म्याराडोनाको त्यो चर्चित हाते गोल 

नवीन अर्याल

काठमाडौं

अन्तराष्ट्रिय खेलाडी–२


विश्व चर्चित मिडफिल्डर डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपअन्तर्गत क्वाटरफाइनलमा गरेको दुई वटा गोलको अहिले पनि खुब चर्चा हुने गर्छ। उनले इङ्ल्याण्डविरुद्ध पहिलो गोल हातले गरेका थिए, जसलाई ‘ह्याण्ड अफ गड’ को रुपमा विश्वले सम्झिने गर्छ।  त्यस्तै, दोस्रो गोल मैदानको मध्य भागबाट इङ्ल्याण्डका ६ खेलाडीलाई छक्याउँदै एक्लै गरेका थिए, जुन अहिलेसम्म पनि शताब्दीकै उत्कृष्ट गोलमा दरिएको छ। 

के हो ‘भगवानको हाते गोल’ भनेको ? त्यो म्याराडोनाको हात थियो। मलाई अहिले पनि पत्यार लाग्दैन म त्यति माथिसम्म उफ्रिन सक्नछु भनेर। मैले हातले गोल गर्दा सुरुमा सेल्टन, गोलकिपर (इङ्ल्याण्ड) पिटर सेल्टनले पत्तो पनि पाएनन्। मेरो हातले जाली चुम्दा अपील गर्ने पहिलो खेलाडी थिए, फेनविउ। उनी मसँगै कभरमा दौडिरहेका थिएँ।

जब मैले लाइन्सम्यानतर्फ हेरेँ उनी गोलको मान्यता दिँदै सेन्टरतर्फ दौडिरहेका थिए। मैले आफूलाई सम्हाल्न सकिनँ। म फरक्क फर्किएँ। मेरो बाबु र ससुरा बसेको स्थानतिर मलाई अब उत्सव मनाउनु थियो, उनीहरुका लागि गरेको गोलको लागि। म जब गोलको उत्सव मनाउन दर्शकदीर्घातिर दौडिएँ, पुरै इङ्लिस टोली विरोधमा उत्रिसकेको थियो। भाल्डोना (अर्जेन्टिनी प्रशिक्षक) ले आफ्नो औला मुखमा राखेर मलाई चुप बस्न इसारा गरे। खेल सकिएपछि एक जना पत्रकारले त्यो गोलको विषयमा मलाई प्रश्न पनि गरेका थिए। त्यतिबेला मेरो उत्तर थियो, ‘मैले रेफ्रीको इमान्दारीता माथि शंका गर्न मिल्दैन्।’ 

जब म विश्वकप सकेर व्यवसायिक फुटबल खेल्न इटाली फर्किएँ। त्यहाँ पनि मेरो हाते गोलको चर्चा रहेछ। यहाँ मेरो लागि अर्को अविस्मरणीय घटना भयो। सिल्भिया पियोला, सन् १९३० को विश्वकपमा इटालीका महान स्ट्राइकर मलाई हेर्न आएका रहेछन्। उनले म नजिकै आएर भने, ‘सवै मानिसहरु (इटालीवासी) तिमीले हातले गोल हान्दा इमान्दार नभएको आरोप लगाइरहेका छन्। बताइदेऊ उनीहरूलाई इटालीमा कुनै बेला एकजना कम इमान्दार व्यक्ति पनि थियो ....किनभने मैले पनि इङ्ल्याण्डविरुद्ध हातले गोल हानिसकेको छु। त्यतिबेला त सबैले खुसी मनाएका थिएँ।’

इङ्ल्याण्डविरुद्धको क्वाटरफाइनल हाम्रो लागि यसकारण पनि महत्वपूर्ण थियो किनभने माल्भिनास (फकल्याण्ड) को युद्वको ४ वर्षपछि हामी एक अर्काको अगाडि थियौ, त्यो पनि फुटबल मैदानमा। हामीलाई थाहा थियो कति बहादुर अर्जेन्टिनीहरुले फकल्याण्ड युद्धमा ज्यान गुमाए। अग्रेंज सेनाले चरा भुटे झै त्यहाँ अर्जेन्टिनी जनता भुटेका थिए। 

