काेराेना संक्रमणबाट युएईमा कार्यरत ५ नेपालीकाे मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईमा कार्यरत नेपाली रहेका छन्।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा संजीव सापकोटाका अनुसार  हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको पनि समितिले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन्। नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ।

प्रकाशित मिति: : 2020-09-06 12:23:23

प्रतिकृया दिनुहोस्