सहस्राब्दीकी रानी र पत्रकारिताको भविष्य गेभिनसन

नारी शक्ति

११ वर्षको खेल्नेकुदने उमेरमा हामीले आफ्नो करिअर स्थापना गर्ने कल्पना त टाढाको कुरा, फेशन सम्बन्धि ज्ञान पनि हुँदैन। अविभावकले जस्तो लुगा किनिदिन्छन्, हामी त्यहीँ लगाउन बाध्य हुन्छौं। अलि परिपक्व र बुझ्ने भएपछि मात्र हामीलाई फेशनको बारे थाहा हुन्छ। तर, ११ वर्षको कलिलो उमेरमा विश्वको प्रसिद्ध फेसन ब्लगर बन्न सफल भएकी थिइन, अमेरिको सिकागो निवासी तवी गेभिनसन। जसले फेशनलाई आफ्नो करिअर मात्र बनाइनन्, यसबाट नाम र पैसा उतिकै कमाएकी छिन्।

हाल उनको उमेर २४ वर्ष पुगेको छ। गेभिनसनले १२ वर्षको हुँदा सन् २००८ मा पहिलोपल्ट 'स्टाइल रुकी' भन्ने फेशन ब्लग सुरू गरेकी थिइन। जसमा स्पन्की आउटफिटमा उनले हालेका फोटो र सेल्फीहरु निकै प्रसिद्ध भए। ब्लग सुरु गरेको केही दिनभित्रै उनलाई एकै दिन ३० हजार पाठकले चित्रित गरे। बिस्तारै उनको यो ब्लग प्रसिद्ध भयो। अहिले उनलाई विश्वभरिका फेशन पारखीले फलो गर्ने गर्छन। 

विशिष्ट पोशाकको फोटो र नवीनतम फेशन ट्रेन्डमा उनको केमेन्ट्रीले निकै प्रभावशाली हुन्छ। त्यसैले उनी सबैलाई मोहित पार्न सफल भएकी छिन। 
गेभिनसनको जीवनमा अहिले थुप्रै परिवर्तन आएको छ। उनलाई हिजोआज विश्व चर्चित फेशन सो न्युयोर्क र पेरिस फेशन वीकमा सम्मिलित हुन निमन्त्रणा आइरहन्छ। 

उनी हार्परको बजारका साथै बारनेस डटकमको लागि पनि लेख तयार पारछिन्। उनको फेशन ट्रेन्ड प्रतिको ज्ञान र खोजीले मानिसमा गहिरो छाप छोडेको छ । उनी विभिन्न शर्ट र ड्रेस डिजाइन पनि आफै गर्छिन्। आफू जस्ता अन्य युवा डिजाइनरलाई प्रेरित गर्ने उनको मानवीय पक्षको अन्तर्राष्ट्रिय मिडियाले खुलेर प्रसंसा गरेका छन्। 

यहूदी परिवारमा जन्मिएकी गेभिनसनको सिर्जनालाई रोडर्टे जस्तो अन्तर्राष्ट्रिय ख्याति प्राप्त फेशन हाउसले निकै चासो राख्ने गरेको छ। 

केही फेशन हाउससँग जोडिए पनि उनले यसलाई आफ्नो पुरै करिअर बनाइनन्। उनी हाल पत्रिका प्रकाशन गर्छिन। 

२०११ मा गेभिनसनले किशोरीहरूको लागि 'रुकी' पत्रिका स्थापना गरिन्। जसले महिनामा ३ दशमलव ५ लाख हिट पाएको थियो । उनको परिचय अहिले पत्रिकाको सम्पादक, लेखक साथै अभिनेत्रीको बन्न पुगेको छ। 

किशोरी हुँदा उनले फेशनलाई आफ्ने करिअर बनाउने कुरा गर्दा बुबा त्यति खुसी थिएनन्। तर समय बित्दै गएपछि उनले गरेको प्रगति र मिडियामा आएको उनको अन्तर्वार्ता पछि बुबाले पनि गर्व गर्न थाले। 

कुनै समय थियो, जतिबेला युवतीहरू फेशनको कुरा सोसल मिडियामा पढ्न चाहन्थें। यति नै बेला गेभिनसनले आफ्नो ब्लगमार्फत फेशनप्रति लगाव राख्ने युवायुवतीसँग जोडिन पुगिन। अहिले पाठक र उनीबीचको गाँठो झन् बढी मजबुत भएको छ। 

