गोसाईका भाषणमै झुण्डिएको आयोजना

जेठको पहिलो साता डोटी गोपघाटस्थित सेतीमा पानीको बहाव मापन गरिरहेको देखिन्थ्यो तीन चार जनाको एउटा समूह। ‘त्यहाँ के भैरहेको छ?’, त्यो दृश्य देखेपछि सोधेको थिएँ, त्यहाँका केही स्थानीयलाई। सबैले मुख बाङ्गो बनाउँदै उतापट्टी हेर्दै नहेरी भनेका थिए, ‘के हुनु पानी नाप्दै भत्ता पचाउने वाला होलान्।’

उनीहरूको जवाफ सुन्दा मुखाकृति हेर्दा लाग्थ्यो अब त वास्ता गर्न छोडिसके स्थानीयले। छैन कुनै आश पश्चिम सेतीप्रतिको। छैन विश्वास नेताहरूप्रतिको।

हरेक वर्षझैं यो वर्ष पनि ल्यायो सरकारले नीति तथा कार्यक्रम। सुनियो बजेट भाषण विगतका वर्षझैं उच्चारण गरियो पश्चिम सेतीको नाउँ। राष्ट्रिय गौरवका योजना अन्तर्गत एउटा व्यानरमा हरेक वर्ष जलस्रोत मन्त्रालयको भित्तोमा झुण्डिदै आएको छ पश्चिम सेती। नयाँ नयाँ प्रविधिसँग रमाउन खोज्छ, विकासको गति लिन खोज्छ हरेक क्षेत्र।  तर सुदूरपश्चिम आजका दिनसम्म पनि बञ्चित नै छ कतिपय कुराहरूमा। अव त सपना नि देख्न निकै मुस्किल भइसक्यो सुदूरपश्चिमलाई। कोरोनाले परदेशी बनेका पाइलाहरू फर्किदैछन् घरतिर। दुई छाक खान, एकसरो लाउन र नून तेलको जोहो गर्न विदेशिनेहरू बेरोजगारको पगडी गुथेर फर्किन वाध्य छन्। जोख्न वाध्य छ आँगन, अधिकांश उदाश र बेराजगार पाइलाहरू।

पञ्चायत कालदेखि नै चर्चा हुन थालेको हो डोटी, डडेल्धुरा, बझाङ र बैतडीको भूभाग ओगटेको पश्चिम सेती जलविद्युत आयोजनाको। कहिले फ्रान्सेली त कहिले अष्ट्रेलियन कम्पनीले आशाको डोरीमा झुण्ड्याइरहे वर्षौसम्म प्रोजेक्ट ओगटेर। २०६९ सालमा व्यापक रूपले चर्चा हुन थाल्यो। २०६९ भाद्र ११ का दिन नेपाल लगानी बोर्ड र चिनियाँ सरकारी कम्पनी थ्री गर्जेजको भगनी कम्पनी सि डब्लु ई बीच MOU मा हस्ताक्षर भयो ७५० मेगावाट क्षमताको पश्चिम सेती जलबिद्युत आयोजना निर्माणका लागि। जुन विषयले सञ्चार जगतमा बेलाबखत तरङ्ग ल्याइरह्यो।

यो समाचार पाएपछि सुदूरपश्चिमका २८ लाख जनता निकै नै आशावादी बने। भावि दिनको कल्पनामा मनको आँगनमा एक किसिमको दीपावली बनाइरहे। वर्षौदेखि अलपत्र रहेको पश्चिम सेती अब पक्कै पनि सम्पन्न हुने छ भन्ने कुरामा बिश्वस्त हुँदै उत्साही र हर्षित भइरहे। पश्चिमसेती जलविद्युत आयोजना सुदूरपश्चिम क्षेत्रको मात्र नभई समग्र देशको ऊर्जा विकासको प्रमुख आधार बन्न सक्ने कुरामा दुईमत थिएन र छैन पनि। तर मानिसको जीवनको कथा जस्तै ठाउँको जातिको देशको कथा हुन्छ। आज अर्को कथा थपिएको छ पश्चिम सेतीको।

