कठै मेरो देशको मौसम, घुन्साको ठीक हुँदा सन्दुकपुरको बिग्रन्छ !

नेपाल कोभिड-१९सँग स्रोत र साधनको अभावमा जुधिरहेको बेला प्रधानमन्त्री खड्गप्रसाद ओली शर्मा भने ठूलो दलबलका साथ उत्तरी सीमानाकाको भ्रमणमा निस्कन थालेका छन्। यही क्रममा स्युडो इभेन्ट सिर्जना गरेर उनी किमाथांका र घुन्सा पुगेका छन्। पटक पटक रद्द गर्दै आयोजना गरिएका स्युडो इभेन्टका लागि तीनै तहका निकायको ठूलो स्रोत र साधन खर्च गरिएको छ। नाम नभएको प्रदेश नम्बर १ का मुख्यमन्त्री ठूलो मेशिनरीका साथ सवारी मन्त्रीका रूपमा खटिएका छन्। ओली र पत्नीका लागि संघीय सरकारको खर्च त सामान्य भै नै हाल्यो। 

जाडोको बेला थुरथुर काम्दै सयौ मानिसलाई भेला गराइएको छ। कोरोना कहरलाई पूर्णत: बेवास्ता गर्दै सामाजिक दुरी, मास्क लगाउनुपर्नेलगायतका नियमहरूको खिल्ली उडाइएको छ। यी दृश्यले पञ्चायतको बेला राजा रानीको विकास क्षेत्र भ्रमणको ताजा याद गराउन थालेका छन्। केही समयअघि चुनावी क्याम्पेनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यस्तै जात्रा गरेका थिए।  

मुलुक कोरोना कहरसँग जुधिरहेको छ। सत्तारूढ पार्टी फुटको संघारमा छ। हिउँदको बेला उत्तरी नाकामा जाडोको विगविगी छ। तर, प्रधानमन्त्री भने विभागीय मन्त्रीसमेत नलिई आफ्ना आसेपासेका साथ उत्तरी नाकाको भ्रमणमा छन्। जहाँ सीमा विवाद पनि छैन र सीमा सुरक्षाका लागि सन्देश प्रवाह गर्न प्रधानमन्त्री तहको भ्रमण पनि आवश्यक छैन। 

सीमा समस्या त कालापानीमा छ, सुस्तामा छ। भ्रमणै गर्ने हो भने प्रधामन्त्रीको सवारी त्यता चलाउनुपर्ने हो। प्रधानमन्त्री तहको भ्रमणले त्यहाँका जनताको मनोबल उच्च हुन सक्छ। तर, प्रधानमन्त्री ओलीलाई त्यता जानु छैन। किनकि, त्यता जाँदा उनको सिंहासनमा तलमाथि पनि पर्न सक्छ। भर्खरै भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई बालुवाटारमा रेडकार्पेट ओछ्याइएको छ, स्थल सेनाध्यक्षलाई आमन्त्रण गरेर महारथिको मानार्थ फुली लगाएर पठाइएको छ। यस्तो अवस्थामा दक्षिणी सीमामा जाने कुरै भएन।

 कोरोना कहरसँग जुध्न स्रोत र साधन सिमीत भैरहेको बेला प्रधानमन्त्री ओली जम्बोटोलीका साथ उत्तरी नाकातिर उड्न थालेका छन। समस्या कालापानी र सुस्तामा छ तर उनको घुन्सा र किमाथांकातिरको भ्रमण बुझिनसक्नु छ।  

लोकलाजकै लागि इलामको सन्दुकपुरको जौबारी जहाँ भारतीय पक्षबाट पटक पटक सीमा अतिक्रमण भएको छ, त्यहाँका लागि पटक पटक तय गरिएको ओली भ्रमण रद्द भएको छ। मौसम प्रतिकुलताले हेलिकोप्टर बस्न नसकेर भ्रमण रद्द गरिएको जनाइएको छ। 

ढाँटको पैचो खाइ पत्याउनु भन्छन्, त्यस्तै छ यो मौसमको कुरा पनि। त्यही दिन सुदुर उत्तरी ताप्लेजुङको हिमाली क्षेत्रअवस्थित घुन्सामा मौसम सफा हुने र हेलिकोप्टर बस्न सक्ने तर त्यही दिन इलामको जौबारीमा चाँहि मौसम बिग्रने र हेलिकोप्टर बस्न नसक्ने ? यो पनि कुनै पत्याउने कुरा हुन्छ। यो त सिधा ढाँट कुरा हो। वास्तविकता के हो भने जौबारी भारतसँगको सीमा हो र यो विवादित छ। यहाँका नेपाली भारतीय सुरक्षाकर्मीबाट पीडित छन्, जंगे पिलरहरू उखालिएका छन्, सारिएका छन्। यहाँ जाँदा भारतसँग खटपटी हुन सक्छ, त्यही भएर जौबारीको हैन, ओलीको मौसम बिग्रिएको हो। 

ओलीलाई थाहा छ, अहिलेको अवस्थामा भारतसँग जोरी खोजेर काठमाडोैंको सिंहासनमा बस्न सकिन्न। केहीसमय अघि रअका हाकिमसँग चोचोमोचो मिलाएपछि उनले यसको प्रष्ट संकेत पाइसकेका छन्। त्यसैले पनि उनी टाउको दुखेको दबाइ नाइटामा लाई गर्दैछन्। नत्र सीमा मिचिएको कालापानी र सुस्तातिर नगएर किन सीमा विवाद नै नभएको किमाथान्का र टिप्टाला गैरहेका छन् ? बल्ल बल्ल जान लागिएको सन्दुकपुरको मौसम पनि किन बिग्रिरहेको छ? 

उत्तर सहजै अनुमान गर्न सकिन्छ, यी स्युडो इभेन्ट भारतलाई खुशी बनाउन आयोजित छन्। त्यही भएर चीनसँगको उत्तरी सिमाका किमाथान्का र घुन्साको मौसम सफा हुँदा पनि भारतीय सीमाको सन्दुकपुर जौपारीको मौसम बिग्रन्छ। भनाइ नै छ नि, बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरछेउमा पहिरो छ। बाँकि त उनै जानुन्।

प्रकाशित मिति: : 2020-11-25 00:58:00

प्रतिकृया दिनुहोस्