७ महीनापछि काममा फर्किए न्यूरोडका भरिया

देखापढी

काठमाडाैं

काठमाडौं। रामेछापका रामहरी कार्कीलाई न्यूरोड क्षेत्रमा पछिल्लो केही दिनयता भ्याईनभ्याई छ। विगत १० वर्षदेखि न्यूरोड/महाबौद्धको वटु टोलमा भारी बोक्दै आएका उनी बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन्। 

महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदा रामहरी झण्डै सात महीनादेखि कामविहीन बनेका थिए। 

“महामारीका कारण झण्डै ७ महिना सुकेको न्यूरोड र महाबौद्ध क्षेत्रको व्यापार दशैंका कारण विस्तार उठ्न थालेको छ”, उनले भने, “म र मेरा साथीहरूले यतिबेला राम्रै काम पाएका छौं।”

महाबौद्ध र आसपासका होलसेल व्यापारीले दशैंको सामान भित्र्याइरहेका छन्। साथै, उनीहरूले उपत्यकाबाहिरका व्यापारीलाई सामान पनि बिक्री गरिरहेका छन्। 

विगतका वर्षहरूमा व्यापारीहरूले दशैंका लागि जेठ/असारदेखि नै सामान ल्याउने गरेको उनी सुनाउँछन्। तर, यो वर्ष भर्खर सामान आउने क्रम शुरू भएको छ र बेचिरहेका पनि छन्। जसकारण, भरियाहरूलाई यो वर्षको दशैंमा दोहोरो काम परेको छ। 

“अघिल्ला वर्ष यतिबेला साहुका गोदाममा राखिएका सामान झिक्ने र गाडीमा लोड गर्ने काम मात्रै हुन्थ्यो”, कार्कीले भने, “यो वर्ष विदेशबाट ल्याइने सामान अनलोड गरेर गोदाममा राख्दैछौं।” 

त्यही क्षेत्रमाा काम गर्दै आएका सिन्धुलीका लक्ष्मण थापा पनि दैनिक ११/१२ घन्टा खटिँदा उनीसँग कोठाभाडा तिरेर पनि दशैंमा घर लैजाने पैसा जम्मा हुन थालेको छ।

प्रकाशित मिति: : 2020-10-02 14:59:12

प्रतिकृया दिनुहोस्