कोरोना भाइरसलाई ट्रम्पले भने, ‘चिनियाँ प्लेग’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (काेभिड–१९)लाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन्। 

अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा सो अभिव्यक्ति दिएका हुन्।

उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको गम्भीर आरोप पनि लगाएका छन्।

उनले भने, ‘यो चिनियाँ प्लेग हो। फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो। हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं। तर मसी सुक्न नपाउँदै यसले प्रभावित पार्‍यो।’

१४ औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फैलिएको ‘प्लेग रोग’का कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लिएको बताइन्छ।

अहिले २१ औं शताव्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए। वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ।

चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गरेका थिए। तर, जब कोरोना संक्रमणले विश्वव्यापी महामारी लियो र अमेरिका सबैभन्दा बढी प्रभावित भयो, तब ट्रम्प चीनमाथि आक्रामक हुँदै आएका छन्।

उनले जानीबुझी चीनले भाइरस फैलाएको आरोप लगाएका छन्। चीनको पक्षपोषण गरेको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बन्द गराएका छन्।

यसअघि ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीन आक्रोशित बनेको थियो।

तर चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न चेतावनी दिएका थिए।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट अमेरिकामा २७ लाख ३५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। कोरोना भाइरस संक्रमणकै कारण अमेरिकामा १ लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-07-03 07:06:49

प्रतिकृया दिनुहोस्