अमेरिकामा आठौैं रात पनि प्रदर्शन र लुटपाट जारी, स्थिति तनावग्रस्त (भिडियो)

बिएल संवाददाता

न्युयोर्क-अमेरिका

अमेरिका आठौं दिन पनि अशान्त छ। दिन मात्र हैन, रात पनि अशान्त छ। देशका ४० भन्दा बढी सहरमा कर्फ्यु लगाइए पनि प्रदर्शकारीले त्यसको उलंघन गर्दै प्रदर्शन जारी राखेका छन्। देशमा २० हजारभन्दा बढी नेशनल गार्ड परिचालन गरिएको छ। तर, पनि स्थिति काबुमा आउन सकेको छैन। 

यही मौकामा लुटेराहरूको ग्याङले विभिन्न सहरमा लुटपाट मच्चाइरहेको छ। न्युयोर्कको म्यानहट्याटनमा राति सुरू गरिएको लुटपाट नियन्त्रणमा लिन प्रहरीले ठूलो कसरत गरिरहेको छ। यही क्रममा ठूलो संख्यामा लुटेराहरू पक्राउ गरिएको न्युयोर्क प्रहरी विभागले जनाएको छ। 

अमेरिकामा भड्केको हिंसालाई कसरी नियन्त्रणमा लिने अहिले सबैको चासो र चिन्ता यसैमा केन्द्रित छ। राष्ट्रपति ट्रम्प प्रदर्शनलाई दमन गरेर नियन्त्रणमा लिने पक्षमा छन् भने डेमोक्रेट नेताहरू शान्तिपूर्ण प्रदर्शनको पक्षमा छन् र उनीहरू लुटपाट, तोडफोड, आगजनीको निन्दा गर्दै सबैलाई संयमपूर्वक शान्तिपूर्वक विरोध प्रदर्शन गर्न आग्रह गरिरहेका छन्।

न्युयोर्कमा जुन ८ सम्म रात्रिकालिन कर्फ्यु


अमेरिकाको न्युयोर्क महानगरीमा जुन ८ सम्म बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म रात्रीकालिन कर्फ्यु लगाइएको छ। प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई नियन्त्रणमा लिन कर्फ्युको विकल्प नभएको मेयर बिल ब्लाजिओले बताएका छन्। कर्फ्युको समयमा सार्वजनिक स्थलमा सर्वसाधारण व्यक्ति वा गाडीको उपस्थितिमाथि बन्देज रहनेछ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित राष्ट्रपतिका उम्मेद्वार  जो बाइडनले मंगलबार पेन्सेल्भेनियाको दंगाग्रस्त सहर फिलाडेल्फियाबाट राष्ट्रका नाममा सम्वोधन गरेका छन्। उनले अमेरिकी जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउँने अधिकारको सम्मान गर्दै त्यसमा हिंसा, लुटपाट, तोडफोड र आगजनीको लागि ठाउँ नहुने बताएका छन्। उनले राष्ट्रलाई एक बनाएर मात्र यो समस्याको समाधान हुने बताउँदै त्यसका लागि आफू सक्षम रहेकाले नोभेम्बरमा हुने चुनावमा आफूलाई मत दिन पनि आग्रह गरे। 

यसअघि सोमबार राष्ट्रपति ट्रम्पले आफूले मात्र यो हिंसालाई तह लगाउने बताउँदै त्यसका लागि हातहतियारसहितका सैनिक परिचालन गरिने बताएका थिए। उनले पनि अमेरिकाको यस स्थितिलाई तह लगाउन आफू नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिको उम्मेद्वार भएको बताएका थिए। 

यसैबीच यो आन्दोलनको उठानका मूल व्यक्ति जर्ज फ्लोइडको मंगलबार टेक्सासको ह्युस्टनमा अन्तेष्टी गरिएको छ। उनको अन्त्येष्टिमा परिवारका सदस्यसहित ठूलो संख्यामा प्रदर्शनकारी सहभागी भएका थिए। जर्जकी आमाले सबैलाइ शान्तपिूर्ण प्रदर्शनका लागि आग्रह गर्दै आफ्नो छोराको आत्माको शान्तिका लागि पनि हिंसा, लुटपाट, तोडफोड र आगजनीको बाटो छोड्न सबैलाई अनुरोध गरेकी थिइन्। 

 

प्रकाशित मिति: : 2020-06-03 15:28:00

प्रतिकृया दिनुहोस्