खेलाडीको भविष्य सुरक्षित गर्न प्राथमिकता दिन्छु: हरि खड्का

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले खेलाडीको पीडालाई सही ठाउँमा राख्न हरदम प्रयासरत रहने बताएका छन्।

आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताउँदै उक्त कुरा बताएका हुन्।

मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले भने,‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ। त्यसैले खेलाडीको पीडाबारे मलाई राम्रोसँग थाहा छ। खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु। सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताए। 

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध गरे।

‘उहाँको नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको छ। लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्छु। उहाँलाई नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा छ,’ उनले भने।

खड्कालाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो। खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्तामध्येका एक हुन्।

खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन्। 

प्रकाशित मिति: : 2020-10-20 17:25:00

प्रतिकृया दिनुहोस्