बन्द ढोका र लकडाउन

बन्द ढोका र लकडाउन

‘काव्या, विवाह गरेको एक वर्ष त भयो नि, अब हामी ‘बेबी प्लान’ गरौं न है प्लिज,’ टि.भीमा मस्त नजर डुलाएर मुभि हरिरहेकी काव्यालाई मैले बिस्तारै भनेँ।

यही एकदिन शनिबार त फुर्सद हुन्छ मलाई। तै पनि काव्या मसँग खासै समय बिताउन खोज्दिनँ। अरू दिन त त्यही अस्पताल र बिरामी भन्दाभन्दै समय जान्छ। त्यसमाथि अहिले कोरोनाको कारणले गर्दा आफ्नो मनमा त्रास पैदा भईरहन्छ।

मेरो कुरा सुनेर उसले झर्किदै जवाफ दिई ‘यो के कुरा गरेको अतित? अहिले त मैले आफ्नो करियर पनि बनाएकी छैन। तिमीलाई थाहा छँदैछ अहिले सबैतिरको बिजनेस चौपट छ। यस्तो अवस्था छ कि हामी आफैंलाई पाल्न धौधौ छ अनि तिमी बच्चाको कुरा गछौं? पहिला लकडाउन खुलोस्, बिजनेस राम्रो होस् अनि बल्ल सोचौंला के गर्ने हो भनेर।’

***

दिदीको विवाह भईसकेपछि घरमा ड्याडी ममी र म मात्रै थियौं। ममीलाई अब मेरो विवाहको पिर लाग्न थालेको थियो। त्यसैले उहाँले आफूले चिनेजानेको सबै नातेदारसँग मेरो विवाहको कुरा गरिरहनुभएको थियो। यसैबिचमा भिनाजुले काव्याको कुरा ल्याउनुभयो। भिनाजुले मलाई काव्याको फोटो देखाउनुभयो। हल्का काली तर हिस्सी परेकी, ठूलाठूला आँखा अनि कुमसम्म आएको कपाल। फोटो हेरेपछि हेरेको हेर्‍यै भएँ। ‘के हो अतित मनमनै विवाह गरिसक्यौं कि क्या हो?’ भिनाजुले जिस्काएपछि मात्रै रातो मुख लगाएर फोटोबाट नजर हटाएँ।  म अलि लजालु स्वभावको थिएँ। मेरा केटी साथीहरु औंलामा गन्न मिल्ने जति थिए। केटी साथीको मात्रै के कुरा केटा साथी पनि खासै थिएनन्।

त्यसपछि काव्या र मेरो भेट गराईदिने कुरा भयो। काव्या र मेरो पहिलो भेट न्यूरोडमा भयो। उसलाई सायद सपिङ गर्नुथियो। त्यसैले उसले मलाई त्यही बोलाई। उसको सपिङ सकेर हामी दरबारमार्गतिर लाग्यौं। दरबारमार्ग पुगेर एउटा क्याफेमा पस्यौं। गर्मीले गर्दा मैले भेनिला मिल्क सेक मगाएँ, उसले कोल्ड कफी पिई। एकछिन भेटेको भरमा मानिसको आचरणको बारेमा धेरै कुरा त थाहा हुँदैन तर मलाई उसको बोलीचाली भने मिठो लाग्यो । काव्या राजी भई मसँग विवाह गर्न। मलाई त के थियो र ? जे मा ड्याडी/ममी खुशी हुनुहुन्थ्यो म त्यसैमा खुशी हुन्थेँ।

काव्य सामान्य परिवारमा हुर्केकी एक मात्रै सन्तान थिई। जसको ईच्छा पूरा गरिदिन उसको परवारले हजार पटक सोच्नुपर्थो। मलाई टिठ लाग्थ्यो उनीहरुको त्यो अवस्था देखेर । मैले मनमनै प्रण गरेँ कि म काव्यालाई सधैं खुशी राख्ने छु । जुन कुरा उसले माईतीमा पूरा गर्न सकिन त्यो म पूरा गरिदिनेछु।

