महामारीमा पर्वतारोहण

गोरखापत्र

काठमाडाैं

राजु सिलवाल

विश्वमा नै कोभिड–१९ को महामारीले प्रायः गतिविधि ठप्प भइरहेको बेला नेपालको हिमाल आरोहणले संसारको ध्यान तानेको छ । विश्वका कतिपय मुलुकले पर्यटनसम्बन्धी गतिविधिमा पूर्ण रोक लगाएको बेला नेपालमा भने हिमाल आरोहण गतिविधि सफलतापूर्वक सम्पन्न भएको छ । यही प्रसङ्गले नेपाललाई चर्चामा ल्याएको हो ।
हिमाल नै नभएको खाडी राष्ट्र बहराइनका राजकुमार शेख नासिर बिन हमाद अल खलिफासहितको टोलीले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गर्नुभएको छ । यो समाचारलाई विश्वका विभिन्न सञ्चारमाध्यमले प्रसारण÷प्रकाशित गरे । खाडी राष्ट्रहरूको ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका ३३ वर्षीय राजकुमार खलिफा बहराइनका राजा हमाद विन ईसा खलिफाका चौथो सन्तान हुनुहुन्छ ।
बहराइनको हिमाल आरोहणमा खास इतिहास छैन । गत वर्ष पनि बहराइनका एक जना आरोहीले हिमाल आरोहणको प्रयास गरेका थिए । यसपालि विषम परिस्थितिमा बहराइनको रोयल गार्ड टोलीलाई विशेष निर्णय गरी मनास्लु र लोबुचे हिमाल आरोहण गर्न अनुमति दिनु नेपाल सरकारको सहासिक कदम त छँदै थियो । आरोहण सुरक्षित रूपमा सफल बनाउन नेपालका कीर्तिमानी आरोहीहरूको सक्रियता पनि प्रसंशनीय रहेको थियो । यसका लागि चौबिसपटक सगरमाथा आरोहण गरिसक्नुभएका कामीरिता शेर्पा, आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमाल चढ्न सफल दक्षिण एसियाकै पहिलो आरोही मिङ्गमा शेर्पा तथा दावा शेर्पा, सानु शेर्पा र कम उमेरमा सगरमाथा आरोहणको विश्व कीर्तिमान बनाउनुभएका तासी ल्हाक्पा शेर्पा यो आरोहणमा संलग्न रहनुभएको थियो ।
नेपालमा २०७६ साल चैत ११ गते बन्दाबन्दी गरिएपछि अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्र पनि धराशयी भयो । नेपाल पर्यटन बोर्डले यस अवधिमा ७० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । नेपालमा सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गर्नुभएदेखि कुनै पनि वर्ष व्यावसायिक हिमाल आरोहणमा कुनै प्रकारको अवरोध भएको थिएन । हालसम्म छ हजार ५०७ जनाले नेपालको बाटो हँुदै सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति: : 2020-11-07 08:54:00

प्रतिकृया दिनुहोस्