पहुँच हुनेले सुविधा लिए, साना उद्योगीलाई बैंकको ताकेता

देखापढी

काठमाडौँ

 बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको तेस्रो र चौथो त्रैमासको किस्ता र ब्याज असार मसान्तमा तिर्दा हुने सुविधा नेपाल राष्ट्र बैंकले दिएको छ। तर, कतिपय बैंकहरूले भने ऋणिहरूलाई किस्ता र ब्याजको लागि ताकेता गरेर हैरान पारेको व्यवसायीहरूले बताएका छन्।

बैंकले ऋण खातामा भएको पैसा तानिदिएको र खातामा पैसा नभए फोन गरेर किस्ता तिर्न बोलाउने गरेको उद्योगी पशुपति मुरारकाले बताए।

“बार्गेनिङ गर्न सक्ने उद्योगी व्यवसायीले बैंकसँग झगडा गरेर पनि किस्ता तिरेका छैनन्। पहुँच नभएका साना व्यवसायीहरूलाई बैंकले दैनिक फोन गरेर ताकेता गरिरहेको छ”, मुरारकाले भने।

बैंकले अनावश्यक ताकेता गरेको भन्दै काठमाडौं बाहिर रहेका उद्योगी व्यवसायीहरूले फोनमा आफूलाई जानकारी गराएको मुरारकाले बताए।

“अहिले उद्योगी व्यवसायीले पैसा तिर्न सक्ने अवस्था छैन। उद्योग व्यवसाय बन्द भएको कारण उनीहरू आफै तनावमा छन्। बैंकले फोन गरेर ताकेता गर्दा झन तनाव बढेको छ”, उनले भने।

प्रकाशित मिति: : 2020-05-21 20:55:07

प्रतिकृया दिनुहोस्