मेरो विवाह हुने पक्का भएपछि सबैभन्दा बढी ममी खुशी हुनुभयो । विवाह भव्यसँग गर्ने ममी ड्याडीको ईच्छा पूरा भयो। काव्या मेरो घरमा बुहारी भएर भित्रिई। काव्याको घरको अवस्था हेरेर मैले उनीहरुको केही पनि नलिने निर्णय गरेँ। यसै पनि छोरीको विवाह धुमधामसँग गरेर ऋणको बोझ उठाईसकेका थिए काव्याका परिवारले।

 घरमा सबै जनाको मुहार धपक्कै बलेको देख्न सक्थेँ। मेरो विहानै उठ्ने बानी छ चाहे जे सुकैहोस्। राति सुत्दा १२ नै किन नबजोस् तर विहान ढिलोमा ६ बजेसम्म मलाई निन्द्राले छोडिसकेको हुन्छ। हाम्रो घरको संस्कार पनि त्यस्तै थियो। ड्याडी ममी कोही पनि कहिल्यै बिहान अबेरसम्म सुतेको मलाई थाहा छैन। ड्याडी र म त सधैं मर्निङ वाक पनि जान्थ्यौं । ममि भने घरमा पूजाआजा गरेर बस्नु हुन्थ्यो ।

विवाहको भोलिपल्ट पनि म छिट्टै बिउझिएँ । उठेर नुहाई धुवाई गरेँ। ‘नयाँ घर भएको हुनाले बुहारीलाई राम्रो निन्द्रा परेन होला त्यसैले सुत्न देऊ बाबु,’ भनेर ममीले भन्नुभएको कारणले मैले उसलाई उठाईन। तर काव्या उठ्दा ठ्याक्कै ८ बज्यो। तै पनि मैले केही भनिनँ।

मलाई त्यसपछिका दिनहरुमा काव्यालाई राम्रोसँग नबुझी विवाह गरेजस्तो महसुस हुन थाल्यो । उ आठ बजेभन्दा अगाडि कहिल्यै उठ्दिन थिई । ममी र ड्याडी उसलाई छोरी जतिकै माया गर्नुहुन्थ्यो तर उसले यो मायाको फाईदा उठाउन थालेकी थिई।

उ न त ड्याडी र ममिसँग राम्रोसँग बोल्थी न त घरको काम नै केही गर्थी। उसको काम भनेको बस् घर बस्यो, मुभि हेर्‍यो अनि साथीसँग गफियो । उसलाई गरेको बाचा अनुसार मैले उसको लागि उसकै नाममा ट्राभल एजेन्सी खोलिदिएँ यो सोचेर कि सायद उ काममा व्यस्त भएपछि सबैकुरा बुझ्ने छे।

उसको व्यवहार देखेपछि मलाई यस्तो लाग्न थाल्यो कि यो घरमा उ मात्रै भित्रिई उसको संस्कार, व्यवहार केही पनि भित्रिएन। मुस्किलले एक महिना हाम्रो सम्बन्ध सुमधुर बन्यो। किनकी एक महिनाको अवधिमा पनि मैले नै सहेर बसिदिएको थिएँ।

काव्यालाई मैले विवाह अगाडि नै सोधेको थिएँ मसँग विवाह गरेर उ खुशी हुन्छे कि हुन्न भनेर । उसले ‘म तिमीसँग सधैं खुशी हुनेछु’ भनेर मलाई विश्वास दिलाईरही । हरेक नारीको सपना हुन्छ असल श्रीमती र ममतामयी आमा बन्ने। तर काव्यमा यी कुनै कुरा देखिन मैले। उसलाई मेरो माया, म र मेरो पूरै परिवार बोझ हुन थालेको थियो।

काव्याको असन्तुष्टी देखेर मेरो मन अप्रशन्न हुन्थ्यो । कतै मैले उसको खुशीको हत्या त गरिनँ। कतै अरूको बारीमा फक्रिँदैं गरेको सुन्दर फूललाई आफ्नो बारीमा मलजल गर्न नसकेर ओईल्याउन थालेको त हैन। मनमा यस्तै यस्तै तर्क वितर्क चलिरह्यो। विवाह जीवनमा पटकपटक गरिदैंन त्यसैले यो सम्बन्ध सुमधुर बनाउनु पर्छ भन्ने प्रयासमा थिएँ।

