म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने एक पुर्पक्षका लागि थुनामा, अन्य आठ रिहा

नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गायक गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।

त्यस्तै, म्युजिक भिडियाे बनाउनमा संलग्न आठ जना भने रिहा भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

'तीन जना १५-१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्य साधारण तारेखमा छुटेका हुन्,' उनले भने।

भदौ १ गते ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट अपलोड भएको थियाे।  

गीतमा 

हे हे बिस्तारवादीको बिस्तारामा सुत्ने !
नेपाली सर्वभौंम  स्वाभिमान ! र स्वाधिनतालाइ लुटने !
पालैपालो सत्ता लुछि देश बेच्ने!
ढालजस्तो ढाकाटोपि!
ब्राजस्तो हिन्दु झन्डा बोकी!
आयातित बिक्रम सम्बत!
राजस्थानको दाउरा सुरुवाल!
खस भाषा खस लिपि लाद्ने !
शरणार्थी बाहुनछेत्री 
पनि तै हो?

जस्ता शव्द प्रयाेग गरिएकाे छ।

यस्तै,
हेहे! होहो शरणार्थी बाहुनछेत्री हो!
हे हे हासी हासी मुलबासिलाइ मासी!
बनाएर आदिवासी जनजाती  !
दलित ,शुद्र ,मतवाली! 

आदि शव्दकाे पनि प्रयाेग गरिएकाे छ। 

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा ‘मंगोल ग्याल्ज ली एन्ड एटीएम’ उल्लेख थियाे।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ। 

यसका साथै भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्वीर पनि जलाइएको छ।

त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको थियो। 

राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

अदालतले यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।

प्रकाशित मिति: : 2020-09-14 17:40:06

प्रतिकृया दिनुहोस्