त्यो २३ जुनको दिन थियो। मैले इङ्ल्याण्डविरुद्ध यादागार दोस्रो गोल गर्दा। मैले दोस्रो गोल मेरो भाइले भने जस्तै गरि गरेको थिएँ। १३ मे १९८१ मा मैले यस्तै तरिकाले गोल गरिसकेको थिएँ। मैले त्यतिबेला यस्तै प्रकृतिको गोल गर्दा मेरो भाइ अल टुको मसँग खुब रिसाएको थियो। भन्थ्यो–‘तिमी काम नलाग्ने मान्छे। गोलकिपरलाई आफ्नो नजिक आउन दिने प्रयत्न पनि गरेनौं। तिमीले यो गोललाई रोचक बनाउनु पथ्र्यो,’ त्यति भनेर ऊ मसँग फन्कियो। म चकित परेँ। उसलाई गाली गर्न थालेँ, ‘त घटिया। टेलिभिजन हेरेपछि थाहा पाउँछस्, मैले कस्तो गोल गरेँ।’

तर, टेलिभिजन हेरेपछि उसको सोचबाट म आफैं प्रभावित बन्न पुगेँ। ऊ त्यतिबेला ७ वर्षको थियो। र, उसले मलाई सम्झायो। ‘होइन फ्लु (म्याराडोनालाई भाइले सम्बोधन गर्ने नाम) यदि तिमीले गोलकिपरलाई आफू नजिकै आउन दिएको भए, पोल र तिमीबीचको रिक्तता छोटो हुनेथियो। यस्तौ बेला गरेको गोल दर्शनीय हुने गर्छ। यस्तो स्थितिमा तिमीले जहिले पनि देब्रे खुट्टाले गोल गर्नू।’ 

मैले इङ्ल्याण्डविरुद्धको दोस्रो गोल त्यसरी नै गरेँ। जसरी गोल गर्न मेरो भाइले मलाई सुझाव दिएको थियो। सन् १९८६ को विश्वकप फाइनल खेल पनि मेरो लागि एउटा बिर्सनै नसक्ने दिन हो। २९ जुनमा हामी जर्मनीसित फाइनल खेल्न अज्टेका रंगशालामा उत्रिएका थियौ। यहाँ हामीले सुरुमा दुई गोलको अग्रता लियौं।

पहिलो गोल टाटा ब्राउनले हेडद्धारा गरे। उनलाई फाइनलमा पासारेलाको स्थानमा उतारिएको थियो। तर, ८० मिनेटमै खेलले कोल्टे फेर्यो। जर्मनी २ गोल फर्काउन सफल भयो। कुनै पनि टिमका लागि यो माफ गर्न नसक्ने गल्ती हो। तर पनि म त्यतिबेला अतालिएको थिइनँ। मलाई खेल जित्ने विश्वास थियो। यस्तैमा जर्जे बुरुचागाले गोल गर्दै खेल सकिन ६ मिनेट बाँकी हुँदा हामीलाई ३–२ को अग्रता दिलाए। हामी यतिबेला विश्व च्याम्पियन बनिसकेका थियौं। हामी विश्वकप खेल्न पहिले मेक्सिको पुगेका थियौ र फर्कियौ विश्वकप ट्रफी बोकेर अन्तिममा। 

डिएगो म्याराडोनाको आत्मबृतान्त ‘म डिएगो हुँ’ बाट- ‘भगवानको हाते गोल’

यो पनि हेर्नुहोस्

अन्तर्राष्ट्रिय स्टार खेलाडी–१  जसले फुटबल खेल्न सिनेमा हल अगाडि चना बेचे
प्रकाशित मिति: : 2020-07-23 05:30:00

प्रतिकृया दिनुहोस्