प्रधानमन्त्री ज्यू हजुरको फोहोरी मनोरञ्जन कहिलेसम्म?

नवीन रायामाझी
नवीन रायामाझी

जनतालाई झुटो आश्वासन दिन खप्पिस हजुरले कहिले पनि शोषित र पीडित जनताको घाउमा मलम लगाउने काम गर्नु हुन्न। सायद त्यो हजुरको प्राथमिकता भित्र पर्दैन। गरिब जनतालाई दिने समय बिचौलिया र दलाललाई दियो भने कमिसनको रुपमा नगद नारायण प्राप्त हुन्छ, त्यो राम्रो कुरा हो।

***
सम्माननीय प्रधानमन्त्री के पी ओली ज्यू,
नमस्ते! दुई तिहाई जनमत प्राप्त शक्तिशाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने हजुर जस्तो ब्यस्त मान्छेले म जस्तो भूइँ मान्छेले लेखेको बिन्तीपत्र हेर्ने फुर्सद पाउने र यस्ता झिना मसिना कुरा हजुरको प्राथमिकता भित्र पर्ने कुरामा मलाई बिश्वास छैन।  तर हजुरले नहेरे पनि हजुरका अरिङ्गालहरुले पक्कै हेर्नेछन भन्नेमा म ढुक्क छु। हजुरको बारेमा यो भन्दा पहिले लेख्दा देश बिदेशमा बसेका हजुरका केही अरिङ्गालहरुले धम्कीयुक्त शैलीमा मलाई यस्तो नलेख्न अनुरोध गरेका थिए। तर यो अकिञ्चनको हात चिलाएको हो कि गर्धन चिलाएको हो नलेखी बस्न सकिन र लेख्न लागेको हजुरको आगाडी बिन्ती गर्दछु।

हजुरले हालै गरेको मन्त्री परिषद् पूनर्गठनमा बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेर हजुरकै अर्का सहकर्मी पुष्पकमल दाहालको भाषामा जस्तै चमत्कार गर्नु भएको छ। अष्टम कक्षा उतिर्ण र बालुवाटार जग्गा घोटालाका नाइके कमरेड पौडेललाई देशको ढुकुटीको साँचो सुम्पिने हिम्मत गर्न जो कसैले सक्दैन। हजुर जस्तो दुरदर्शी व्यक्तिले पक्कै पनि केही ठोस सोचेर यो निर्णय लिएको कुरामा म निश्चिन्त छु। यसैपनि एउटा उखानै छ नि ‘चोर लाई नै भण्डारको साँचो सुम्पे भने चोरी हुदैन’। हजुरका यस्ता ठोस र देश र जनताको हितको लागि चाल्ने हरेक कदममा विरोधीले असन्तोष जनाउने छन् तर त्यो उनीहरुले केवल बिरोधको नाममा गर्ने विरोध मात्र हो। त्यस्ता कुनै पनि विरोधहरुको औचित्य छैन।

त्यस्तै हजुरकै अर्का मन्त्री उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपालमा महंगी बढेको कुरालाई अस्विकार गर्दै सानो रुपमा बढेकै भए पनि आकास नखस्ने मर्जी भएको कुरा सञ्चार माध्यममा पढ्न पाइएको थियो। 

भौतिक रुपमा अस्तित्व मै नरहेको आकास खस्ने कुरामा विश्वास गर्ने कुरा भएन तर उहाँ जस्तो द्वन्दात्मक भौतिकवादका अनुयायीले यस्तो वाक्य निकाल्नुमा निश्चित पनि केही राम्रै मनसाय रहेको हुनुपर्छ। तर यस्तो गहन र गम्भीर कुरा पंक्तिकार जस्तो मुढ बुद्धिले बुझे कुरा भएन र यस्तो कुरा बुझ्न हजुर जस्तै उच्च विचार भएको हुनुपर्छ। जो पंक्तिकार जस्तो निरिह र सामान्य मान्छेमा सर्वथा अभाव छ।

पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटा ७० अर्बको भ्रष्ट्राचार प्रकरणमा मुछिदा पनि हजुरबाट कुनै कारबाही भएन र उल्टै उनलाई चोख्याउन भरमग्धुर कोशिस गर्नुभयो। बाँस्कोटालाई मन्त्री पदबाट हटाएर यो प्रकरण नै बन्द भएपछि भ्रष्ट्राचार भएको केही रकम उनी लगायत हजुरका केही आसेपासेहरुले पाउने र बाँकी ठूलो भाग हजुरकै बाहुली दाखिल हुने कुरामा सबैलाई बिश्वास भएकै कुरा हो। देशमा भएका यस्ता भ्रष्ट्राचारको छानबिन गरेर अदालतमा मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने एउटा कठपुतली निकाय त छ तर त्यो निकाय पनि जनताको अगाडी भ्रम छर्न मात्र काम लागेको छ। हात्तिको देखाउने दाँत र चपाउने दाँत फरक फरक भए जस्तो यो निकायको देखाउने दाँत भ्रष्ट्राचारको अनुसन्धान गर्ने भए पनि चपाउने दाँत त्यस्ता भ्रष्ट्राचारीलाई सुन–पानी छर्केर चोखो बनाउने हो। किनकी यो निकायमा हजुर कै ढोके, हुक्के र भान्छेहरु नियुक्त भएका छन्। अब यस्ता व्यक्तिले हजुरको हुकुम तामेली गर्नुबाहेक अरु के नै गर्ने हिम्मत राख्छन?

