न्यूयोर्कमा सगरमाथा आरोहीले यसरी सम्झिए हिमचितुवालाई

संजोग आचार्य

न्यूयोर्क

विश्वको सर्वोच्च शिखर विना अक्सिजन १०औँ पटक आरोण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको ‘हिमचितुवा’ ७२ वर्षको उमेरमा निधन भएको छ । 

अमेरिकाको न्यूयोर्ककमा बसोवास गर्ने सगरमाथा आरोहीले दुःख ब्यक्त गर्दै हार्दिक समवेदना दिँदै यसरी सम्झिए हिमचितुवाको नामले परिचित आङरितालाई:

आङ ग्याल्जेन शेर्पा — सगरमाथा आरोही

सर्वोच्च शिखर सगरमाथामा बिना अक्सिजन दश पटक आरोहण गर्ने आङरितासँग मेरो दुई पटक भेट भएको छ । निकै सालिन ब्यक्ति धेरै नबोल्ने शेर्पाको सरल स्वभावबा निकै प्रभावित भएको थिए म। 

मैले उहाँलाई सन् १९९६ मा सगरमाथाको क्याम्पमा पहिलो पटक भेटेको थिए। त्यसपछि २०११ मा पनि काठमाडौंमा पनि मेरो भेट भयो । 

विगतमा राज्यबाट उचित सम्मान पाउन नसकेका कीर्तिमानी आरोही आङरितालाई राज्यले राष्ट्रिय सम्मान दिने भन्ने सुनेछु त्यसो भएमा उहाँको योगदानको उचित कदर हुने थियो। 

नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनसँगै नेपालको शिरलाई सगरमाथाजस्तै अन्तराष्ट्रियस्तरमा पहिचान दिलाउन सफल शेर्पा अहिले हामी माझ हुनुहुँदैन भन्ने सुन्दा भने निकै खल्लो लागेको छ ।

मिङमार शेर्पा — सगरमाथा आरोही

राज्यले आङरिता जस्तो विश्व कीर्तिमानी आरोहीको उचित सम्मान अझ पनि गर्न सकेको छैन । त्यसैले पनि कीर्तिमानी आरोही र उहाँका परिवार विदेश पलायन हुन बाध्य छन् । 

विना अक्सिजन सगरमाथा आरोहण गरेका आङरिता जस्ता कीर्तिमानी आरोहीलाई सरकारले गाँस, बास र कपासको प्रबन्ध गरिदिनुपर्दछ । 

राज्यबाट पाउने सुविधामा उनीहरुलाई विशेष छुट दिनु पर्दछ । रोजगार नपाएको खण्डमा बेरोजगार भक्ता, सामाजिक सुरक्षाको प्रत्याभूति पनि हुनुपर्दछ । 

हाम्रो पुस्ताले हिउचितुवासँग काम गर्न नपाएपनि उहाँ सबै आरोहीको प्रेरणाको श्रोत हुनुहुन्छ।  हिमचितुवालाई मृत्यु पछि राष्ट्रिय सम्मान दिएर निश्चित स्थानमा सरकाले सालिक निर्माण गर्नेतर्फ ध्यान दिनु पर्दछ जस्तो मलाई लाग्छ ।

लाक्पा गेलु शेर्पा — सगरमाथा आरोही

आङरितालाई मैले धेरै पटक भेट्ने मौका पाएको छु  । त्यस्ता वीर आरोहीको जन्म एक युगमा एक पटक हुन्छ । 

बिना अक्सिजन दश पटक सगरमाथा आरोहण गरेका हिमचितुवाको कीर्तिमान तोड्न अबका पुस्ताका आरोहीका लागि एउटा सपना मात्र हुनेछ । 

राज्यले सगरमाथा आरोहीलाई उचित सम्मान गर्न सकेको छैन ।त्यसैले थुप्रै आरोही विदेश पलायन हुन बाध्य भएका हुन् । 

राज्यले रोजगार र समाजिक सुरक्षाको उचित प्रबन्ध गरेको भए हामीजस्ता कोही पनि आरोहीलाई विदेशमा बस्नुपर्ने बाध्यता आउने थिएन ।

