अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब सार्वजनिक गरेको छ।
आईसीसीले सोमबार बेलुका सन् २०१९ को तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको हो। आईसीसीले २०१७/२०१८ को तलब एकमुष्टरुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो।
यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो।
आईसीसीले २०१९ को लागि पठाएको तलब ३ दिनभित्रमा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा ट्रान्सफर हुने चन्दले जानकारी दिए।
यस्तै यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरुको तलब १० हजारले बढेर आउनेछ। खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ। जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन्।