काव्याको मोबाईलमा घण्टी बज्यो । ‘आश्रय’ नाम मोबाईल स्क्रिनमा देखेपछि मन झसंग भयो । फेरि एकैछिनमा सम्हालिने कोशीश गरेँ। उसले फोन उठाई अनि बेडरूमभित्रको एट्याच बाथरूमभित्र गएर कुरा गर्न थाली । ‘कति पटक भनीसकेँ तिमीलाई शनिबार फोन नगर भनेर? अतित घरमै हुन्छ भन्ने थाहा छैन?,’ ऊ फोन गर्ने व्यक्तिलाई थर्काउँदै थिई। मेरो मनमा छटपटी हुन थाल्यो । कतै यो त्यही आश्रय त हैन जोसँग विवाह भन्दा अगाडि काव्याको अफेयर चलेको थियो। काव्या यसरी परिवर्तन होली भन्ने मैले सपनामा पनि चिताएको थिईनँ।

मेरो मन छट्पटाईरह्यो । आखिर किन त्यसो भनी काव्याले? किन फेरि सम्पर्कमा छे उ आश्रयसँग? के अझै पनि उस्तै सम्बन्ध छ काव्या र आश्रयको? काव्या प्रायः दिउँसो एकपटक सुत्थी। म काव्या सुत्ने प्रतिक्षा गरेर बसीरहेँ। उ सधैं झैं मोबाईललाई बेडसाइड टेबलमा राखेर सुती। मैले बिरालोको चालमा गएर उसको मोबाईल झिकेँ धन्न मोबाईल अनलक रहेछ। मोबाईलमा म्यासेज बक्स चेक गर्न लागेँ। आश्रयको म्यासेज खोलेँ। अचम्म! विवाह हुनुभन्दा अगाडि देखिको सबै म्यासेज थियो। मसँग उसले बुवाआमाको करकापमा विवाह गरेको बताएकी थिई। मैले मन थाम्न सकिनँ। पुरूष नै भए पनि मेरो आँखामा आँशुले अडिन मानेन। म बाथरुमभित्र पसेर बेस्सरी रोएँ। धन्न ममी/ड्याडी त्यसदिन घरमा हुनुहुन्थेन। नत्र मेरो आँखामा देखिएको आँशुले कति पोल्थ्यो होला उहाँहरुलाई।

काव्य उठ्दा र ममी ड्याडी बाहिरबाट फर्किदा लगभग उस्तै समय भएको थियो। पूरै शनिवार मेरो छट्पटीमा बित्यो। म र मेरो परिवार प्रति काव्याको जस्तो व्यवहार भए पनि उसलाई गुमाउने कुरा म सोच्न पनि सक्दिनँ। त्यसरात मैले उसँग एकदमै सामान्य रुपमा प्रस्तुत भएर भनेँ। ‘म बिरामीहरुको नजिक परिरहनुपर्छ। त्यसैले सजग रहेर आजदेखि तिमी र म छुट्टाछुट्टै बेडरूममा सुतौं है,’ उसले सहमतीमा टाउको हल्लाई।

अर्को बेडरुममा जानासाथ मैले आश्रयलाई म्यासेज गरेँ। उसलाई भेट्न अनुरोध गरेँ अनि आफैं उसको घरमा पिकअप गर्न आउने कुरा बताएँ। भोलिपल्ट आईतबार ड्यूटी सकेर मैले आश्रयलाई उसको घर नजिकैबाट पिकअप गरेँ। ऊ अचम्मसँग मलाई हेरिरहेको थियो। लकडाउनको समयमा मुस्किलले खुलेको एउटा सानो क्याफेमा लगेर उसलाई बसाएँ। मैले अलि कडा स्वरमा भनें, ‘भन के खान्छौं?’ उसले अलि आत्तिदैं भन्यो ‘मलाई यहाँ किन ल्याउनुभएको?’

