सत्ता साझेदारीको प्रस्तावपछि ओलीलाई देउवाको जवाफः तपाईँको पार्टी फुट्यो भने छलफल गरौंला

देशसञ्चार

काठमाडाैं

काठमाडौँ– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि गरेको आग्रहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रष्ट जवाफ नदिएको पाइएको छ।

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि ओलीले शनिबार बालुवाटारमा छलफल गरेका थिए।

छलफलमा ओलीले कांग्रेसलाई खु्शी बनाएर सरकार सहभागी गराउने प्रस्ताव गरे पनि देउवाले तत्कालै सरकारमा जाने आशय प्रकट नगरेको स्रोतको दाबी छ। छलफलपछि देउवाले निकट नेताहरुसँग कांग्रेसलाई अहिले प्रतिपक्षमै बस्ने म्याण्डेट प्राप्त भएको र नेकपा फुटे सत्ता सहकार्यका लागि छलफल गर्न सकिने जवाफ दिएको ब्रिफिङ गरेका छन्।

उनी निकट एक नेताले  भने, ‘उहाँले जनताले पार्टीलाई प्रतिपक्षमा बस्न म्याण्डेट दिएको बताउनुभएछ। यदि नेकपा फुट्यो भने छलफल गर्न सकिने जवाफ दिनुभएको छ।’

यसअघि गत असारमा पनि नेकपा विवाद उत्कर्षमा पुग्दा ओलीले देउवालाई बोलाएर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावलाई नेकपाका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गलाउने रणनीतिका रुपमा विश्लेषण गरेका छन्।

शनिबारको भेटमा ओलीले देउवालाई आठवटा मन्त्रालय लिन आग्रह गरेका छन्।

ओलीले प्रस्ताव गरेको बाहिरिएसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी पाँच वर्ष सरकारमा सहभागी नहुने प्रष्टीकरण दिएका छन्। प्रष्ट जवाफ नदिई बालुवाटारबाट देउवा बाहिरिए पनि आइतबार प्रवक्ता शर्माले ट्वीटमार्फत सरकारमा नजाने बताएका हुन्।

प्रकाशित मिति: : 2020-11-23 00:32:00

प्रतिकृया दिनुहोस्