नवदुलहीको हिँडाइको चालझैँ वर्षौ पछि पुनः झुल्किएका थिए सुदूरपश्चिमेलीका आशाका किरणहरू पनि। जब गाँइगुँइ चल्न थालेको थियो पश्चिम सेतीको। कहिल्यै घामपानीझैं भयो माहोल। कहिल्यै बादलले छोप्यो। पानी परेपछिको आकाशझैं पटकपटक उमङ्ग नछरेको पनि हैन पश्चिम सेती जलविद्युत आयोजनाले। धेरैदिन टिक्न सकेन त्यो खुसी त्यो उमङ्ग। मात्र आकाशमा बिजुली चम्किएझैं भए ती पलहरू। 

आशै आशमा झुण्डिरहेको पश्चिम सेती आकाशको फल आँखा तरी मर भनेझै भएको छ। सुदूरपश्चिम भोको छ बेरोजगार छ, पछाडि छ, अशिक्षा र गरिबीको मारमा छ। समस्या र चिन्ताको भूमरीमा परेको छ। सुदूरपश्चिमले सबैलाई दियो तर किन हो कुन्नि सुदूरपश्चिमलाई कसैले केही दिन सकेनन्। अझै भन्नु पर्दा केही दिन चाहेनन्। बच्चासँग लुकामारी खेलेझै दिएजस्तो गर्दै खेलिरहे मात्र लुकामारी। यो सुदूरपश्चिमको नियति नभएर त्यो क्षेत्रको अगुवाई गर्ने गोसाईहरूको कमजोरी र नैपालले गरेको उपेक्षा हो। यो आयोजना निर्माण हुन सक्यो भने त्यहाँका जनताले कामको लागि भारतका गल्ली चाहर्ने र खाडी मुलुकमा पाइला टेक्ने कार्य गर्दैन थिए। एउटा क्षेत्रको विकास हुनु भनेको समग्र राष्ट्रको विकास हुनु हो। जुनकुरा यो राष्ट्रका नीति निर्माता र योजना कार्यान्वयनमा बसेकाले सोच्नुपर्ने हो। तर थाहा छैन कुन जुनीको श्रापभोग्दै छ सुदूरपश्चिमले।

कुनै पनि देशको उन्नति प्रगति र उत्थानका लागि त्यहाँको जलस्रोत पर्यावरण, संस्कृति र पर्यटन नै मूख्य आधार बन्न सक्छन्। मध्य तथा सुदूरपश्चिम यी कुरामा सबैभन्दा धनी मानिन्छन्। तर पनि यी क्षेत्र सधैं ओझेलमै परेका छन्। सुदूरपश्चिम वर्षौदेखि हलिया, कमैया, छाउपडी, देउकी र एड्सको क्षेत्र भनेर मात्र चिनियो। त्यस क्षेत्रको आर्थिक पर्यटकीय र सांस्कृतिक पक्षको सम्भाव्यता राष्ट्रले कहिल्यै पहिल्याउन सकेन। त्यहाँका पर्यटकीय क्षेत्र र जडिबुटी उत्पादनतिर मात्रै दृष्टि पुर्‍याइदिएको भए पनि त्यहाँका जनताको जनजीवन निकै माथि पुगिसक्थ्यो। अझ सेती र महाकालीमा सम्भावित जलविद्युत आयोजना सम्पन्न गर्न सकेको भए त झन राष्ट्रले आर्थिक उन्नतिमा निकै ठूलो फड्को मारी सकेको हुन्थ्यो।

पश्चिमसेती जलविद्युत आयोजना निर्माणका लागि भनेर कयौपल्ट कागजी घोडा दौडिरहे। एकनाशले बगिरहिन् सेती। सेती किनाराका मान्छेहरू आशाको बीऊ छरिरहे। बिडम्बना नै भनौं हाम्रा हरेक आयोजनाहरू कुनै न कुनै बहानामा रूमल्लिएर ओझेल पर्न थाले। आशा र विश्वासको भारी बोक्दा बोक्दै एउटा पिढीले आफ्नो उर्वर समय व्यतित गर्न थालिसक्यो जुन निकै चिन्ताजनक र दुखद घटनाक्रम हो।

