शनिबार, १२ जुलाई २०२५

एउटा बन्दागोभीले बदलिएको दृष्टिकोण

News Image
• • •

बलिउडका चर्चित कलाकार अनुपम खेरको एउटा चर्चित टेलिभिजन कार्यक्रम छ, जसको नाम हो, ‘कुछ भी हो सक्ता हैं’ अर्थात ‘केही पनि हुन सक्छ’। 

उनी आफ्नो कार्यक्रममार्फत ‘असम्भ लाग्ने कुरा कसरी सम्भव भयो’ भन्ने देखाउन तल्लीन हुन्छन्। आफ्नो दर्शकहरूलाई प्रेरणा दिन बनाइएको यो कार्यक्रमको पटकथासँग यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनामा बसोबास गर्ने २१ वर्षीय एक युवती केटी स्ट्यागलियानोको कहानी धेरै हदसम्म मिल्दो देखिन्छ। 

केटी ९ वर्षकी थिइन, जुन बेला उनले आफ्नो परिवारले ल्याएको बन्दागोभीको सानो बिऊ फेला पारिन्। उनले गोडेको त्यो बिऊबाट ४० पाउण्डको बन्दागोभी फलेपछि सानो उमेरमै जीवनलाई हेर्ने उनको दृष्टीकोणमा परिवर्तन आयो। यो सन् २००८ को कुरा हो। उनी यतिबेला तीन कक्षामा पढ्दै थिइन। 

उनले आफूले उत्पादन गरेको त्यो बन्दागोभी स्थानीय प्रशासनलाई उपलब्ध गराइन्। उनको त्यही एउटा बन्दागोभीले भोक र अभावबाट पिडित २ सय ७५ जनाको पेट भरिएको थियो। 

एउटा बन्दाले यति धेरै मानिसको पेट पाल्न सहयोग गर्छ भन्ने कुराको आत्मज्ञान त्यो एउटै घटनाबाट प्राप्त गरेपछि उनको जीवनमा नयाँ तरंग उत्पन्न भयो। उनको बाल मस्तिष्कले सोच्यो, ‘एउटै बन्दाले त यति धेरै मानिसको पेट पाल्न सकिन्छ भने ठूलो बगैंचामा उत्पन्न भएको तरकारीले कति मानिसलाई खुवाउन सकिएला?’ 

उनको यही सोचले ‘केटी’स क्रोप्स’ नामक एक गैर नाफामूलक संस्थाको जन्म भयो। यो संस्थाले सबै आकारका तरकारी बगैंचामा फलाउने तथा खाँचो परेका मानिसलाई खाधान्न सहयोग गर्नुका साथै युवालाई सशक्तीकरणको अभियानमा लाग्न उत्प्रेरित गर्ने गर्छ।

 

यसले थुप्रै बालबालिकामा तरकारी बगैंचाको अवधारणा विकास हुन थालेको छ। 

उनले स्थापना गरेको ‘केटी’स क्रोप्स’ को अमेरिकामा ३० भन्दा बढी राज्यमा शाखा विस्तार भइसकेको छ भने सय भन्दा बढी युवाहरू बगैंचामा आधारित खेती गर्छन। खाधान्नको अभाव भएका सयौं परिवारलाई युवाहरू संलग्न बगैंचे खेतीले हजारौं पाउण्ड बराबरको तरकारी निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ। यसका लागि ‘केटी’स क्रोप्स’ ले आधुनिक बगैंचे खेतीको शिक्षा युवाहरूलाई दिँदै आइरहेको छ। अझ भन्नु पर्दा, सबै सिजनमा बगैंचे खेती कसरी गर्न सकिन्छ भनेर प्राविधिक ज्ञान उपलब्ध पनि गराउँछ। यसमा बिऊलाई कसरी सुरक्षित राख्ने भन्ने कुराको पनि बृहत छलफल हुने गरेको छ। 

हाल ‘केटी’स क्रोप्स’ को अध्यक्षको हैसियतले केटीकी आमा स्ट्यासी स्ट्यागलियानो सक्रिय छिन्। केटी स्नातकको पढाई पुरा गर्ने अभियानमा छिन्। त्यसैले उनले आफ्नो अभियानमा आमालाई सक्रिय बनाएकी हुन्। पढाई पुरा गरेपछि पुनः पुरानो जिम्मेवारीमा फर्किने उनको इच्छा छ। 

