विश्व कपको ‘फिक्सिङ’ लाई लिएर अरविन्द डि सिल्भामाथि ६ घण्टा सोधपुछ

एजेन्सी

कोलम्बो

सन् २०११ को विश्व कपमा ‘म्याच फिक्स’ गरेर भारतविरूद्ध फाइनल खेल हारेको भन्ने श्रीलंकाका पूर्व खेलमन्त्रीको बयान बाहिर आएपछि प्रहरीले छनोट कमिटीका तत्कालिन संयोजक तथा पूर्व क्रिकेटर अरविन्द डि सिल्भासँग ६ घण्टा लामो सोधपुछ गरेको छ। 

सन् १९९६ मा श्रीलंकाले विश्व कप जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका अरविन्द फाइनलको ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए। देशका लागि ९३ टेस्ट र ३ सय ८ एकदिवसीय खेल्ने अरविन्दले श्रीलंकाली प्रहरीको सोधपुछपछि भने, ‘यदी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यो मुद्धामा कुनै अनुसन्धान गर्छ भने म सहयोग गर्न तयार छु।’

श्रीलंकाका पूर्व खेलमन्त्री महिन्दानन्द अल्थगामेले केही दिनअगाडि सन् २०११ को विश्व कप मिलेमतोमा खेलिएको आरोप लगाएका थिए। उनले श्रीलंकाली खेलाडीले केही पैसा लिएर भारतलाई विश्व कप ट्रफी बेचेको आरोप लगाएका थिए। सन् २०११ को फाइनल श्रीलंका र भारतबीच भएको थियो। उनको भनाई बाहिरिएपछि प्रहरी सक्रिय भएको हो। 

खेल मन्त्रालयले पनि यसमा छानवीनका लागि प्रहरीलाई आदेश दिएको थियो। सन् १९९६ मा श्रीलंकाले विश्व कप जित्दा टिमको कप्तान रहेका अर्जुना रणातुङ्गाले पनि फाइदल खेलको छानवीन गर्न माग गरेका थिए। विश्व कपको फाइनल हेर्न पूर्व खेलमन्त्री अल्थगामगे र तत्कालिन राष्ट्रपति महेन्द्रा राजपक्षेलाई पनि मुम्बई निमन्त्रणा गरिएको थियो। 

खेलमन्त्रीको यो बयानलाई तत्कालिन कप्तान महेला जयवर्घने र कुमार संगकाराले हावादारी गफको संज्ञा दिएका थिए। उनीहरूले यो बयानमा मन्त्रीसँग प्रमाण माग गरेका थिए। संगाकाराले आफ्नो सोशल मिडियामा लेखेका थिए, ‘यदी यसो हो भने पूर्व खेलमन्त्रीले आइसीसीलाई प्रमाण उपलब्ध गराउनु पर्छ। किनभने एन्टी करप्शन यूनिटले राम्रोसँग यो मुद्धाको छानवीन गर्न पनि यो सहयोगी सावित हुनेछ।’

उनले चुनावका लागि पूर्वमन्त्रीले ‘राजनीतिक स्टण्ट’ गरेको पनि आरोप लगाएका थिए। मुम्बईको वानखेडे स्टेडियममा भएको फाइनलमा श्रीलंका ६ विकेटले पराजित भएको थियो। 

संगकाराले टस जितेर ब्याटिङ गर्दै महेला जयवर्घनेको सतकीय इनिङमा २ सय ७६ रन बनाएको थियो। जसमा गौतम गम्भीरले ९७ र कप्तान महेन्द्र सिंह धोनीको अविजित ९१ रनको सहयोगले भारतले जित हात पारेको थियो। सन् १९८३ पछि भारतको दोस्रो विश्व कप जित थियो।

प्रकाशित मिति: : 2020-07-01 18:15:52

प्रतिकृया दिनुहोस्