कप्तान क्षेत्रीमाथि रंगभेदी टिप्पणी: कोहलीसँगको लाइभ च्याटमा भनियाे, ‘ये नेपाली कौन है?’

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीलाई रंगभेदी टिप्पणी गरिएकाे छ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँगको इन्स्टाग्राम लाइभ च्याटका क्रमममा आइतबार उनले रंगभेदको सामना गर्नुपरेको छ। 

कोरोना भाइरस लकडाउनका क्रमममा इन्स्टाग्राममार्फत ‘इलाभेन अन टेन’ शो सञ्चालन गरिरहेका क्षेत्रीलाई एक प्रयोगकर्ताले लाइभ च्याटमा कमेन्ट गर्दै ‘नेपाली’ भनेका हुन्। 

‘याशर्मा अफिसियल’ नामको एकाउन्टबाट प्रयोगकर्ताले लाइभ च्याटमा टिप्पणी गर्दै,‘ये नेपाली कौन है?’ (यी नेपाली को हुन् ?) लेखेका हुन्। 

यो स्क्रिनसटलाई ट्वीटमा एक प्रयोगकर्ता अविनभ काकाले शेयर गरेका छन्। उनले यस्तो कार्यको भत्र्सना गर्दै लेखेका छन्, ‘भारत एउटा धेरै रंगभेद हुने देश हो। मानिसले क्षेत्रीलाई नचिन्नुसम्म ठिकै छ। तर, समाजले उनीहरुलाई चिनकी (चिनियाँ), नेपाली आदि भन्ने गरेको छ। यो लज्जास्पद छ।’

सुनिलका बाबु भारतीय आर्मीका अवकाशप्राप्त अधिकारी हुन्। सुनिलकी आमा र उनकी बहिनीले नेपालको महिला फुटबल टोलीबाट खेलेका थिए। सुनिलको जन्म भारतमा भएको हो।  

केहीले यसलाई रंगभेदी भन्न नमिल्ने पनि बताएका छन्। यसमा आएका टिप्पणीमा नेपालीलाई नेपाली नभनेर के भन्ने भन्दै प्रश्न समेत सोधिएको छ।

रंगभेद यसअघि नै भारतमा आम समस्या मानिन्थ्यो, कोरोना भाइरसको महामारीले यसलाई थप बढावा दिएको छ। चीनबाट भाइरस आएकाले जसको अनुहार चिनियाँसँग मिल्दोजुल्दो छ उनीहरुमाथि यस कठिन समयमा आफ्नै देशका अन्य नागरिकले रंगभेदी व्यवहार देखाएका छन्। जब उत्तरपूर्वमा मानिसहरुमाथि यस्तो व्यवहार भएका घटना बाहिरिए तब सुनिल आफैंले यस्ता कार्यको निन्दा गरेका थिए।  

सुनिलले यस्ता घटनालाई घृणित र लज्जास्पद भएकाे भन्दै खण्डन समेत गरेका छन्। ‘कल्पना गर्नुस् तपाई अरुणाञ्चल प्रदेश, आसाम वा सिक्किममा काम गर्दै हुनुहुन्छ र मानिसले तपाईलाई खोज्छन्, जिस्क्याउँछन् र चिन्तित पार्छन् वा समस्या सिर्जना गरिदिन्छ। तपाई कस्तो महसुस गर्नुहुन्छ,’ उनले सोधेका थिए। 

प्रकाशित मिति: : 2020-05-19 22:09:24

प्रतिकृया दिनुहोस्