हिमचितुवा विदेशमा नभएर स्वदेशमानै केही गनुपर्छ भन्ने बिचार भएका एक राष्ट्रभक्त कीर्तिमानी आरोही हुन्। 

उनको निधनको खबरले निकै दुखित बनाएको छ । राज्यले त्यस्ता कीर्तिमानी आरोहीको उचित सम्मान गर्नुपर्छ।

लाक्पानुरु शेर्पा (एलएन) — सगरमाथा आरोही

बिना अक्सीजन सगरमाथा आरोहण गरेका हिमचितुवाको निधनले म स्तब्ध भएको छु । मैले सानो उमेरदेखिन हिमचितुवालाई देखेको थिए । मेरो बुवाको साथी भएकोले ‘अङकल’ भन्ने सम्बोधन पनि गर्थे । 

मेरो सगरमाथा आरोहणको प्रेरणाको श्रोतको रुपमा मैले आङरितालाई लिएको छु । नेपाल सरकारले सगरमाथा आरोहीको उचित सम्मान गर्न नसक्दा धेरै आरोही विदेश पलायन भइरहेका छन् । 

हामीले त्यस्ता कीर्तिमानी आरोहीको पलायनलाई रोक्न सक्नुपर्दछ । राज्यले सगरमाथा आरोहीलाई बीम लगायत रोजगारको उचित प्रवन्ध अझ पनि गर्न जरुरी छ । 

सगरमाथा आरोहीलाई बीमा, रोजगार, भत्तालगायत समाजिक सुरक्षामा सरकारले विशेष ध्यान दिन जरुरी छ । आङरिता जस्तो आरोहीलाई राष्ट्रिय विभूतिसँगै राष्ट्रिय सम्मान दिन सक्नुपर्दछ अनि मात्र हाम्रो देशमा आरोहीको मनोबल उच्च हुन्छ ।

नवाङ निमा शेर्पा — अन्तराष्ट्रिय माउण्टेन गाईड प्रशिक्षक

नेपालको पर्वतारोहण क्षेत्रमा कीर्तिमान आरोही स्व आङरिता शेर्पा राष्ट्रिय भावनाले ओतप्रोत भएका बिवादरहित आरोही हुन् । 

दश पटक बिना अक्सीजन सगरमाथा आरोहण गरेपछि शेर्पाको खोजी अमेरिकामा पनि हुन थाल्यो । त्यसै सिलसिलामा उनी अमेरिका पनि आए । 

अमेरिकाको एउटा बैज्ञानिक टोलिले कसरी बिना अक्सिजन मानव शरिर विश्वको सर्वोच्च शिखर आरोहण गर्न सफल भयो भन्ने खोजको लागि आङरितालाई अमेरिकामा बोलिएका थिए । 

त्यो समय उनले चाहेको भए अमेरिकाको मानार्थ नागरिकता, ग्रिनकार्ड लिन सक्ने थिए, तर त्यसो गरेनन् । पछि भारतले पनि उनलाई तेञ्जिङ नोर्गेजस्तै लोभ्याउने प्रयत्न गर्‍यो । तर, उनले विदेशी नागरिक हुनै चाहेनन् । 

नेपाल पर्वतारोहण संघले आङरिताको राष्ट्रभक्ति र विश्व कीर्तिमानको कदर गर्दै आजिवन भक्ताको सुविधा प्रदान गर्ने निर्णय गर्यो । त्यो समय म पनि पर्वतारोहण संघमा आबद्ध थिए । पछिल्लो समय जेठो छोरा बितेपछि उहाँमा अलि चिन्ता र स्वास्थ्यमा समस्या देखिन थालेको थियो । त्यस्ता राष्ट्रभक्त कीर्तिमानी आरोहीलाई नेपाल सरकारले बाचुन्जेल उचित सम्मान गर्न नसकेपनि मृत्युपछि भने राष्ट्रिय सम्मान सहित राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।

प्रकाशित मिति: : 2020-09-23 11:17:00

प्रतिकृया दिनुहोस्