संकटमा पनि सिरियस भएन सरकार: विश्व कीर्तिमानी धावक राेकाया(भिडियाे)

हिम चितुवा, ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ धारी अट्रा धावक तथा ‌ओलम्पियन भनेर चिनिएका व्यक्ति हुन्, जुम्लाका हरिबहादुर रोकाया। राज्यबाट उपेक्षित कर्णालीलाई चिनाउन उनले कठिन परिश्रम गरेका छन्। आफूमात्र नभएर कर्णाली चिनाउने थुप्रै धावक जन्माउन सफल उनी हाल ५९ वर्षका भए। 

उनले तयार पारेका विश्वरुपा बुढा,सुनमाया बुढा, दुर्गा बुढा, पूर्णलक्ष्मी न्यौपाने, रेजिना बुढा, राममाया बुढा, मञ्जु बुढा लगायत खेलाडीले आफूलाई अब्बल सावित गरिसकेका छन्।

समग्र कर्णालीको औसत आयुसँग तुलना गर्दा नाफाको जिन्दगी जिइरहेका उनी आराम गर्न लागेका छैनन्। बरु थप नयाँ खेलाडी उत्पादनमा दिलोज्यान दिइरहेका छन्। देश लकडाउनमा छ। सबैका दैनिकी फेरिएका छन्। यसैबीच उनको दैनिकी के कस्तो छ भनि केही दिनअघि बिएल नेपाली सेवाले कुराकानी गरेको थियो। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सार संक्षेपः

घरभित्र बस्दा बस्दा ढाड पटाइसक्यो। के गरौं र कहाँ जाउँ हुन्छ। तर पनि विकल्प छैन। कोरोनाले दैनिकी नै फेरिदियो।यति बेला आयोजना हुने धेरै खेल रोकिए। हामीले गरेको कयौं खेलको तयारी पनि रोकिएको छ। 

मेलै धेरै खेलाडीलाई घर पठाइसकेको छु। केही यतै छन्। यिनीहरु सबै पिंजडाको सुगा जस्तै भएका छन्। ‘लकडाउन कहिले खुल्ला र ट्रेनिङमा फर्किउँला,’ भन्छन्। 

सबैसँग फोनमा सम्पर्क हुन्छ। उनीहरु सबैलाई सुरक्षित रहन भनेको छु। बाहिरबाट आएका मान्छेसँग दूरी कायम गर्नु भनेको छु। हामी सबै सुरक्षित भयौं भने खेल त अर्को वर्ष आयोजना भइहाहल्छन्। हामी सबै बाँच्यौं भनेसँगै दौडिन पाइहाल्छौं। अहिलेको मुख्य कुरा हामी सबै बाँच्नु हो। 

यी सबै कुरा थाहा पाइकन पनि घरभित्रको बसाई साह्रै कष्टदायी लागिरहन्छ। काम केही छैन। बाहिर निस्कनु छैन। घरभित्रै बस्दा के गर्ने अन्यौल हुन्छ। खुट्टा जाम भएजस्ते लाग्छ। पछि दौडिन गाह्रो हुने हो कि भन्ने अर्को पिरलो छ। 

अब के गर्ने, देशको मात्र होइन संसारभरको स्थिति खराब भइरहेको छ। यस्ताे स्थितिमा आफ्नो शरीर र खेलाडीको बारेका मात्रै सोचेर पनि नहुने। 

बारीमा तरकारी लाएको छ। कहिलेकाँही गोडमेल गर्छु। समय कटाउने बाटो पनि हुन्छ। हामीले खेलाडीको खाजा, नास्ताको जोहो गर्न मिल चलाएका छौं। कहिलेकाँही त्यहीँ जान्छु। एक दुई जना मान्छे पिठो पिस्न आउँछन्। अत्यावश्यक सेवा हो भनेर हामी सुरक्षित भएर उनीहरुको पिठो पिसिदिन्छौं। धन्न मिल छ र दिन कटाउछु। नत्र झन् गाह्रो हुने थियो। 

यस्तै गरि दिन बितिरहेका छन्। फेसबुकभरि कोरोनाका कुरा मात्र देखिन्छन्। कति एउटै कुरा हेर्नु जस्तो लाग्छ। टिभी हेर्‍यो भने कोरोना र भ्रष्टाचारका समाचार मात्र आउँछन्। अचम्म लाग्छ हाम्रा नेताहरु कस्ता खालका हुन् भनेर। संसारभर माहामारी फैलिएको छ। हामी सबैको ध्यान त्यतै जानुपर्ने हो। ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ जस्तो भइरहेको छ।