इन्टरनेट र ब्लगलाई जीवन बनाएकी गेभिनसनले लोकप्रिय संस्कृतिको विषयलाई लिएर महिलाको प्रतिनिधित्व गर्दै सन् २०१२ को टीईडीएक्सटिनमा पनि बोलेकी थिइन। २०१२ मा उनले द इकोनोमिस्ट्स वर्ल्ड फेस्टिवलमा भाग लिएर सबैको ध्यान खिच्न सफल भएकी थिइन। उनी ग्यारेज पत्रिकामा सम्पादकको भूमिकामा छिन्। नोभेम्बर २०१८ मा आर्थिक रूपमा दिगो नभएकोले उनले रूकी पत्रिकालाई बन्द गर्ने घोषणा गरेकि थिइन।

उनले २००८ मा फर्स्ट बोस नामक छोटो फिल्ममा अभिनय गरिसकेकी छिन्। तर २०१२ देखि भने उनी धेरै जसो अभिनय र विभिन्न अन्तर्वार्तामा देखा पर्न थालिन्। त्यो वर्ष उनले एनिमेटेड छोटो फिल्म कडाभरमा एक चरित्र आवाज गरेकी थिइन। जुन ओस्कार पुरस्कारमा मनोनित भएको थियो। त्यसैगरी इनाफ सेड, द पंक सिङ्गर, दिस इज आवर युथ सिकागो, द कोर्ट थिएटर अन ब्रोडवे, बिअवेर अफ यङ गर्ल्स, स्क्रिम कुइन्स, द क्रुसीबल, द चेर्री ओर्चार्ड लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।

सन् २००९ मा एउटा फेशन विकमा भाग लिने क्रममा उनले भनेकी थिइन, ‘सधैभरि कम्प्युटर स्क्रिनको अगाडी मात्र बसेर हुँदैन। मैले सयौं फेशनसँग जोडिएका मानिस र प्रख्यात व्यक्तिलाई भेटेको छु। एकपटक तपाईं फेशन दुनियाको ढोकाबाट भित्र पस्नुभयो भने तपाईंसँग प्राविधिक रूपमा पहुँच बन्छ। अन्ना विन्टर, क्याथी होरिन, ग्रेस कोडिङ्टन जस्ता विशिष्ट व्यक्ति  त्यहीँ थिए र म साह्रै डराएको थिएँ। जब मैले आफ्नो परिचय दिएँ।’ 

२०१२ मा अमेरिकी राष्ट्रपतिको चुनाव अभियानको बेला उनले डेमोक्र्याट उम्मेदवार बराक ओबामालाई समर्थन गरेकी थिइन र महिला अधिकारका लागि सार्वजनिक सेवा घोषणामा देखा परिन। उनले १४ वर्षीया पाकिस्तानी मलाला यूसुफजाई, जसलाई शिक्षा अधिकारको लागि अभियान चलाइएको कारण अक्टोबर २०१२ मा गोली लागेको थियो. उनको लागि 'गेट वेल सुन' कार्ड ड्राइभको आयोजना गरेकी थिइन ।  

गेभिनसनलाई सहस्राब्दीकी रानी र पत्रकारिताको भविष्य भनेर पनि बोलाइन्छ । मात्र १९ वर्षको हुँदा उनले महत्वपूर्ण पुस्तक पिरेली क्यालेन्डरका लागि पोज गरेकी थिइन भने चार पुस्तकहरू प्रकाशित गर्नुका साथै आफ्नो पुस्ताको आवाज बन्न पुगेकी थिइन। 

उनको यो सफलताबाट धेरै कुरा सिक्न सकिन्छ। त्यसैले भन्ने गरिएको छ–सफलताका लागि उमेरले खासै महत्व राख्दैन। 

नारी शक्ति श्रृंखला

नारी शक्ति श्रृंखला ४. १४ वर्षको उमेरमा सफल उद्यमी
नारी शक्ति श्रृंखला २.जसको हठले विश्व तरंगीत भयो
नारी शक्ति श्रृंखला १.मलालालाई अग्रिम शुभकामना​
प्रकाशित मिति: : 2020-08-25 06:30:00

प्रतिकृया दिनुहोस्