केटी सानैदेखि मिहिनेती र लगनशील थिइन। उनले किशोरी अवस्थामै थुप्रै पुरस्कार जितिसकेकी थिइन। उनलाई अमेरिकाको १० शीर्ष युवा स्वयंम सेवकको सूचीमा पनि राखिएको छ। 

उनलाई ‘द प्रुडेन्सल स्पिरिट अफ कम्युनिटी अवार्ड’ बाट सम्मानित गरिसकेको छ। यस्तै, विश्वव्यापी किशोर–किशोरी नेताहरूको प्रयासलाई मान्यता र समर्थन गर्न आयोजना हुने ‘थ्री डट ड्यास’ को लागि उनी सम्मानित भइसकेकी छिन्। 

उनले सन् २०१२ मा नागरिकका लागि दिइने ‘क्लिन्टन ग्लोबल सिटिजन अवार्ड’ सबैभन्दा कम उमेरमा प्राप्त गरेकी थिइन्।  

उनको कामको विश्वव्यापी प्रसंसा भएको छ। अमेरिकाको चर्चित पत्रिका ‘पिपुल म्यागजिन’, ‘युएस टुडे’, ‘बेटर होम’ र ‘गार्डन कन्ट्री गार्डेन’ मा उनको कभर पेजमा तस्वीर प्रकासित भइसकेको छ। उनको कथालाई लिएर एउटा छोटो वृत्तचित्र ‘द स्टारफिस थ्रोअर्स’ निमार्ण भइसकेको छ। उनले बालबालिकाका लागि आफ्नो जीवनीमा आधारित ‘केटी’स काबेज’ किताब पनि प्रकासित गरेकी छिन्। 

उनी डाक्टर फ्रेसद्धारा वितरण गरिएको टुथब्रस ‘इको फ्लाई’ कि डिजाइनर पनि हुन्। उनलाई पौडी खेल्न असाध्य मन पर्छ। उनी आफू अध्ययनरत विश्वविधालयकी कहलिएकी पौडी खेलाडी पनि हुन्। 

एक अन्तर्वार्तामा केटीले भनेकी छिन्, ‘म हाम्रो युवा उत्पादकहरूले खानाका लागि संघर्ष गरिरहेका व्यक्तिको जीवनमा प्रभाव पार्न सफल भएकोमा गर्व गर्दछु।’ केटी पछिल्लो १२ वर्षको अन्तरालमा आफ्नो संस्थाले हजारौं गरिब तथा भोका मानिसको जीवनमा परिवर्तन ल्याएकेको बताउँछिन् तर उनी आउँदो १० वर्षमा अझै चुनौतिको सामना गर्नुपर्ने स्पष्ट पार्छिन। 

जनसंख्याको बढ्दो चापका कारण निश्चित रूपमा आउँदो १० वर्षमा उनले भनेझैं थुप्रै चुनौतिको सामना गर्नुपर्ने देखिन्छ। तर, उनले यसबाट लड्न अहिलेदेखि नै नयाँ–नयाँ योजना अगाडि सारिसकेकी छिन्। उनी बगैंचामा तरकारीका साथै फलफूल लगाउने अभियानमा युवाहरूलाई उत्प्रेरित गरिरहेकी छिन्। साथै निर्जीव मैदानमा तरकारी बगैंचा बिस्तार गर्ने योजनामा छिन्। 

भन्छिन्, ‘कलेजमा पढेको ज्ञानलाई संस्थामा प्रयोग गर्ने अभियानमा छु। म भोक र अभाव जस्ता समस्यालाई जरैदेखि उखेलेर फ्याल्न चाहन्छु। मलाई लाग्छ, हामी सबै मिलेर काम गर्ने हो भने यो असम्भव छैन। यसैले म विशेष गरेर युवाहरूलाई प्रेरित गरिरहेकी छु।’

९ वर्षको उमेरमा केटीले सुरु गरेको अभियान अमेरिकामा लोकप्रिय भइसकेको छ। यसमा थुप्रै युवाहरू संलग्न हुन थालेका छन्। यसको प्रभाव विश्वव्यापी बनिरहेको अवस्थामा नेपालमा भने कसले सुरु गर्ने हुन्, यो सबैका लागि कौतुहलको विषय बनेको छ। 

नारी शक्ति श्रृंखला

नारी शक्ति श्रृंखला ४. १४ वर्षको उमेरमा सफल उद्यमी
नारी शक्ति श्रृंखला २.जसको हठले विश्व तरंगीत भयो
नारी शक्ति श्रृंखला १.मलालालाई अग्रिम शुभकामना​
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?