कहिलेकाहीँ हाम्रा नेताहरु साह्रै बिग्रेका हुन वा अनावश्यक समाचार मात्र आएका हुन् भन्ने पनि लाग्छ। तर हालसम्म देशका नेताहरुको इमान्दारीता नदेखिएकाले नेताहरु नै गलत हुन् जस्तो छ। यस्तो अवस्थामा इमान्दार भइदिनु पर्ने नि। हामी हाम्रा घरपरिवार समस्यामा परे भने सबै कुरा बिर्सन्छौं। काम धन्दा छोड्छौं। सबैकोे ध्यान समस्यातिर हुन्छ। तर नेताहरु त देशमै समस्या पर्दा पनि सिरियस हुन सकेका छैनन्।

आजभोली प्रधानमन्त्रीले अर्को बखेडा झिकेका छन्। उनका सल्लाहकार पनि गतिला भएनन् जस्तो छ। वरिपरीका मान्छे पनि उस्तै भए। नत्रकिन बेमौसमको बाजा बज्थ्यो त? अचम्म लाग्छ। कति मान्छे भोकै हिडेका छन्। यी सबैलाई केही ख्यालै गरिएको छैन। किन यस्तो? खाली यिनीहरुको मात्रकुरा सुन्दा–सुन्दा कान पाक्न थालिसके।

प्रदेश र स्थानीय तहमा जिम्मेवारले थप जोखिम ल्याइदिए। अब गाउँमा पनि डर पस्यो। 

म धेरै देशमा घुमेको छु। त्यहाँको विकास परिपाटी हाम्रोभन्दा निकै राम्रो छ। मलाई लाग्छ त्याहाँका जनता खुसी छन्। हाम्रो सरकार संकटमा पनि बदमासी गरिरहेको छ। सन्तुष्ट हुने ठाउँ छैन। सबैभन्दा ठूलो समस्या यही हो। 

यस्तो अवस्थामा हामी छौं। हाम्रो खेल प्रभावित भइरहेको छ। तरपनि कुनै पछुतो छैन। लामो समय लकडाउन भएपछि खेलाडीलाई गाह्रो भयो होला, सायद। केही दिन अघि हाम्रो खेल मैदानमा बिहानतिर सात आठ जना खेलाडीसम्म भएर वार्मअप गरिरहेका छौं। 

उनीहरुलाई मैले सकभर नआऊ भनेको तर मान्दैनन्। ‘रोगसँग लड्ने इम्युनिटी पावर बढाउनलाई पनि खेल जरुरी छ नि गुरु,’ भन्छन्। मैले पनि नाइ भन्न सकिन। बिहान आउँछन्। एक अर्कोको बीचमा दुरी मिलाएर अभ्यास गरिरहेका छन्। टाढा दौदिन दिएको छैन। दिनु पनि भएन। 

अहिलेसम्म कोरोना नभित्रिएकोले हामी खासै डराएका छैनौं। यदी कसैलाई देखियो भने यी सबै बन्द गर्नुपर्ने हुन्छ। 

म हाम्रो जिल्लामा रहेका सबैलाई सुरक्षित रहन आग्रह गर्छु। महामारीपछि हाम्रो जीवन निश्चय नै सहज हुने छैन। हालसम्म हामीले धेरै नोक्सानी बेहोरिसकेका छौं। अब यी सबै हाम्रा सामुहिक समस्या हुनुपर्छ। हरेकको समस्यालाई सामुहिक बनाउनु पर्छ। 

आजभोलि महामारीपछि विश्वको स्थिति भयाभह हुनसक्ने अनुमान हुन थालेका छन्। हरेक संकटपछि यस्ताे स्थिति आउँछ। धेरै मानिससँग आफूलाई पुग्ने खानासम्म हुँदैन।

हुनेहरुले खान पाउने र नहुनेहरु भोकै मर्नुपर्ने स्थिति नआओस्। यस्तो बेला तेरो मेरोभन्दा पनि सामुहिक प्रयास जरुरी हुनेछन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ।

म सबैलाई आग्रह गर्छु हाम्रा कयौं काम रोकिएका छन्। कति काम बिग्रिसकेका छन्। अहिलेलाई सबै छोडौं। पछुतो पनि नमानौं। ध्यान माहामारीविरुद्ध केन्द्रित गरौं। मैले हाम्रा खेलाडीलाई भनेको छु, ‘यो साल घरमै बसौं, अर्कोे वर्ष जमेर दौडिउँला। खेल जित्ने हामीले हो भने कोरोनालाई पनि जित्ने हामीले नै हो।’


 

प्रकाशित मिति: : 2020-04-27 14:41:00

प्रतिकृया दिनुहोस्