भारतले एक महिनापछि खोल्यो ब्यास र तिंकर जाने बाटो (भिडियो/फोटो)

ब्यास र तिंकरमा बस्ने सौका समुदायका लागि भारतले आफ्नो तर्फबाट बाटो खुला गरेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद चुलिएपछि भारतले यो वर्ष पहिलो पल्ट आफ्नो तर्फको बाटो खुला गरेको हो। 

यो बाटो खुला भएपछि नेपाली सौका समुदाय भारतीय बाटो हुँदै तीन दिनमा सीतापुर नाका हुँदै ब्यास र टिंकर पुग्ने छन्। 

कालापानी क्षेत्रमा रहेको ब्यास र तिंकरमा बसोबास गर्ने सौका समुदाय हिउँपर्ने सिजनमा ६ महिना दार्चुलाको सदरमुकाम खलंगा आएर बस्ने गर्छन। हिउँको सिजन सकिएपछि बैशाखको सुरुवातमा पुनः उनीहरू घर फर्किन्छन्। 

यसपालि नेपाल–भारत सीमा विवादका कारण सौका समुदाय बैशाखमा आफ्नो घर फर्किन पाएनन्। उनीहरू एक महिना ढिलो गरि गाउँ फर्किन लागेका हुन्। 

ब्यास र टिंकरमा बसोबास गर्ने नेपालीले भारतीय बाटो हुँदै गाउँ छिर्नु पर्छ। नेपालबाट जाने बाटो छैन। यसैको फाइदा उठाएर भारतले बाटो बन्द गरेको थियो। 

भारतले दुःख दिन थालेपछि सरकारले आफ्नै देशको सीमाबाट ब्यास पुग्न बाटोको निर्माण थालिसकेको छ। यो अहिले पुरा भएको छैन। 

प्रकाशित मिति: : 2020-05-22 09:55:00

प्रतिकृया दिनुहोस्