नेपालमा सलहले अन्डा नपार्ने, नयाँ झुन्ड आउने सम्भावना न्यून

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले नेपालमा सलहको नयाँ झुन्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन्। 

संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा हुमागाईंले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुन्ड आउन नसक्ने दावी गरेका हुन्। 

'भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाे छ।  बिहीबार भारतको इटहवामा रहेको सलहको झुन्ड शुक्रबार मध्यप्रदेशतिर पुगेकाे छ। त्यसैले नेपालमा आउने सम्भावना कम हुँदै गएको छ',उनले भने। 

उनका अनुसार भारतको इटहवा भैरहवा नाकादेखि पाँच सय किलोमिटर नजिक रहेको छ। तर शुक्रबार सलहको झुन्ड दक्षिणतर्फ लाग्दा सात सय ६७ किलोमिटर टाढा पुगेको छ। 

उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा सलह नेपाल आइपुगेको र नेपालमा अन्डा पार्ने सम्भावना पनि नभएकाे जानकारी दिए।  

उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए। तर सलहकाे झुण्ड सानाे भएकाे कारण आवाजको माध्यमबाट भगाउन सकिने पनि बताए।  

देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति 


कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले  सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको जानकारी दिएका छन्।

उनले सलह १३ असारमा  भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिनभित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको बताए। तर, मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए।

सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर र मकवानपुरमा १ सय हेक्टरमा लगाइएकाे कृषिबालीमा क्षति पुर्‍याएको उनले बताए।

यता अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनकाे दावी छ। सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-03 19:45:50

प्रतिकृया दिनुहोस्