जलाशय हुने भनिएको क्षेत्रका मानिस स्थानीय सरकार र केन्द्रीय सरकारका विकासे योजनाबाट पनि बञ्चित भएका छन्। हिउँदको शीतको थोपाझै टुलुटुलु दिनको सूर्य र रातका तारा हेर्नु शिवाय केही छैन त्यहाँका जनताको लागि। यो प्रोजेक्ट सुदूरपश्चिमेलीका लागि जीवन मरणको प्रश्न भइसक्यो। पश्चिमसेती जलबिद्युत आयोजना डाँडा माथिको चौतारीको रूपमा मात्रै हेरियो। थुप्रै सम्भावनाका गोरेटाहरू छँदाछँदै पनि सुदूरपश्चिमको पहिचान सधैभरि रोग, भोक, गरिबी र अशिक्षा मात्रै बनिदियो।

हिजो कतिपय वस्ती बगाएर जाने सेती, कैयौंका आँसु बटुलेर दौडिने सेती आज आफैं रोइरहेझैं लाग्छ। वर्षौदेखि आफ्नैपनको घुम्टो ओढेर यात्रारत सेतीको घुम्टो खोल्ने नाटक गर्न थाल्यो राज्य। उसको अनुहारका तस्बिरहरू छरिए ठाउँठाउँमा। आशा र विश्वासमा बाँच्न सिकेका अधिकांश सुदूरपश्चिमेलीका कल्पनाका गराहरू ठुल्ठूला बन्दै गए लाखौं पर्यटकलाई ती छाल देखाउन। देशविदेशसम्म चर्चा चल्यो सेतीको। ती किनाराका मनहरूसँग खुसीको सीमा नै रहेन। तर, आखिरमा हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भयो।

चाहेनन् राज्य सञ्चालकले सेतीका लहरहरूलाई आत्मसात् गर्न। मात्र किनारासम्म पुर्‍याएका हुन् तिनले दृष्टि। बारम्बार पठाइरहे पानीको वेग छाम्न। मात्र जिस्क्याइरहे वर्षौसम्म। २०३९-०४० सालदेखि नै चर्चामा रहेको आयोजनाको ड्याम बन्ने भनिएको क्षेत्रको आसपासमा स्थानीयले ६ महिना वर्षदिनमा तयार हुने खालको खेती मात्र गरिरहे। परियोजना बन्ला भन्ने आशमा बसेका कतिले धर्तीबाट बिदा लिइसके। योजनाको सुरूवातीको चर्चा हुँदै जन्मेकाहरूको समेत आधी अमेर ढल्किन थालिसक्यो। आकाशको फल आँखा तरी मर भनेझैं भयो अन्त्यमा।

जिस्क्याउनसम्म जिस्क्याए सेतीलाई। संसारभरका नदीको झैं सेतीको पनि नियति नै हो आफ्नै गतिमा यात्रारत भैरहने। परापूर्वकालदेखि नै छल्किरहने छाल ३६ वर्षदेखि छल्किदै आएका छन् गोसाईहरूका भाषणमा, विदेशी कम्पनीका कागजमा, अर्थमन्त्रीका बजेट भाषणमा अनि सरकारका योजना पत्रमा। वस्तवमा यसरी कुनै मान्छेलाई जिस्क्याइन्थ्यो भने उठ्थे होलान् मानव अधिकारका कुरा। चरित्रहत्याका कुरा। किन जिस्क्याउदा हुन् महारथीहरूले बारम्बार सुदूरपश्चिमलाई, पश्चिम सेतीलाई।

लङ्कामा सुन छ कान मेरो बुच्चै भन्ने उखान सुदूरपश्चिमका हकमा शतप्रतिसत लागु हुन्छ। यहाँ हरेक चिजको सम्भावना छ। जलविद्युत कृषि, पर्यटन, जडिबुटीलगायतका क्षेत्रमा थुप्रै सम्भावना बोकेको छ सुदूरपश्चिमले।

सुदूरपश्चिमेलीले पटकपटक सरकारलाई गुहारी रह्यो। सरकार चलाउने देशका अगुवाह? कहिल्यैं कमिसनको चक्करमा घुमिरहे भने कतै सत्ता पक्ष र प्रतिपक्ष भएर पार्टीगत हिसावले मात्र हिँडिरहे। पश्चिम सेती जस्ता आयोजनालाई केटाकेटी जिस्क्याएजस्तो गरीरहे। चुनावको बेला नारा बनाए सेतीलाई। हरेकपटक आश्वासनको खेती गरिरहे। त्यही नारालाई मनन् गरेर प्रभावित क्षेत्रका जनताले बनाएनन् कुनै नयाँ संरचना। रोपेनन् कतै फूलको बोटसम्म। उनीहरूले बारम्बार भनिरहे–‘कतिखेर यहाँ ड्याम तयार हुने हो र सारा जमिन तलाउ बन्ने हो।  के गर्नु छ र बोटबिरूवा रोपेर।’

