आइतबार, २८ डिसेम्बर २०२६

जसले फुटबल खेल्न सिनेमा हल अगाडि चना बेचे

News Image
• • •

अन्तर्राष्ट्रिय स्टार खेलाडी–१ 
पेलेको जीवनीबाट  

ट्रेस कोराकोएसको एउटा गरिब बस्ती, जहाँ मेरो जन्म २३ अक्टोबर १९४० मा भयो। मेरा पिता डोनडिन्हो निकै परिश्रमी थिए। उनको फुटबलमा ठूलो लगानी थियो। फ्लुमिनेन्सबाट उनले क्लबस्तरको फुटबल पनि खेले। आफ्नो परिवारको हेरचाहका लागि उनले चाडै नै फुटबलमोह परित्याग गरे। 

पेलेको जन्मस्थान


मेरी आमा मारिया सेलेस्टी आरान्तेस परिपक्व महिला थिइन्। उनी मलाई खेलाडीका रुपमा भन्दा पनि राम्ररी पढेर वकिल अथवा डाक्टर बनेको हेर्न चाहन्थिन्। त्यतिबेला उनको त्यो विचार जायज पनि थियो। किनभने सुरुका दिन मेरो पिता मजदुरी गर्नुका साथै फुटबल पनि खेल्थे। तर, त्यसले हाम्रो परिवारको आर्थिकस्थितिमा खासै सुधार ल्याएको थिएन। 

सायद बाल्यकालमा पिताजीसँग फुटबल हेर्न जादाँ जादाँ म यस खेलतर्फ आकर्षित भएछु क्यार! तर, सानोमा न मसँग फुटबल किन्ने पैसा थियो, न मेरो पितासित मेरो लागि फुटबल किनदिने औकात नै। 

मेरी आमा मारिया सानोमा म फुटबल खेल्न गएको रुचाउन्नथिन्। तर, मलाई फुटबल नखेली नहुने। हाम्रै घरदेखि केही पर छिमेकका धनीका छोराहरू फुटबल खेल्थे। मलाई त्यति बेलाको एउटा घटना धमिलो याद छ। म निकै उत्साहीत भएर उनीहरूसँग खेल्न दौडिन्थे। 

तर, त्यहाँ मेरो गरिबीको मजाक उडाइन्थ्यो। खेल्न त के बल छुन पनि दिदैन्थ्यो। सायद त्यतिबेला म ५–६ वर्षको थिएँ होला! मैले फुटबल भनेर पहिलो ‘किक’ आफैंले बनाएको कागज र झुम्राको पोको बनाएर हिर्काएको थिएँ। त्यतिबेला मसित फुटबल खेल्ने कोही थिएन। घरको अगाडि एक्लै अभ्यासमा रमाउँथे। सोचमग्ने हुन्थेँ। बललाई छलाउँदै गोल गर्दा कति मज्जा आउथ्यो होला? अहिले सम्झदा खुब हाँसो लाग्छ।

पढ्नका लागि स्कुल जाँदा र फर्कदा बाटोमा देखिने भीडमा म फुटबल कटाइरहेको हुन्थेँ। त्यो वास्तवमै रमाइलो क्षण थियो। बलको पोकोलाई मानिस भएतिर लैजादै उनीहरूलाई नछुवाइकन छक्काउने कला। बललाई भुइमा नझारी कतिबेलासम्म खुट्टामा राख्न सकिन्छ, त्यतातिर पनि ध्यान जान्थ्यो मेरो। 

१७ वर्षको उमेरमा विश्वकपमा निर्णायक गोल गरेपछि पेले।


मैले फुटबल किन्नका लागि चना बेचेको छु। जुत्ता पालिस गरेको छु। सानै हुँदा एकपल्ट मलाई फुटबल किन्ने इच्छा जाग्यो। अब यसका लागि के गर्ने? मलाई थाहा थियो, मजदुरी गर्ने मेरा पितो त्यो किन्न सक्दैनन्। त्यसैले मैले जुत्ता पालिस गर्न थालेँ। यसले नपुगेपछि सिनेमाहल अगाडि चना बेचेँ। मैले जीवनमा पहिलो फुटबल आफ्नै मेहनतले किनेँ। आफ्नै परिश्रमको पैसाले। 

***

सायद म १४ वर्षको थिए। त्यतिबेला स्थानीय क्लबमा मेरो नाम चलिसकेको थियो। त्यसैले घरमा पनि केही सहज वातावरण बन्दै थियो, फुटबल खेल्नका लागि घरमा मेरो प्रिय नाम थियो, डिको। एकपल्ट स्थानीय क्लब बाउरू एसीमा अभ्यासरत रहँदा अचानक वाल्डेमार डे ब्रितो आइपुगे। उनी ब्राजिलको राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक थिए। 

