गड्डाचौकी र गौरीफन्टा नाका भएर ३३ हजार नेपाली भारत पसे

सुदूरपश्चिमका विभिन्न नाकाबाट दुई महिनामा झन्डै ३४ हजार नेपाली भारत गएका छन्। कञ्चनपुरको गड्डाचौकी नाका र त्रिनगर–गौरीफन्टा नाकाबाट भदौदेखि हालसम्म ३३ हजार ८ सय ३८ नेपाली भारत गएका हुन।

गौरीफन्टा नाकाबाट मात्रै २९ हजार नेपाली भारत गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस्तै, गड्डाचौकी नाकाबाट ४ हजार ८ सय जना भारत गएका छन्।

प्रहरीका अनुसार कामको सिलसिलामा दैनिक एक हजारको हाराहारीमा नेपालीहरु भारत गईरहेका छन्। रोग भन्दा पनि भोकले मरिने भएपछि उनीहरु दशैं तिहारको मुखैमा भारत हिडेका हुन्।

घरमा खानालगाउन समस्या भएपछि वर्षदिन दिनकोे चाड छोडेर जानु रोजगारीका लागि भारत जानु परेको अछाम साँफेबगर नगरपालिका राजन कुँवरले दुख पोखे। उनले अरुको देशमा जाने रहर नभएपनि बालबच्चा पाल्नकै लागि बाध्य भएर जानुपरेको बताए।

यस्तै कैलालीको लम्की चुहा नगरपालिका धनचैयाका करन विकले कोरोनाको महामारी फैलिदा भाारतबाट फर्किएपनि ल्याएको रुपैया सकिएपछि फेरि भारत जान लागेको बताए। उनले हुने खानेहरुका लागि स्थानीय सरकारले हेर्ने गरेको बताउदै आफूहरुका लागि भारतको चौकीदारी नै पेट पाल्ने बाटो भएको बताए।

कोरोना भाइरसको महामारीले निम्त्याएको संकटपछि फर्किएकासमेत छाक टार्नै समस्या हुँदा जोखिम मोलेरै भारत फर्किन लागेको उनीहरुको भनाई छ।

प्रकाशित मिति: : 2020-10-12 09:33:00

प्रतिकृया दिनुहोस्