चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल)मा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्‍याे।

मुम्बईको जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे। क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो। चे

न्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए। इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे।

जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए। राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। नाथन कुल्टर नाइलले एक विकेट लिए।

मुम्बईले आइपिएलमा १० विकेटको जित दोस्रो पटक निकालेको हो। यसअघि सन् २०१२ मा राजस्थान रोयल्सविरुद्ध १ सय ६३ रनको लक्ष्य १२ बल अगाडि कुनै विकेट नगुमाई पुरा गरेको थियो।

चेन्नईको यो इतिहासकै खराब प्रर्दशन हो। यो हारसँगै अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना चेन्नईको लगभग सकि सकेको छ। 

चेन्नई ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ।

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ। समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2020-10-24 06:38:00

प्रतिकृया दिनुहोस्