हजुरले प्रधानमन्त्री भएपछि देशमा चुच्चे रेल, पानी जहाज र घर–घरमा पाइपबाट ग्यास आउने कुरा मर्जी भएको थियो। चुच्चे रेल त आयो क्यारे तर सायद जाडो भएर होला हाल रेललाई सिरक ओडाएर राखिएको छ। त्यो रेल पनि हजुरले खरिद गरेको भन्नु भएको छ तर भारतका रेल मन्त्रीले उक्त रेल भारतले नेपाललाई उपहार दिएको भनेका छन्। यो कुरा निर्क्यौल नहुँदा बेरोजगार जनतालाई कुरा गर्ने मौका मिलेको मात्र हो तर हजुरको नियतमा शंका गर्नु भनेको महापाप हो। रेल चढ्न नपाए पनि देख्नेसम्म सौभाग्य पाएका म जस्ता हजुरका जनताले पानी जहाज हेर्ने र घर–घरमा पाइपबाट आएको ग्यासमा भात पकाएर कहिले खाने भन्ने जिज्ञासा लागेको छ। तर निकट भविश्यमै यस्तो सुबिधा हामीले प्राप्त गर्ने कुराको सपना देखेर बस्न सकिन्छ। उसै पनि हामी साधारण जनताको काम केवल दिवा स्वप्न देख्ने र मनको लड्डु घ्युसँग खाने मात्र हो, जो हामीले गरि रहेका छौ र आउँदा कति पुस्ताले यस्तो नियति सहनु पर्ने हो, त्यो कसैलाई थाहा छैन।

हजुरलाई मदिरा सेवन गर्ने सोख भएको र अत्याधिक मदिरा सेवन गर्दा दुवै मिर्गौलाले काम गर्न छोडेको हजुर कै पूर्व सहकर्मी राधाकृष्ण मैनालीले भनेका छन्। पहिले खल्तीमा पैसा नहुँदा केवल ठर्रा मात्र सेवन गर्ने हजुरले गृह मन्त्री भएपछि बिचौलियाहरुले दिएको उच्च स्तरको मदिरा यति धेरै सेवन गर्नुभयो कि हजुरको दुवै मिर्गौला खराब भयो। अब हजुरको मिर्गौलाको उपचारको लागि देशको ढुकुटीबाट खर्च भइरहेको छ अर्थात हामी जस्ता गरिब जनताले तिरेको कर बापतको रकम हजुरले अत्याधिक मदिरा सेबन गरेकोले त्यसको लागी काम आएको हो, जो हरेक नेपालीको सौभाग्य हो।

आफू कम पढेको कारण पढेलेखेको मान्छे र पढाईसँग हजुरलाई त्यति रुचि छैन। एकपटक यस्तै प्रसँगमा हजुरले बुद्ध भगवानले कुन बिश्व बिधालयबाट कति पढेका थिए भनेर प्रश्न गर्नु भएको थियो। यो कुरा सत्य हो कि भगवान बुद्धले कुनै कलेजमा गएर पढेका थिएनन र उनको प्रमाणपत्र पनि कसैले देखेको छैन। यस्ता बकम्फुसे र पानीमाथिको ओभानो बन्ने कुरा गर्न हजुरलाई कसैले पनि जित्न सक्दैन। त्यसैकारण पनि हजुरको मन्त्री मण्डलमा अल्प र अर्ध शिक्षितहरुको बाहुल्य हुने गर्छ। सबै काम सचिव लगायत कर्मचारीले गर्ने र मन्त्रीले हस्ताक्षर मात्र गर्ने भएकोले मन्त्री हुने एक मात्र योग्यता भनेको हस्ताक्षर गर्न सक्ने भए पुग्छ, तर कताबाट के कति कमिसन आउँछ भन्ने जानकारी भने हजुरलगायत हजुरका प्रायः सबै मन्त्रीलाई ज्ञान छ, यो अर्को राम्रो पक्ष हो।

कुनै बेला हजुर बाँसुरी त कहिले गितार बजाउनु हुन्छ, यसबाट के थाहा हुन्छ भने हजुर एउटा कलाकार हो। त्यसैले हजुरले पनि बेलाबेलामा आफ्नो अभिनयले देश र जनतालाई फोहरी मनोरञ्न दिनु भएको छ। यस्तै तपाईं टेबल टेनिस पनि खेल्नु हुन्छ। यसैले एउटा खेलाडी भएको कारण हजुरले जनताको भावनासँग कुशलतापूर्वक खेल्नु भएको छ। जनतालाई झुटो आश्वासन दिन खप्पिस हजुरले कहिले पनि शोषित र पिडित जनताको घाउमा मलम लगाउने काम गर्नु हुन्न। सायद त्यो हजुरको प्राथमिकता भित्र पर्दैन। गरिब जनतालाई दिने समय बिचौलिया र दलाललाई दियो भने कमिसनको रुपमा नगद नारायण प्राप्त हुन्छ, त्यो राम्रो कुरा हो।

अन्त्यमा, यो अकिन्चनको लेखाईलाई अन्यथा लिनु हुने छैन भन्ने आशा गर्दै हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र साथै नजिकिँदो दशैँको हार्दिक तथा मङ्गलमय शुभकामना ब्यक्त गर्दछु। हजुरको प्रधानमन्त्रीको कुर्सीमा बस्ने समय लम्बिएर अनन्त होस् भन्ने कामना गर्दै यो लेखौटलाई बिट मार्न चाहन्छु।

हजुरको शुभचिन्तक,
नवीन रायमाझी, हालः अमेरिका

प्रकाशित मिति: : 2020-10-18 18:16:00

प्रतिकृया दिनुहोस्