उनले इटालीमा भएको सन् १९३४ को दोस्रो विश्वकप ‘इनसाइड फरवार्ड’ पोजिसनबाट खेलिसकेका थिए। उनी त्यो दिन मेरो अभ्यासबाट निकै प्रभावित भएछन क्यार! मेरो अगाडि आएर सोधे, ‘कति वर्षका भयौ।’ म त्यतिबेला अकमकिएँ। वास्तवमा बाल्डेमार मेरा पिताका घनिष्ठ मित्र पनि थिए। मेरा पिताजी ट्रेस कोराकोएसमा अभागी फुटबल खेलाडीका रुपमा चिनिन्थे। 

म जन्मेको रात उनले सुरुमै मेरो खुट्टा हेरेका थिए रे। त्यतिबेला उनको प्रतिक्रिया थियो– यो भविष्यमा राम्रो फुटबल खेलाडी बन्न सक्छ। यसले राम्रो खेलाडी बन्ने खुट्टा लिएर आएको छ। 

नभन्दै मेरो अभ्यास हेरेपछि वाल्डेमारले मेरा पितालाई भनेछन्, ‘तेरो छोरामा ठूलै प्रतिभा लुकेको छ। एकदिन यसले तहल्का पिट्छ।’ 

मेरो विषयमा वाल्डेमारले आफूले प्रशिक्षण दिने ब्राजिलको धनीमध्येको क्लब सान्तोसमा कुरा चलाएका रहेछन्। उनले चाँडै नै मलाई ट्रायलका लागि क्लब झिकाए। 

करीव १ घण्टा उनकै निगरानीमा मैले सान्तोस क्लबमा ट्रायल दिएको थिए। त्यतिबेला मेरो उमेरका कारण क्लबका महत्वपूर्ण पदाधिकारी पनि खेल हेर्न आएका थिए। वास्तवमा यही क्लबबाट मैले व्यवस्थित र योजनाबद्ध ढंगले प्रशिक्षण लिने सौभाग्य पाएको थिए। यसअघि म आफ्नै बलबुताले फुटबल खेलिरहको थिए। सान्तोस क्लबमा आबद्ध भएपछि मेरो घरको आर्थिक स्थिति पनि केही सुध्रियो। त्यसैले मैले यी सबै सहयोगका लागि वाल्डेमारलाई धन्यवाद दिनैपर्छ। 

***

सन् १९५८ को विश्वकप। स्विडेनको राजधानी स्टकहोममा सम्पन्न छैटौं विश्वकप पूर्व ब्राजिलमा विश्वकप टोलीको घोषणाको तयारी भइरहेको थियो। म त्यतिबेला छट्टी मनाउन घर फर्केको थिए। किनभने मलाई थाहा थियो, मेरो छनोट असम्भव छ। 

म १६ वर्षे फुच्चे केटो, त्यसमा पनि त्यतिबेला ब्राजिलियन टोलीमा अनुभवी र एक सय एक नाम चलेका खेलाडी थिए। घरमा एक्लै रेडियो बान्डेरान्तेस सुनेर बसिरहेको बेला एउटा समाचारले मलाई आकर्षित गर्‍यो– विश्वकपका लागि ब्राजिलियन टोलीको छनोट।

म जुरुक्क उठे। र, कानमा रेडियो थापे। सुरूमै मैले आफ्नो छनोटको सम्भावना हापे पनि ‘अब सुन्नुहोस् विश्वकपमा छनोट भएका खेलाडीहरूको नाम’ भन्दा मेरो शरीर कामिरहेको थियो। शरीर चिसो हुँदै थियो। म समाचारमा उद्धृत कुनै पनि नाम छुटाउन चाहदिनथे। त्यसैले ध्यान दिएर समाचारमा टाँसिरहे। 

समाचारवाचकले चिरपरिचित अन्दाजमा ल्याटिन लेग्रो तान्दै करायो– विश्वकपका लागि छनोट भएको खेलाडीहरु यसप्रकार छन्– कास्टिल्हो...गिलमार...दाज्लामा सान्तोस.........निल्टोन सान्तोस....माजोला...पेले...। 

मैले आफ्नो नाम राम्रोसँग सुनिनँ। मलाई सुरुमा हो कि होइन जस्तो लाग्यो। म अझै रेडियो नजिक पुगेँ। फेरि नाम दोहोरियो। कास्टिल्हो....गिलमार...दाज्लामा सान्तोस....निल्टोन सान्तोस....माजोला.....पेले।

म पुरै नभर्स थिएँ। त्यतिबेलै मेरी आमा कोठाभित्र प्रवेश गरिन्। र सोधिन, ‘के भयो तिमीलाई?’

