बैंक आलोपालो, किनमेल साँझ–बिहान

–रामबहादुर थापा

कोरोना सङ्क्रमणको  जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो ।

बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी प्रबन्ध मिलाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए । नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक आइतबार, मङ्गलबार र बिहीबार खुल्नेछ । ग्लोबल आइएमई, एभरेष्ट, सिटजन, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेण्ट, हिमालयन र ज्योति विकास बैंकले आइतबार र बुधबार सेवा प्रवाह गर्नेछ ।

यस्तै कुमारी, लक्ष्मी, माछापुच्छ्रे्र, नबिल, नेपाल ब्गलादेश, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक सोमबार बिहीबार खुल्नेछ । एनआइसी, एनएमबी, प्राइम कर्मसियल, कृषि विकास, साङ्ग्रिला विकास, नेपाल एसबीआइ र सिद्धार्थ बैंकले मङ्गलबार र शुक्रबार सेवा दिनेछ । सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कारोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको बैंकर्स एशोसिएसनले जनाएको छ ।

खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने

सरोकार भएका पक्षको बैठकले खाद्यान्न, तरकारी र फलफूल पसल पनि निश्चित समयमा मात्र खोल्ने निर्णय गरेको छ । त्यस्ता पसल बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय भएको बागलुङ नगरपालिकाले जनाएको छ । दिनभर पसल खोल्दा अनावश्यकरूपमा मानिसको आवतजावात बढेपछि कडाइ गरिएको हो ।

व्यवसायी तथा उपभोक्तालाई पनि केही समय जिल्लामै उत्पादित तरकारी बेच्न र उपभोग गर्न भनिएको छ । बाहिरबाट हुने खाद्य पदार्थको ढुवानीलाई समेत केही समय रोक्न आग्रह गरिएको छ । सदरमुकामबाट गाउँमा अत्यावश्यक खाद्य पदार्थ ओसार्ने सवारी साधान पनि बिहान, बेलुकाको समयमा मात्र सञ्चालन हुने भएका छन् ।

स्थानीय प्रशासनले बिहीबारदेखि बन्दाबन्दीलाई थप कडा तुल्याएको छ । जिल्ला बाहिर जाने सबै सवारी अनुमतिपत्र रद्द गरिएको छ । शनिबारदेखि जिल्लाभित्र जारी गरिएको सवारी अनुमतिपत्र पनि खारेज हुने भएको छ । बागलुङ कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । गत चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भएपछि थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र निगरानी बढाइएको छ ।
 

प्रकाशित मिति: : 2020-05-15 15:56:29

प्रतिकृया दिनुहोस्