ओलीको जवाफ कुर्दै प्रचण्ड समूह, प्रचण्ड पक्षको ‘रियाक्सन’ हेरेर अघि बढ्ने ओली पक्षको तयारी

Breaknlinks
Breaknlinks

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेका नेकपाका दुवै समूह एकअर्काको क्रियाकलाप हेरेर प्रतिक्रिया जनाउने तयारीमा रहेका छन् । 

मानसिक रुपमा फुटिसकेका दुई अध्यक्ष ओली र प्रचण्ड तल्ला कमिटी र नेता–कार्यकर्ताबाट विभाजनविरुद्ध दबाब आएपछि द्विविधामा परेका हुन् । प्रचण्डले ओलीले जवाफ नदिँदै ओलीमाथि गम्भीर आरोप लगाइएको ‘राजनीतिक प्रस्ताव’ लाई ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ शीर्षक दिएर पुस्तकका रुपमा छापेर तल्लो कमिटीमा पठाएका छन् । यसबाट ओली पक्ष थप चिढिएको छ ।  

नेकपा सचिवालयको बैठकमा १० दिनअघि तोकिएको कार्यसूचीबमोजिम प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको १९ पृष्ठको ‘राजनीतिक प्रस्ताव’ को जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफ तयार पारिसकेको र शनिबारको सचिवालय बैठकमा प्रस्तुत गर्ने उनका प्रेस सल्लाहकार एवम् पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रचण्डले अघिल्लो बैठकमा ‘ओलीले गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै त्यागसहितको योगदान गर्नुपर्ने’ प्रस्ताव पेश गरेका थिए, जसमा सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा ओली पूर्णरुपले असफल देखिएको आरोप लगाइएको छ । उक्त प्रस्तावमा ओलीमाथि भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण दिएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको घटनाले नेपालको शीर झुकेको, कूटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार गरेको, द्वन्द्वकालीन मुद्दाहरुलाई राजनीतिक उद्देश्यका लागि उपयोग गर्ने वाह्य खेललाई बल पुग्ने किसिमको व्यवहार गरेको जस्ता गम्भीर आरोप लगाएका छन् । 

ओली जवाफको सार– नेतृत्व युवापुस्तामा

प्रधानमन्त्रीको जवाफी प्रतिवेदनमा नेतृत्व युवापुस्तामा जाने कुरामा जोड दिइने छ । ‘युवापुस्ता भनेको जसले अवसर पाएको छैन त्यो हो’, प्रधानमन्त्रीको व्याख्या छ, ‘युवापुस्तामा वामदेव गौतम पनि पर्नुहुन्छ, जो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अवसर पाउनुभएको छैन ।’ ओलीले महाधिवेशनपछि आफू र तीनै जना पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीको कार्यकारी भूमिकाबाट अवकाश लिनुपर्ने प्रस्ताव गर्ने तयारी गरेका छन् । 

‘टीम’ ले तयार पारेको प्रतिवेदनलाई प्रधानमन्त्री ओली आफैँले सम्पादन गरी अन्तिम रूप दिएका छन्, जुन शनिवार सचिवालयमा पेश गर्ने छन् । जवाफमा प्रचण्डका सबै आरोप अस्वीकार गर्दै त्यसको खण्डन र प्रचण्डको नियतमाथि प्रश्न उठाइने छ । जवाफको 'कन्टेन्ट' कडा भए भाषा भने संयमित प्रयाेग गरिने बालुवाटार स्रोतले जनाएको छ।

‘पर्ख र हेर’

प्रधानमन्त्रीले यी सबै आरोपको बुँदागत खण्डन गरी प्रचण्डमाथि नै प्रश्न उठाउने मंसीर ३ को बैठकमै संकेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीले शनिबार १ बजे बस्ने सचिवालय बैठकमा जवाफ दिएपछि त्यसका आधारमा भावी रणनीति तयार पार्ने प्रचण्ड पक्षको तयारी छ । आफूसँग उपाध्यक्ष वामदेव गौतमसहित सचिवालयका बहुमत (पाँच) सदस्य रहेकाले त्यसैको बलमा ओलीलाई पेल्ने तयारी प्रचण्डको छ । ओलीको जवाफ र आफ्नो आरोप दुवैलाई अलग–अलग प्रतिवेदनका रुपमा स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर बहुमतका बलमा ओलीलाई हराएर आफू हावी हुने प्रचण्डको तयारी छ ।

प्रधानमन्त्री ओली भने साविक माओवादीका स्थायी कमिटीका केही सदस्यले आफूलाई साथ दिएमा संसदीय दलमा बहुमत पुग्नेमा ढुक्क छन् । जवाफ लेख्न लिएको १० दिनको समयमा प्रधानमन्त्री ओली पक्षले पनि निकै गृहकार्य गरेका छन् । प्रचण्डले साविक माओवादीका स्थायी कमिटी सदस्यलाई नै आफ्नो पक्षमा पार्न नसकेकाले स्थायी कमिटी नै पनि उनका लागि  अनुकूल नहुने र स्थायी कमिटीको प्रभाव संसदीय दल र केन्द्रीय कमिटीमा पनि पर्नेमा आशावादी छन् । नेकपाको अहिलेको  संकटमा समेत साविक माओवादीका केही स्थायी कमिटी सदस्य प्रचण्डसँग असहमति राखेर गृहजिल्ला गएर बसिदिएको नेकपा स्रोतले जानकारी दियो ।