म पुरै पुलकित थिएँ। मेरो दात कामिरहेको थियो, ‘आमा, मलाई ब्राजिलियन टोलीको छनोटका लागि छानिएको छ।’ 

सायद मेरो पहिलो कुरा मेरी आमाले बुझिनन्। मैले फेरि सुनाए, ‘बुझ्नुभएन आमा, मलाई ब्राजिलको विश्वकप टोलीको छनोटमा डाकिएको छ।’

मलाई लाग्यो, अझै उनले मेरो कुरा बुझन सकिनन्। एक्कासी मेरी आमाले मलाई नजिकै बोलाउदै भनिन्, ‘खोई तिम्रो निधार छामौं। मलाई लाग्छ, तिमीलाई त्यति सन्चो छैन।’ 

मैले सपनामा पनि सोचेको थिइनँ, यति छिटो विश्वकप खेल्छु भनेर। तर, मलाई सबैले हौस्याइरहे। सायद विश्वकप खेल्दा मेरो उमेर १७ वर्ष थियो। त्यसैले सबै मलाई हौस्याइरहेका थिए। 

वास्तवमा राष्ट्रिय टोलीमा मेरो पहिलो आगमन एक वर्ष अगाडि नै सन् १९५७ मा भइसकेको थियो। मेरो पहिलो अन्तर्राष्ट्रिय खेलको याद अझै मसँग ताजै छ। त्यो ७ जुलाई १९५७ थियो। म पहिलोपल्ट राष्ट्रिय टोलीसँगै मैदानमा थिएँ। 

त्यो क्षण म निकै खुसी थिएँ, केही नर्भस पनि। खेल्न मैदानमा उत्रिनुपूर्व मेरो मुटुको धड्कन यति तीव्रसँग ढुकढुक गरिहेको थियो। लाग्थ्यो, यो मुटुबाट निस्किन्छ कि। 

त्यो खेल अर्जेन्टिनाविरुद्ध थियो। खेल्नुपूर्व मलाई थुप्रै सिनियर खेलाडीले अर्जेन्टिनाका गोलरक्षकको तारिफ गर्दै सुनाएका थिए, ‘यसलाई गोल हान्न असम्भव छ।’ हुन पनि अर्जेन्टिनी गोलरक्षकको त्यतिबेला ठूलै प्रतिष्ठा थियो, विश्वभरि नै। गठिलो जिउडालका उनी वास्तवमै पोस्टअगाडि बहादुर देखिन्थे। तर, आफ्नो पहिलो खेलमै मैले गोल गरेँ, त्यो पनि तीनै गोलरक्षकविरुद्ध। यद्यपी हामीले यो खेल २–१ ले हार्‍यौं। १७ वर्षको उमेरमा मलाई १९५८ को विश्वकपमा मौका दिनुको कारण पनि यही खेल हुनुपर्छ। 

सन् १९५८ को विश्वकपमा मलाई स्थान दिए पनि म पहिलो रोजाइमा थिइनँ। पहिलो रोजाइका अतिरिक्त टोलीको पनि अतिरिक्तमा मलाई स्थान दिइएको थियो। त्यतिबेला मेरो उचाई १ दसमलव ६८ मिटर मात्र थियो, निकै होचो। हुर्कँदो उमेर सामान्य चोट बोकेर त्यहाँ गएका कारण पनि यो विश्वकप खेल्ने कुरामा म कमै आशावादी थिएँ। तर, हाम्रो टोलीमा एक चिकित्सक थिए, हिल्टन गोस्लिङ। उनी जहिल्यै मलाई हौस्याइरहेका हुन्थे। र , भन्ने गर्थे, ‘दिनहुँ हलुका अभ्यास गर। दोस्रो वा तेस्रो खेलमा तिम्रो मौका आउँछ।’ नभन्दै उनको भविस्यवाणी ठिक सावित भयो।

 

सोभियत संघविरुद्धको तेस्रो खेलमा मलाई ‘प्लेइङ सेट’ मा स्थान दिइयो। त्यतिबे ला सोभियत संघलाई उपाधि दोबेदारको रुपमा हेरिएको थियो। हाम्रो टोलीमा मारियो जागालो, भाभा, डिडी र गारिन्चाजस्ता चर्चित खेलाडी थिए। तर, कालो र सानो कदको म मैदानमा पहिलो पल्ट प्रवेश गर्दा रंगशालामा आएका सबै जना चकित परे। किनभने १० नम्बरको ख्यातिप्राप्त जर्सीको नम्बर मेरो जिउमा थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!