यहाँ हुन थालेको काम बिगार्नेको कमी छैन। व्यक्तिगत स्वार्थमा कमिसनको खेती हुन थालेपछि चेतनाको धरातल सुक्ष्म हुँदै जान्छ र ओझेलमा पर्दै जान्छन् हाम्रा कैयौं योजनाहरू। ६८० मेगावाटको बन्दै गरेको बेतन कर्णालीको अवधारणालाई नै अनुकरण गर्ने हो भने पनि बनाउन गाह्रो छैन पश्चिम सेती। वेतन कर्णालीमा त कर्मचारी संचय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारीले एक वर्षमा पाउने बोनस वापतको रकम मात्रै ४० प्रतिशत लगानीको रूपमा रहेको छ। लगानीको ग्यारेन्टी दिएर योजना अगाडि बढाउने हो भने सुदूरपश्चिमलाई जन्मक्षेत्र र कर्मक्षेत्र बनाउँदै आएका  सबै कर्मचारी एक महिनाको पुरै तलब लगानी गर्न तयार हुनेछन्। यहाँ विभिन्न जिल्लाका समाज छन्, जिल्लाजिल्लामा उद्योग वाणिज्य संघ छन्।

बाह्य मुलुकमा सुदूरपश्चिमेली समाज छन्, उद्योगपति छन्, करोडौं-अर्वौका ठेक्का लिइरहेका ठेकेदारहरू छन्। एउटा उपमहानगरपालिका छ ३३ वटा नगरपालिका छन्। ५४ वटा गाउँपालिका छन्। के ती सबै एक ठाउँमा जम्मा भएर हातेमालो गर्दै अघि बढ्दा बन्न सक्दैन पश्चिम सेती? यहाँ सोचको कमी छ। केवल नेतृत्व गर्ने मान्छेको कमि छ।

दशरथ चन्द, जयपृथ्वीबहादुर सिंह, भीमदत्त पन्त, डा. केआइसिंह, जस्ता अगुवा पुरूषको जन्मथलो हो यो। पछिल्लो समयमा यहाँ मात्र सोचको कमि छ। पश्चिम सेती मात्र बने पनि यहाँको विकासमा कायापलट हुन्छ। यो वाक्य झुण्डिएकै छ अधिकांशको मुखमा। तर पनि बन्दैन पश्चिम सेती। नेताका भाषणले मात्र बन्ने भए त अहिलेसम्म के के न भैसक्थ्यो यहाँ। यहाँ इमान्दारीताको कमी छ। साझेदारीको कमि छ। पैसाको कमि छैन। त्यसैले अब सोच्ने बेला भएको छ साझेदारीको मोडेलमा गएर पश्चिम सेती बनाउन आ-आफ्नो क्षेत्रबाट अग्रसरता लिने कि नैपालका शासकले नीती र कार्यक्रमका पन्ना पल्टाएकै भरमा आकाशको फल ठानेर एवम् प्रकारले वर्ष बिताउने? 

हेमन्त विवशका केही पढ्नैपर्ने आलेख

१. 
गोसाई आब केलाई चाहियो पर्देश सरकार?
२. लकडाउन, सेतीका छाल र फैलिँदै गरेको जाल
३. चैत मात्तर गयो गोसाई बिसुँ आएइन
४. चैत, क्वारेन्टाइन र कोरोना पूजा
५. अधुरै रह्यो जन्मथलो हेर्ने इच्छा 
६. काट्न खोजेँ आफ्नै घाँटी
७. प्रश्न सोधिरहन्छ साला जिन्दगी
८. चिया पसल चलाउँदै सांसद (भिडियोसहित)
९. गलीगली
१०. सहरमा पाइला टेक्ने सोच मात्रै छ गाउँसँग

प्रकाशित मिति: : 2020-06-11 14:44:57

प्रतिकृया दिनुहोस्