वीरगञ्जमा निजी अस्पतालकाे चरम लापरवाही, भर्ना लिन नमान्दा दुईदिनमै ५ जनाले गुमाए ज्यान

वीरगञ्जका अस्पतालले मानवता नै बिर्सिएर सिकिस्त बिरामीहरूको उपचार नै गर्न छाडेपछि दुईदिनयता ५ जना बिरामीको मृत्यु भएको छ। निजी अस्पतालले भर्ना नलिएपछि उपचारका लागि डुलाउदा डुलाउदै बिहीबार दुई, शुक्रबार एक र शनिबार दुईजना बिरामीको ज्यान गएकाे हाे।

बिहीबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज ११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको ज्यान गएकाे थियाे भने साेही दिए २० वर्षीय युवतीकाे नारायणी अस्पतालमा मृत्यु भएकाे थियाे। यस्तै शुक्रबार वीरगञ्ज ३ छपकैया एक वृद्धकाे पनि मृत्यु भएकाे थियाे।

ती दुई घटना सेलाउन नपाउँदै शनिबार छपकैया निवासी २० वर्षीय बिष्णु लामा र वीरगञ्ज महानगरपालिका १३ राधेमाई निवासी ६२ वर्षीय शारदादेबी रौनीयार पनि ज्यान गएको छ। 

उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भूजेलका अनुसार मृतक लामालाई तीन दिनदेखि ज्वरो आइरहेको थियो। 

सुरुमा सामान्य औषधीले ज्वरो ठिक भएपनि गएराति १० बजे उनको स्वास्थ्यमा समस्या आएको थियो। तत्काल उनलाई अस्पताल लैजाँदा कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर फर्काइएको थियो। 

ती लामालाई वीरगञ्जको एडभान्स, तराई, भवानी, वयोधा, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले उपचार गर्न नमानेको र नारायणी अस्पताल लिएर जाँदा अस्पतालले अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर लिएर जानुभन्दै फिर्ता गरेको जनता समाजवादी पार्टिका जिल्ला सचिव तबरेज अहमदले बताए। 

‘वीरगञ्ज हेल्थ केयर अस्पताल पुर्‍याउदा कोभिड पुष्टि भएकाहरुको मात्र उपचार हुने भनेर भर्ना लिन मानेनन्। बिरामीको अवस्था बताएर कोभिड अस्पतालका संयोजक डा‍. उदय नारायण सिंहको सहयोगमा गण्डक अस्पतालमा राती २ बजे भर्ना गरेसँगै युवतीको ज्यान गएको हो,’ उनले बिएल नेपाली सँग भने।

राती १० बजे देखि २ बजेसम्म कुनै अस्पतालले भर्ना गर्न नमानेपछि चरम लापरवाहीले ती युवतीले अकालमै ज्यान गुमाउनु परेको जसपामा नेता अहमदले बताए। 

त्यसैगरी वीरगञ्ज महानगरपालिका १३ राधेमाई निवासी ६२ वर्षीय शारदादेबी रौनीयारलाई पनि श्वासप्रस्वासमा समस्या आएपछि आज बिहान अस्पतालमा उपचारकालागि डुलाउदा डुलाउदै मृत्यु भएको छ।

कुनै अस्पतालले भर्न लिन नमानेपछि उजलाई नारायणीको आकास्मिक कक्षमा शनिबार बिहान पौने ११ बजे भर्ना गरे लगतै मृत्यु भएको मेडिकल सुपरीटेण्डेन्ट डा‍. मदन उपाध्यायले बताए।

मृतक रौनीयारको कोरोना परीक्षणको लागि आज स्वाब संकलन गरिएको उनले जानकारी दिए। कोरोना संक्रमणको कारण वीरगञ्जमा निषेधाज्ञा जारी भएपछि निजी अस्पतालले कोरोना पुष्टि नभएका अन्य रोगका बिरामीलाई समेत भर्ना लिन छाडेको छ। 

शुक्रबार पनि वीरगञ्ज ३ छपकैयामा मधुमेह तथा दम रोगका दीर्घरोगी रहेका ७४ वर्षीय वृद्धलाई स्वास लिन गाह्रो भएपछि वीरगञ्जका विभिन्न निजी अस्पताल घुमाउँदै अन्तमा वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति साढे १ बजे मृत्यु भएको थियो ।

यस्तै बिहीबार मात्रै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज ११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको मृत्यु भएको थियाे। बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण महतोको मृत्यु भएको परिवारजनको भनाइ छ।

साउन २१ गते बुधबार राति दिसामा रगत देखिएको र श्वास लिन समेत गाह्रो भएपछि उनलाई बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो। कोरोना संक्रमण नभएको पुष्टि हुने कागज देखाउँदा समेत  संक्रमितको आशंकामा नेशनलले बिरामीको भर्ना लिन नमानेको मृतकका परिवारकाे भनाइ छ।

यता कोरोना संक्रमण भएर पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएकी २० वर्षीया युवतीले पनि समयमै उपचार पाएकी थिइनन्। 

चार–पाँच दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ती युवतीलाई उपचारको लागि समयमा अस्पताल नल्याइएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदालैजाँदै समयमा उपचार हुन नपाई मृत्यु भएको थियो। 

बिरामीकाे उपचार नगरि फिर्ता पठाए कारबाही गर्छाैँ: प्रजिअ कार्की

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले निजी अस्पतालले बिरामी भर्ना नलिएको गुनासो आएपछि सबै अस्पताललाई कोरोना बाहेक अन्य रोगका बिरामीलाई उपचार गर्न निर्देशन दिएको र निर्देशनको अटेरी गर्नेलाई कार्वाही गरिने बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पतालहरुलाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरि नफर्काउन निर्देशन समेत दिएको थियो। स्थानीय प्रशासनको निर्देशनसमेत यहाँका निजीअस्पतालहरुले अटेर गर्दै आएका छन्।

वीरगञ्ज सङ्घ सरकार मातहतमा रहेको उपक्षेत्रीय स्तरको नारायणी अस्पतालबाहेक एउटा शिक्षण अस्पतालसहित एक दर्जनभन्दा बढी निजी अस्पताल रहेका छन्। निजी अस्पतालले ज्वरो, रुघाखोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै गर्न नदिने गरेका छन्। 

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना नै निकालेर निजी अस्पताललाई निर्देशन दिँदै निर्णयको बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलबाड गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिसकेकाे उनले बताए।

 

प्रकाशित मिति: : 2020-08-08 14:20:42

प्रतिकृया दिनुहोस्