्रम्प भने यो कुरा बुझ्न/मान्न पटक्कै तयार छैनन्।

आज यदि अमेरिकामा कोरोनाको चूनौति र कहर सबैभन्दा बढी हुन पुगेको छ भने त्यसका लागि ट्रम्प प्रशासनको आरम्भिक हठ र लापरबाही नै सबैभन्दा बढी जवाफदेही देखिन्छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यस कमजोरीलाई महसुश गरेर अगाडि बढे राम्रो हुने थियो ।

त्यसरी नै यो कोरोनाको संक्रामक महामारीको मामिला पनि उनले त्यो हैसियत बनाउन नसक्ने थिएनन्। तर आज उनले विश्व स्वास्थ्य संगठनप्रति अनावश्यक रीस पोखेर यस विश्व घटनामा चीनलाई अगाडि आउने ठाउँ बनाइदिए र चीन अघि सर्ने कुरा त यो महामारीको आफू शिकार हुँदाहुँदै पनि विश्वका बिभिन्न संक्रमित देशलाई खासगरी यूरोपेली देशलाई उसले गरेको यस महामारीविरुद्ध स्वास्थ्य र उपचार सम्बन्धि सहयोगले नै दर्शाइरहेको छ ।

अब सम्भव छ कि, चीनले विश्व स्वास्थ्य संगठनका लागि आफूले दिने गरेको सहयोग राशीमा थप बृद्धि गरोस्। अनि यसरी कोरोनाविरूद्धको विश्वब्यापी संघर्षको नेतृत्व स्वभाविकरुपले चीनकै हातमा जान्छ।

अहिलेसम्म अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई वार्षिक ४० देखि ५० करोड डलर अर्थात वर्षको ५० अर्बदेखि ६५ अर्ब रूपैयाँसम्मको धनराशी दिँदै आएको छ भने चीनले भने वर्षको ४ अर्ब ८० करोडको हाराहारीमा सहयोग गर्दै आएको छ। तर, अब चीनले यो विश्व संस्थाका लागि सहयोग राशी कयौं गुणा बढाएर अमेरिकाकै हाराहारीमा या त्यो भन्दा पनि बढी सहयोग गर्नुपर्ने स्थिति आउन सक्ने निष्कर्ष अर्थ–राजनीतिक विश्लेषकले औंल्याइरहेका छन्।

त्यसैले ट्रम्पको विश्व स्वास्थ्य संगठनलाई सहयोग राशी रोक्ने कदमले उनी आफैंलाई नोक्सान पुग्ने देखिन्छ। मानिसहरू भनिरहेका छन्, ‘जे भए पनि अझै अबेर भइसकेको छैन। डोनाल्ड ट्रम्पले आफ्नो हठ छोडेर भूल सुधार्न अग्रसर हुनु पर्दछ।’

तर के जिद्दी अमेरिकी राष्ट्रपति सही बाटोमा फर्किएलान्? प्रश्नले कस्तो उत्तर पाउने हो प्रतिक्षाको विषय छ।

प्रकाशित मिति: : 2020-04-19 12:54:00

प्रतिकृया दिनुहोस्