फलफूल बेचेर लाखौं कमाउने विष्ट दम्पती भन्छन्, ‘ठेलागाडा मै सम्भावना छ, विदेश किन जानु?’ (भिडियाे)

भूईमान्छे ८

अछुत कोपिला  

नेपालगञ्ज

डेढ वर्ष पहिले श्रीमतीको उपचारको लागि कोहलपुर झरेका थिए, जुम्लाको तातोपानी गाउँपालिका ६ का मुनबहादुर विष्ट। 

करिब १ महिना नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा श्रीमतीको उपचारमा बिताए उनले। 

२१ वर्षीय श्रीमतीको पाठेघरको अप्रेसन सफल भयो। श्रीमतीको उपचारमा साढे एक लाख रुपैयाँ खर्च भयो। 

जिन्दगीमा पहिलोपटक जन्मथलो छोडेर कोहलपुर झरेका उनी यतै अल्झिए। मुनबहादुर भन्छन्, ‘बुढीको उपचार गर्दा अलिकति ऋण लागेको थियो। ऋण तिर्ने माध्यम थिएन। यतै केही गर्नुपर्छ भन्ने लाग्यो। अरु के गर्ने, कुनै विकल्प थिएन।’ 

उनी काम खोज्न धेरै ठाउँ पुगे, पैसा कमाउने उपायको खोजीमा। त्यो बेला उनी नेपालगञ्ज र कोहलपुरका धेरै ठाउँ चहारे। धेरैजसो ठाउँमा ६० वर्ष नाघेका मानिसले एक छाक खान गरेको दुःख देखे। उखरमाउलो गर्मीमा महिलाले पसिना बगाइरहेको देखे। 

मुनलाई लाग्यो, वृद्ध मानिस, महिला र असहायले सडकमा दुःख गरेर खान्छन् भने म किन नगर्ने? त्यसपछि सुरु भएको हो, विष्ट दम्पतीको सडकयात्रा। 

उनीहरुले कोहलपुरमा फुटपातमा ठेलागाडा चलाउन सुरु गरे। ठेलागाडामा फलफूल व्यवसाय गर्नको लागि १२ हजारको लगानी गरे।  श्रीमतीको उपचारको क्रममा बचेको रुपैयाँले ठेलागाडा किने।
  
नयाँ ठाउँ, नयाँ परिवेश पहिला निकै समस्या थियो। उनी समस्यासँग जुध्दै गए। सिक्दै गए। ‘कि गरेर सिकिन्छ, की परेर सिकिन्छ’ भने झैं उनले कोहलपुरका सडक सडकमा डुलेर दुःख गर्न सिके। ‘बिहान ५ बजे नै आउनु पर्ने, दिनभर सडकमा डुल्यो। राती कोठामा गयो। कति दिन भोकै सुतेको छु,’ उनले काम गर्दाका दुःख सुनाए। 
 
यसरी हजार लगानी गरेर सुरु गएको फलफूल व्यापार अहिले वार्षिक लाखौं कमाउने भइसक्यो। जागिर भन्दा पनि व्यापारमा भविश्य देखेका विष्ट भन्छन्, ‘जागिर भन्दा व्यापारमा राम्रो सम्भावना छ। अझ मैले त ठेलागाडा मै आर्थिक लाभ धेरै देखेको छु। पैसा कमाउन विदेश नै जानु पर्दैन।’ 

अहिले युवा पुस्ता त व्यापार भन्दा जागिर कै लागि परिश्रम गर्छन् नी, भन्ने प्रश्नमा उनको सहज उत्तर छ, सामाजिक प्रतिष्ठाको लागि धेरै जना जागिरको खोजी गर्छन्। जसरी पनि पैसा कमाउने हो। व्यवसाय गरेरपनि त कमाउन सकिन्छ। 

प्लस टु र ३६ महिने जेटिए उर्तिण गरेका उनी कोहलपुर आउनु भन्दाअघि एक एग्रो फार्ममा काम गर्थे। त्यहाँ  उनीहरुले १ वर्ष काम गरे, सामाजिक परिचालकको रुपमा। मासिक तलब थियो १० हजार। पछि संस्था नै भाग्यो। लामो समयको तलबपनि दिएन। उनका अनुसार जागिर भन्दा व्यापार नै ठिक छ। 

‘दुबै जनाले काम गर्दै थियौं। गाउँगाउँमा गएर समूह बनाउनु पर्थ्यो। दुःख धेरै हुन्थ्यो। पछि संस्था नै भागेपछि बेरोजगार भइयो।’ बिएल नेपाली सेवासँग उनले भने। 

त्यसबीचमा यता आए। जागिर भन्दा व्यापार गरौं भन्ने लाग्यो। अहिले यसमा निकै खुसी छु। सडकको धुलोमाटोसँग जुध्दै  दुःख गर्नु परे पनि कमाइ भने राम्रो भएको उनले बताए। 

मुन बहादुरको यो काममा उनकी श्रीमती सम्झना विष्टले पनि साथ दिइरहेकी छन्। उनले पनि दुबै जना आफ्ना कामप्रति सन्तुष्ट रहेको बताइन्। सम्झनाका अनुसार राम्रो काम गर्न लाज मान्नु हुदैन। सडकमा ठेला चलाउनेहरुलाई तल्लो दृष्टिले हेर्ने गरेको उनले सुनाइन्। 

‘कतिपय मान्छेले हामीलाई नराम्रो व्यवहार गर्छन्। हामी त आफ्नो पौरखमा बाँच्ने मान्छे हो। सरकारले पनि न जागिर दिन्छ न त काम गरि खानै,’ उनले  भनिन्।
 
मुन बहादुर घरका काइला छोरा हुन्। उनका दाइहरु रोजगारीको लागि विदेश गएका छन्। कोही नेपाल मै व्यवसाय गर्छन्। उनी पछिका दुई भाइ पढ्छन्। क्षेत्री समुदायका भए पनि आर्थिक अवस्थामा नाजुक छ। संयुक्त परिवार भएका उनीहरुको प्रमुख आम्दानीको स्रोत कृषि नै हो।  

उनका पाँच भाइछोरा सबै अलग भइसकेका छन्। मुन बहादुरको दम्पति भने अर्काको ठाउँमा भविश्य खोजिरहेको छ। ‘सानै छदाँ बुबाको मृत्यु भयो। विवाह हुने वित्तिकै सबै अलग भए। अहिले हामी यहाँ दुःख गरिरहेका छौं। जिन्दगी त एक यात्रा जस्तै रहेछ।’ उनले सुनाए।
 
पारिवारिक कुरा गर्दागर्दा उनी आफ्नो बाल्यकाल तर्फ फर्किए। ठूलो भएपछि आफू स्कुल गएको सुनाए। एक छाक टार्नको लागि अर्काको काम पनि गर्नुपथ्यो। एसएलसीसम्म पढ्नको लागि आफै खर्च जुटाउँथे।

उनी भन्छन्,‘विदाको बेलामा अरुको काम गर्थे। खोलामा माछा मारेर बेचेको पैसाले कापी कलम किन्थे। त्यसैले चलेको थियो पढाइ खर्च।’ 

पछि उच्च शिक्षा पढ्नको लागि पनि आफ्नै भागमा परेको खेत बेचे। शिक्षक भन्ने सोच थियो। तर समयले ठेलगाडा चलाउने बनाइदियो।

प्रकाशित मिति: : 2020-11-24 12:41:00

प्रतिकृया दिनुहोस्