दिदीबहिनीको अनसनले फेरिएको वालीको रूप (भिडियो)

मेलाती र इसाबेलले स्थानीय जनताको ध्यान खिच्न सन् २०१६ मा भोक हडताल गर्ने घोषणा गरेका थिए

 नारी शक्ति–३ 

मेलाती र इजाबेल विजसेनको सानो प्रयासले विश्वमै सर्वाधिक पर्यटक भित्रिने इन्डोनेसियाको वालीमा क्रान्ति ल्याएको छ। उनीहरूले इन्डोनेसियालाई प्लास्टिक मुक्त बनाउन ‘बाई–बाई प्लास्टिक’ अभियान नै चलाएका छन्। जुन अभियान अहिले विश्वब्यापी बनिसकेको छ। सन् २०१३ मा १३–१० वर्षको हुँदा यी दिदीबहिनीले वालीलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु गरेका थिए। सन् २०१६ मा उनीहरू भोक हडतालमै बसेका थिए। उनीहरूको यो प्रयासले वालीमा थुप्रै परिवर्तन देखिएको छ। मेलातीलाई हालै सम्पन्न विश्व आर्थिक फोरममा आमन्त्रित वक्ताको रूपमा निम्तो गरिएको थियो।

हुनत उनीहरू अहिले पनि त्यति ठूला भइसकेका छैनन्। तर जति बेला उनीहरू निकै साना थिए, स्कुलमा भारतका अहिंसावादी नेता महात्मा गान्धी तथा दक्षिण अफ्रिकाका नेल्सन मण्डेला र बेलायतकी पूर्वराजकुमारी डायनाको प्रेरित व्यक्तित्व पढेर लोभिएका थिए। 

दिदी मेलाती विज्सेन भर्खरै २१ वर्षमा टेकेकी छिन्। १७ वर्षकी उनको बहिनी इसाबेल आफ्नो किशोर अवस्थाबाट बाहिरिएकी छैनन्। तर, उनीहरूको दिमागमा आफ्नो गाउँठाउँ मात्र होइन, देश हुँदै विश्व नै सफा राख्ने पागलपना चढेको छ। 

सन् २०१३ देखि उनीहरूले इन्डोनेसियाको वालीबाट सुरु गरेको ‘बाई–बाई प्लस्टिक ब्याग’ अभियान अहिले देशव्यापि मात्र नभई विश्वले पनि गहिरिएर हेर्न थालेका छन्। दिदी मेलाती आफूहरूको त्यो परिकल्पनाको विषयमा भन्छिन्, ‘म र मेरो बहिनी एक दिन स्कुलबाट फर्किदा सोच्न मग्न भयौं, हामीले वालीलाई कसरी सुन्दर बनाउन सक्छौं?’ 


वालीको स्थायी वासिन्दा भएका कारण यो स्वभाविक पनि थियो, पहिले घरको विषयमा सोच राख्नु। सानै उमेरमा परिवर्तनको सोच राख्ने विज्सेन दिदीबहिनीका लागि समस्या खोज्न टाढा जानु परेन। उनीहरूकै अगाडि समुन्द्रको किनारमा फ्याकिएको अनावश्यक फोहोर र प्लास्टिकको डुग्रो थियो। जसले विश्वमा सर्वाधिक पर्यटक आउने टापुलाई प्रदूर्षित मात्र होइन, कुरुप पनि बनाएको थियो। 

उनीहरूले यहीबाट आफ्नो अभियानको सुरुवात गरे। जतिबेला उनीहरूले यसको सुरुवात गरेका थिए, मेलातीको उमेर १२ वर्ष थियो। इसाबेल १० वर्ष टेक्दै थिइन। यति सानो उमेरमा ‘बाई–बाई प्लास्टिक ब्याग’ लेखेको टिसर्ट लगाएर वालीको सफाई अभियानमा उनीहरू उत्रिँदा प्रायः सबै स्थानीयले जिस्क्याउने गर्थे। थुप्रै पल्ट बिल्ला पनि बनाएका थिए। तर, उनीहरू अनवरत आफ्नो अभियानमा लागे। 

यसैको प्रयास हो, अहिले उनीहरू विश्वजगतका लागि प्रेरणा बनेका छन्। मेलाती र इसाबेलले स्थानीय जनताको ध्यान खिच्न सन् २०१६ मा भोक हडताल गर्ने घोषणा गरेका थिए। उनीहरूको त्यति बेलाको उद्देश्य थियो, ‘बाई–बाई प्लास्टिक ब्याग’ अभियानमा वालीका तत्कालीन गभर्नर आईमेड मङ्कु पस्तिका सकारात्मक होउन। 

