यूट्यूबमा टिकटक जस्तै सुविधा आउने, भारतमा परीक्षण हुँदै

एजेन्सी

काठमाडौं

यूट्यूवमा टिकटकजस्तै सुविधा आउने भएको छ। यूट्यूबले भारतमा टिकटक बन्द भएपछि आफ्नो नयाँ एपको बेटा संस्करण भारतमा परीक्षण गर्ने घोषणा गरेको छ।

यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ।

भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो।

त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

यूट्यूबको उत्पादन व्यवस्थापनतर्फका उपाध्यक्ष क्रिस जफीले एउटा ब्लगमा सर्ट्सको काम 'मोबाइल फोन मात्रै प्रयोग गरेर मानिसहरूलाई लोभ्याउने छोटा भिडिओ खिच्न खोज्ने सर्जक र कलाकारहरूका लागि'भएको जनाएका छन्।

उक्त नयाँ एपमा भिडिओ क्लिपहरूलाई जोड्न सकिने, गति नियन्त्रण गर्न सकिने, समय तोकेर हातको प्रयोगबिना रेकर्ड गर्न सकिने जस्ता विविध सुविधा छन्।

सर्ट्सले सङ्गीतको प्रयोग गरेर वा गीतको सङ्ग्रहबाट तिनको प्रयोग गर्ने विकल्प दिन्छ।

सर्ट्स थप परिस्कृत भएर नयाँ सुविधाहरू थपिएपछि त्यो अन्य देशका बजारमा पनि विस्तार गरिने जफीले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-15 12:37:32

प्रतिकृया दिनुहोस्