कुमारी ट्रष्टद्वारा कर्णालीका अस्पताललाई १ करोड सहयोग

कुमारी ट्रष्टद्वारा कर्णालीका अस्पताललाई  १ करोड सहयोग

पूर्वसभासद् राजीवविक्रम शाह अध्यक्ष रहेको कुमारी ट्रष्टले कर्णाली प्रदेशका ९ वटा अस्पताललाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

ट्रष्टले सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित पाँचवटा आइसीयू बेड सहयोग गरेको छ।

शुक्रबार शाहले एक कार्यक्रमबीच कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्कालाई ७० लाख बराबरको सहयोग हस्तान्तरण गरेका हुन्। 

ट्रष्टले जुम्ला बाहेकका ८ वटा जिल्ला अस्पतालको लागि ३० लाख बराबरको थप सहयोग गरेको छ। जुम्लामा पूर्वाधारयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले तत्काल सहयोग नगरिएको उनले बताए। 

ट्रष्टले उपलब्ध गराएको सामग्रीमा भेन्टिलेटर, आइसीयू, इसीजी मेसिन, प्यासेन्ट मनिटर, प्यासेन्ट बेड, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल, प्यासेन्ट ट्रली, नेबुलाइजर लगायत रहेका छन्।

‘अमेरिकामा बस्ने माया राणाले आफ्ना स्वर्गीय बुवाको प्रथम वार्षीकीको अवसरमा हाम्रो ट्रष्टलाई गरेको आर्थिक सहयोगबाट कर्णालीका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो,’ अध्यक्ष शाहले भने,  ‘कोरोनाको संक्रमणविरुद्ध लड्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो। त्यसमाथि कर्णालीजस्तो भौगोलिक विकटता र स्वास्थ्य पूर्वाधार कमजोर भएको ठाउँमा यस्तो बेला सहयोगको खाँचो अझ बढी महसुस भएकोले सहयोग गरेका हौं।’

स्वास्थ्य सामग्री सहयोग कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले भारतबाट आउने नागरिकको कारण कर्णालीमा कोरोनाको जोखिम बढेको भएतापनि जोखिम न्यूनीकरण गर्न प्रदेश प्रवेश गर्ने नाकामा आरडीटी परीक्षण गर्नुका साथै स्थानीय तहको सहयोगमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए। 

‘सीमामा आएर अलपत्र परेपछि उनीहरुलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व हो, घर आउन खोज्नु नागरिकको अधिकार पनि हो,’ उनले भने, ‘यसरी बढेको जोखिमलाई कसरी न्युनिकरण गर्ने विषयमा सरकारले ध्यान दिएको छ।’ 

ट्रष्टको सहयोगपछि प्रदेश अस्पतालमा आइसीयू बेडको संख्या २५ पुगेको छ। प्रदेश अस्पतालका निर्देशक डा। खड्काका अनुसार कोरोना प्रकोपअघि ४ वटा आइसीयू बेड रहेकोमा सरकारको सहयोगमा १६ र कुमारी ट्रष्टको सहयोगमा ५ बेड थपिएको छ। अब प्रदेशभर आइसीयू संख्या ४० पुगेको छ। जुम्लामा १० र दैलेखमा ५ आइसीयू बेड रहेका छन्।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णाली प्रदेशभर भेन्टिलेटरको संख्या १७ रहेको छ। सुर्खेतमा ट्रष्टको सहयोगमा आएको एकसहित ८, जुम्लामा ७ र दैलेखमा २ वटा भेन्टिलेटर रहेका छन्।

प्रकाशित मिति: May 22, 2020 19:27:56

प्रतिक्रिया दिनुहोस

सबै