बिहानदेखि बसेको भोक हडतालले ठूलो काम गर्‍यो। उनीहरूको माग सम्बोधन गर्दै गर्भनर पस्तिकाले २०१८ सम्म वालीबाट स्टाइरोफोम, प्लास्टिक झोला र पराललाई प्रतिबन्ध लगाउने सुझावमा हस्ताक्षर गरे। 

यसले वालीको अनुहार नै परिवर्तन गर्‍यो। ४ वर्ष अघिसम्म वालीमा १४ तल्ला भवन बराबर प्लास्टिकको फोहोर दैनिक उत्पादन हुन्थ्यो र ५ प्रतिशतभन्दा कम प्लास्टिकको झोला पुनप्रयोग गरिन्थ्यो। 

अहिले वालीमा प्लास्टिकको झोला पूर्ण रूपमा प्रतिबन्धित छ। हुनत उनीहरूको अभियान भन्दा अघि ४० देशमा प्लास्टिकको झोलामा प्रतिबन्ध लगाइएको थियो। तर, विश्वको सर्वाधिक पर्यटक थुप्रिने ठाउँमा यो अभियानले सफलता पाउनु चानचुने कुरा पक्कै थिएन। 

उनीहरूले यी सबै कुरा अनलाईनमार्फत खोज गरेर पत्ता लगाएका थिए। गान्धी, मण्डेला र डायनालाई पढ्ने क्रममा नौलो के गर्न सकिन्छ भनेर सोच्न मग्न रहेकै बेला उनीहरूमा बिना लगानी आफ्नो ठाउँलाई कसरी सफा राख्न सकिन्छ भन्ने योजना फुरेको थियो।  

उनीहरू केही साथीको सहयोगले वातावरण मैत्री झोला वितरण गर्न अनलाइन र अफलाइन दुबै मोर्चामा उत्तिकै सक्रिय छन्। उनीहरूको अभियानले अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न सफल भएपछि संयुक्त राष्ट्र संघ र संरक्षणविद् जेन गुडल पनि सहकार्यका लागि उनीहरूसँग जोडिएका थिए। 

सन् २०१७ मा उनीहरू एउटा ट्रेड वार्तामा पनि बसेका थिए। यसमा उनीहरूले समुन्द्री टापुलाई कसरी प्लास्टिक र अन्य प्रदूषणबाट मुक्त गर्न सकिन्छ भन्ने लामो व्याख्या गरेका थिए। उनीहरूको प्रभावकारी योजना सुनेपछि संयुक्त राष्ट्र संघले महासागर दिवसको दिन उनीहरूलाई विश्व समुदायसँग आफ्नो कुरा राख्न निम्तो गरेको थियो। 

उनीहरू वालीको सबैभन्दा ठूलो समुन्द्री क्षेत्र सफा गर्ने आयोजनामा अन्तर्राष्ट्रिय सहयोगमा १२ हजार स्वयम सेवक संलग्न गराउन सफल भइसकेका छन्। 

सन् २०१८ मा टाइम पत्रिकाले विश्वको सबैभन्दा प्रभावशाली २५ किशोर–किशोरीको सूचीमा यिनीहरूलाई समावेश गरिसकेको छ। सन् २०१९ मा मेलाती विज्सेनको जीवनीमा आधारित एक वृत्तचित्र ‘बिगर देन अस’ पनि प्रदर्शित भइसकेको छ। जसलाई फ्रान्सका निर्देशक फ्लोर वासेरले निर्देशन गरेका छन् र मारियोन कोटिल्डले निर्माण गरेका थिए। 

केही समयअघि मात्र मेलातीलाई विश्व आर्थिक मञ्चमा वक्ताको रूपमा आमन्त्रण गरिएको थियो। 

आजभोलि धेरै किशोर–किशोरीको आँखा आइफोन स्क्रिनमा हुन्छ। उनीहरू ट्वीट गर्दै सेल्फी लिन मस्त हुन्छन्। तर, विज्सेन दिदीबहिनीले अहिलेको डिजिटल युगमा पनि आफ्नो आँखा घर वरिपरि थुप्रिएको फोहरमा घुमाए। त्यसैले अहिले वाली चम्किएको छ। र, उनीहरूको अभियानले एकपल्ट फेरि विश्वलाई प्लास्टिक मुक्त गर्ने दिशातर्फ प्रेरित गरेको छ। 

 

यो पनि हेर्नुहोस्

जसको हठले विश्व तरंगीत भयो

मलालालाई अग्रिम शुभकामना​

प्रकाशित मिति: : 2020-07-20 08:55:58

प्रतिकृया दिनुहोस्