आज साँंझ अमेरिकी आइडलको ग्राण्ड फिनाले: जित्लान् त दिवेशले ?

प्रदीप भट्टराई

कान्सास सिटी- अमेरिका

अमेरिकन आइडलको १८औं संस्करणको ग्राण्ड फिनाले आज साँझ आयोजना हुँदैछ। कोरोना कहरका कारण पहिलोपटक भर्चु्अल्ली आयोजना गर्न लागिएको ग्राण्ड फिनाले अमेरिकी पूर्वी समयअनुसार आइतबार साँंझ ८ बजेदेखि एवीसी टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ। त्यतिबेला अमेरिकी सेन्ट्रल टाइम साँंझ ७ र प्यासिफिक टाइम साँंझ ५ बजे हुने छ। उता, नेपालमा भने सोमबार विहानको ५ बजेर ४५ मिनेट गएको हुने छ।

संसारकै सबैभन्दा ठूलो सांगीतिक रियालिटी-शो मानिने अमेरिकन आइडल को बन्छ?, विगत १८ वर्षदेखि हरेक वर्ष यसको उत्साहजनक प्रतीक्षा हुदैआएको छ। यो प्रतीक्षा नेपाली संगीत पारखीहरूमा पनि धेरथोर हुँदै आएको हो। तर, केही वर्षयता नेपालमा पनि नेपाल आइडल सुरू भएपछि यसको आकर्षण नेपालीमाझ अरू बढेको छ। 

नेपालीका लागि यस सिजनको अमेरिकन आइडलको महत्व विगतका वर्षभन्दा फरक र विशेष छ। नेपाली युवा प्रतिभा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडल हुन सक्ने ठूलो सम्भावनाका साथ शीर्ष ७ मा पुगेपछि नेपालदेखि विश्वभर छरिरएर रहेको नेपाली डायस्पोरामा यसको आकर्षण र महत्व बढेको हो।

यसरी गर्न सकिन्छ दिवेश पोखरेललाई भोट - 
१. अमेरिकामा रहेका टेलिफोन नम्बरबाट २१५२३ मा १० पटक टेक्स्ड मेसेज गर्ने 
२. अमेरिकन आइडलको एप्स डाउन लोड गरी  आर्थर गनलाई १० पटक भोट गर्ने
३. https://idolvote.abc.com/ मा गई इमेलमार्फत् दर्ता गरी  आर्थर गनलाई १० पटक भोट गर्ने

अमेरिकी पूर्वी समयअनुसार सोमबार विहान ९ बजेसम्म भोट गर्न सकिन्छ।

१८औं अमेरिकन आइडलको ग्राण्ड फिनाले सुरू हुने अब केही घण्टा मात्र बाँकि छ। यतिबेला नेपाली दर्शकले दुईवटा प्रश्नको उत्तर व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। पहिलो, दिवेश शीर्ष ५ सहभागी हुने ग्राण्ड फिनालेमा पर्छन् कि पर्दैनन् ?, परे भने अमेरिकन आइडल बन्दै इतिहास निर्माण गर्छन् कि गर्दैनन् ? 

आज सबैभन्दा पहिला गत साता पाएको भोटिङका आधारमा  ग्राण्ड फिनालेका लागि शीर्ष ५ को छनोट गरिने छ। कम भोट पाउँने २ बाहिरिएपछि शीर्ष ५ मा पुगेकाले दुई-दुईवटा सांगीतिक प्रस्तुति दिनेछन्। उनीहरू शीर्ष ५ मा पुगेलगत्तै यस सिजनको अमेरिकन आइडलका लागि भोटिङ खुल्ला हुने छ। प्रस्तुतिकै क्रममा जसले बढी मत पाउँछ, उही नै यस सिजनको अमेरिकन आइडल हुनेछ। धेरैभन्दा धेरै भोटिङ होस् भनेर प्रस्तुतिलाई लामो बनाउन यसअघिका अमेरिकन आइडल र अमेरिकी संगीतका जानेमाने हस्तीहरूले पनि सांगीतिक प्रस्तुति दिनेछन्। 

आजको लाइभ प्रस्तुतिकै क्रममा बढी मत पाउँने यो सिजनको अमेरिकन आइडल हुने भएकाले अमेरिकामा रहेका नेपाली दिवेशलाई बढीभन्दा बढी मत दिन तम्तयार भएर बसेका छन्। उनीहरू दिवेशलाई अमेरिकन आइडल बनाउन आफ्नो ठाउँबाट यथेष्ट योगदान दिन चाहन्छन्। 

अमेरिकी आइडलको शीर्ष ७ मा आर्थर गनसँगै जस्ट साम, जोनी वेस्ट, फ्रान्सिस्को मार्टिन, डिल्लोन जेम्स, जुलिया गर्गानो र लुइस नाइट पुगेका छन्। १९ देखि २६ वर्ष उमेर समुहका यी प्रतिभामध्ये ४ विदेशीमूलका रहेका छन् भने ३ अमेरिकी मूलका। शीर्ष ७ मा पुगेका मध्ये जस्ट साम लाइबेरियन मूलकी एक मात्र महिला हुन्। 

दिवेश यस सिजनका प्रवल दाबेदारमध्ये एक हुन्। उनको सम्भावना निकै बढी रहेको बताइन्छ। उनको प्रतिस्पर्धा जस्ट सामसँग रहेको बताइन्छ।

यो त सम्भावनाको कुरा भयो, यथार्थ त के हुन्छ ? त्यसका लागि भने अब केही घण्टा पर्खनपर्ने हुन्छ।
नेपालीले दिवेशमार्फत् ठूलो आश राखेका छन्। उनले पनि उनीहरूको आशलाई जीवन्त बनाउन कुनै कसर बाँकि राखेका छैनन्। अब मात्र भोट र भाग्यको कुरा हो, त्यसमा पनि उनी अब्बल नै हुनेछन्। 

अहिलेका लागि उनलाई शुभकामना दिऔं । शीर्ष ५ मा पुगेपछि जमेर मतदान गरौं र उनलाई अमेरिकन आइडल बनाएर आफूलाई  नेपाली पन र नेपाली मन भएको नेपाली पुष्टि गरौं । नागरिकताले मात्र नेपाली हुने हैन। नेपाली हुन यस्ता ठूला कुरा हैन, साना काम गरे पुग्छ। त्यही सानो कामले इतिहास बनाउने हो। हामी आज एउटा महान इतिहास बनाउने घडीको सम्मुख छौं।  त्यो मौका नचुकाऔं । यसकारण पनि कि दिवेश प्रतिभाले नै अमेरिकन आइडल बन्न योग्य छन्। उनलाई भोटिङ गरेर अमेरिकन आइडल बनाउँदा अरूलाई अन्याय हुने छैन। बरू भोटिङ गरेनौङ भने दिवेशलाई अन्याय हुने छ। 

अहिलेका लागि यति नै भनौं र शीर्ष ५ मा पुगेपछि दमदार प्रस्तुतिका लागि शुभकामना दिऔं ।

 

प्रकाशित मिति: : 2020-05-18 01:43:00

प्रतिकृया दिनुहोस्