‘भन तिम्रो र काव्याको बिचमा के सम्बन्ध छ?’ म पुलिसले कुनै अपराधीलाई केरकार गरे झैं सोधपुछ गर्न लागेँ। उसले डराउँदै भन्न सुरु गर्‍यो, ‘म काव्यालाई मन पराउँथे पहिल्यैदेखि। काव्या र मेरो सम्बन्ध चलेको त्यस्तै दुई वर्षजति भयो।’ मैले रिसलाई कन्ट्रोल गर्न खोज्दै भनेँ, ‘अनि किन काव्याले मसँग विवाह गरुन्जेल चुप लाग्यौं त?’ ऊ मेरो अवस्था देखेर पूरै डराईसकेको थियो । त्रसित हुँदैं उसले भन्यो, ‘म हजुरलाई सबैकुरा साँचो भन्छु है त।’ त्यसपछि उसले भन्न सुरू गर्‍यो। ‘काव्याको आर्थिक अवस्था खासै बलियो छैन त्यो त हजुरलाई नि थाहा छ। हजुरसँग विवाह पक्का भएपछि म उसँग धेरै रिसाएँ। तर उसले मलाई हजुरसँग विवाह गरे पनि पछि मौका हेरेर डिभोर्स गरेर आधा सम्पति लिने कुरा सुनाई।’ मैले त्यतिखेर बल्ल काव्य असल केटी होइन भन्ने महसुस गरेँ। उसले मलाई आफ्नो यो योजनामा साथ नदिए मलाई पनि मारिदिने धम्की दिएकी थिई। त्यसैले म बाध्य छु डाक्टर सा’प मलाई माफ गरिदिनुस्। उसले आफ्नो बगिरहेको आँशु पुछ्दै फेरि भन्यो, ‘उसले हजुरलाई ‘मन्द विष’ दिएर बिस्तारै बिस्तारै जिवित लाश बनाउने पनि योजना बनाएकी छे।’ उसको यो पछिल्लो वाक्य सुनेर मेरो मुटु हल्लिन थाल्यो।

‘के?’ मैले ठूलै झट्काको महसुस गर्दै ठूलो स्वरमा भनेँ। ‘अब म ऊबाट छुट्कारा खोजिरहेको छु,’ उसले दिक्क माने झैं गरेर भन्यो। मैले नम्र हुँदै उसँग सोधेँ, ‘के तिमी मेरो सहयोग गर्न सक्छौं?’ उसले निरिह भए झैं गरेर जवाफ दियो। ‘तर मैले हजुरलाई के सहयोग गर्न सक्छु र डाक्टर सा’प,’ मैले हत्तारिँदैं भने, ‘तिमी मसँग अहिल्यै मेरो घर हिँड। अनि यो सबैकुरा मेरो पूरै परिवारको अगाडि भन।’

अचानक उसको मोबाईल बज्यो। आश्रयको अनुहारको भाव फेरिएकोले मैले अनुमान लगाएँ- कि त्यो फोन पक्कै काव्याले गरेकी होला। मैले उसलाई फोन उठाउन र लाउड स्पिकरमा लगाउन ईशारा गरेँ।

‘मैले सबै सम्पत्ति आफ्नो बनाउने योजना अब छिट्टै पूरा हुँदैंछ। बस् अब यो लकडाउन खुलोस् अनि तिमी र म मिलेर मेरो श्रीमान डाक्टर अतितलाई जिउँदो लाश बनाएर छोड्नुपर्छ,’ मैले मनमनै भगवान् पुकारेँ, ‘हे भगवान् मैले गरेको मायाको बदलामा यही दिई उसले मलाई?’

