पर्यटनलाई कोरोना सङ्कट पछि नेपाल र भारतले नयाँ गति दिने

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बिहिबार भारतका पर्यटन संघ–संस्थाका प्रमुसखसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कट पछि नयाँ गति दिने विषयमा अनलाइन छलफल गरेका छन्।

छलफलमा भारतीय पर्यटनका अगुवाहरू ज्योति मयल, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस एसोसियन, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसनका अध्यक्ष पिपि खन्ना, भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसनका अध्यक्ष क्याप्टेन स्वदेश कुमार, भारतीय ट्राभल एजेण्टस फेडेरेसनका अध्यक्ष प्रदिप लुल्ला रभारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसनका निर्वतमान अध्यक्ष महेन्द्र भखारिया सहभागी थिए।

बज भारतीय ट्राभलका प्रमुख श्री सञित जैनले छलफलको समन्वय गरेका थिए।

बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले उक्त छलफलमा बोर्डले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलकदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको ब्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरुका बारेमा जानकारी गराएको पर्यटन बोर्डका  बरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरुको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा बढी केन्द्रित थियो। सबै सहभागी भारतीय पर्यटनका शीर्ष ब्यक्तिहरुले सङ्कट पश्चात भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तब्यहरुमा यसको प्रबन्ध गर्न अनुरोध गरेका थिए।

नेपालको यो सङ्कटमा हालसम्म शुन्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपाल प्रतिको विश्वास अझ बढाउने सहभागीहरुले बताए। 

साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि औल्याइएको थियो।

नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिन पनि सहभागीहरुले विशेष अनुरोध गरे। बजारिकरण र प्रवर्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ–संस्थाहरुले आफ्नो सदस्यहरुलाई सकृय गराउने विषय पनि छलफल भएको सुवेदीले जानकारी दिए।

यसैबीच नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गरेको प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्गाउने सहमतिसमेत भएको छ। बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई तिब्रता दिने र यस किसिमको गन्तब्य वेभिनार संयुक्त रुपमा आयोजना गर्दैजाने निर्णय पनि सो अवसरमा भएको थियो। 

प्रकाशित मिति: : 2020-05-01 14:04:23

प्रतिकृया दिनुहोस्