म आश्रयलाई लिएर घर गएँ। घर पुग्दा सदा झैं ऊ टिभी हेरेर बसिरहेकी थिई। मैले अलि कडा स्वरमा भनें, ‘यो के हुँदैंछ काव्या?’ उ केही नभए झैं गरेर बोली, ‘कस्तो के हुँदैंछ?’ मैले फेरि कठोर स्वरमा प्रश्न गरें, ‘म सत्य सुन्न चाहन्छु काव्या, के चाहन्छौं तिमी मबाट?’ म रिसाएको सायद उसले पहिलोपटक देखेकी थिई। मेरो जिन्दगी बर्बाद गरेर अब के गर्ने विचार छ?,’ उसले आश्चार्य मानेर मलाई हेरी र भनी। ‘तिमीलाई कसले भन्यो यस्तो नचाहिने कुरा?’ मैले कठोर स्वरमा भनें, ‘डाक्टर हुँ, धेरैपटक मान्छेको शरीर चिरेर हेरिसकेको छु मन चिरेर हेर्न कुनै गाह्रो हुँदैंन मलाई।’

उसले उस्तै आवेगपूर्ण स्वरमा भनी, ‘वकवास बन्द गर, भन कसले भन्यो यस्तो वाहियात् कुरा?’ मैले ढोका पछाडि उभिएको आश्रयलाई अगाडि आउन ईशारा गरेँ। आश्रयलाई देखेपछि काव्याको अनुहारको भाव फेरियो। उ आक्रोशित भई ‘यति ठूलो धोका? आई विल किल यू,’ भन्दै छुरीले आश्रयलाई हान्न खोजी मैले आश्रयलाई छेकेँ। मेरो पाखुरामा छुरीले लाग्यो। आश्रय आत्तिएर चिच्यायो ‘डाक्टर साप।’ होहल्ला सुनेर ममी र ड्याडी आफ्नो बेडरूमबाट आउनुभयो।

ड्याडी कराउनु भयो, ‘यो के महाभारत हो?’ मेरो हातमा छुराले लागेर बगिरहेको रगत देखेर ममी कराउनुभयो र अत्तिदै गएर ब्यान्डेज लगाईदिनु भयो। मैले आश्रयलाई ममी, ड्याडी र काव्या सबैको अगाडि सत्य कुरा भन्न आदेश दिएँ। आश्रयले डराई डराई सबैकुरा भनिदियो।

आश्रयको कुरा सुनेर ममीलाई ठूलो चोट पर्‍यो। उहाँ ठूलोठूलो स्वरमा रून थाल्नुभयो। मैले सम्झाई बुझाई गरेपछि उहाँ शान्त हुनुभयो। म कुनामा डराएर पश्यतापको भाव अनुहारमा बोकेर उभिईरहेकी काव्याको छेउमा गएर भनें, ‘लकडाउनले गरेर सबैतिर बन्द छ। लकडाउन खुल्नासाथ अदालतमा गएर डिभोर्स गरौंला। नत्र मेरो हरेक रात अनिदो र हरेक दिन बिचैनीमा बित्नेछ।’

काव्या अविश्वासपूर्वक मलाई हेरिरही। म आश्रयलाई उसको घर पूर्‍याएर आफ्नो घर पुग्दा रातको ११ बजिसेकेको थियो। काव्या मलाई देख्नासाथ रूदैं विलाप गर्न थाली। ‘मलाई माफ गरिदेऊ अतित,’ मैले मनभरी गाठो पारेर भनें, ‘काव्या सम्बन्धमा सानोतिनो मनमुटाव र झगडा हुनु सामान्य कुरा हो तर जब अवस्था आफ्नै ज्यान गुम्नेसम्म पुग्छ भने त्यस्तो सम्बन्ध आफैंलाई अभिसाप हुन्छ। त्यसैले राम्रो यही हुन्छ कि आजदेखि हामी अलग बाटो हिँडौं।’

मैले कोठामा गएर ढोका बन्द गरेँ। उसले अविश्वासपूर्वक बन्द ढोकामा हेरिरही। मेरो कोठाको त ढोका मात्रै बन्द थियो तर बाहिर लकडाउनले पूरै देशै बन्द थियो।

प्रकाशित मिति: May 16, 2020 22:08:50

प्रतिक्रिया दिनुहोस