विभाजनको संघारमा पुगेको भनी चर्चा गरिएका नेकपाका दुवै समूह ‘पर्ख र हेर’ को रणनीतिमा छन् । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘शीर्षनेताहरु मानसिक रुपमा फुटिसकेका छन् तर हामी फुट्न दिन्नौँ । नेकपालाई कुनै पनि हालतमा फूटबाट बचाउनैपर्छ ।’ उनले बहुमत–अल्पमतबाट अघि बढ्न नहुने बताए । 

दुई अध्यक्ष भेटघाट बन्द 

नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई ‘जवाफी प्रतिवेदन’ तयारका लागि १० दिनको समय दिएपछि प्रचण्ड बालुवाटार गएका छैनन् । दुई अध्यक्षबीच टेलिफोन संवाद पनि भएको छैन । प्रचण्ड खुमलटारस्थित निवासमै बसेर भेटघाट गरिरहेका छन् । उनले वामदेव गौतमले ‘क्याम्प’ फेर्नसक्ने कुरामा बढी ध्यान दिएर उनीसँग निरन्तर सम्पर्क गरिरहेको स्रोतको दाबी छ । उनले चिनियाँ राजदूत हाउ यान्छीसँग मंसिर ८ गते सोमबार आफ्नै निवासमा कुराकानी गरे ।

यसबाहेक उनले आफू पक्षका साविक माओवादीका केही स्थायी कमिटी सदस्यहरु र सहमतिको प्रयास गरिरहेका ओली पक्षका नेताहरुसँग निवासमै डाकेर छलफल गरेका छन् । उनी बालुवाटार गएका छैनन् ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा एकपटक गएर महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छलफल गरे । त्यसबाहेक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि खुमलटारमा भेट गरेका छन् । ओली-प्रचण्ड प्रत्यक्ष संवाद नभए पनि अप्रत्यक्ष रुपमा  धारणा आदानप्रदान भएको छ । ओलीप्रति प्रचण्डभन्दा बढी माधव नेपाल 'रिजिड' रहेको स्रोतको दाबी छ।

राजकीय कामतर्फ ओली

आफूनिकट ‘टीम’ लाई ‘जवाफी प्रतिवेदन’ को मस्यौदा गर्ने जिम्मा दिएका ओली राजकीय काममा केन्द्रित देखिएका छन् । नियमित मन्त्रिपरिषद् बैठक राखेका छन् । सरकार ढल्दै छैन भन्ने सन्देश दिन उनी केन्द्रित रहेको देखिन्छ । प्रधानमन्त्री ओली यसै साता ताप्लेजुङको घुन्सासम्म पुगेर सार्वजनिक कार्यक्रममा सहभागी भए ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलासँग बिहीबार भेटवार्ता गरे । श्रृंगलामार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको समस्या वार्ताका माध्यमबाटै हल गर्ने सन्देश पठाएको प्रधानमन्त्री ओलीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

भारतीय विदेश सचिव फर्केको दुई दिनपछि नै आइतबार चिनिया रक्षामन्त्री वेई फेंग्हे एक दिने नेपाल भ्रमणमा आउँदै छन् । उपप्रधानमन्त्रीको हैसियतमा नेपाल आउने उनीसँग नेपालका पूर्व रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेट गर्ने छन् । 

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यसैबीच छलफल गरेका छन् । यसले नेकपा फुटेमा एउटा खेमासँग कांग्रेसले सहकार्य गरी सरकार बनाउनेसम्मको अनुमान नेपाली राजनीतिक वृत्तमा चलेको छ । 

 

साविक एमालेका नेताहरुले यसबीच वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटी ओलीसँग मिलेर जान आग्रह गरेका छन् । मुख्यमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेता नेपालसँग पटक–पटक कुराकानी भएको छ । तथापि, नेपाल अडानबाट टसको मस भएका छैनन् । 

ओलीले जवाफ तयार गर्न समय मागेको १० दिनको समयमा नेकपाका दुई अध्यक्षबीच भेट नभए पनि उनीनिकट नेताहरुमार्फत् अप्रत्यक्ष संवाद भएको छ । दुवै पक्षका सचिवालयभन्दा तलका नेताहरु पार्टी फुट्न नदिन एकमत छन् । सचिवालयको शनिबारको बैठकमा ओलीले जवाफ दिने छन् ।  उक्त बैठकबाट तत्कालै नेकपा फुट्दै छैन भन्ने तहको सन्देश प्रवाहित गराउने गृहकार्य दोस्रो तहका नेताहरु लागिपरेका छन् ।

बहुमत–अल्पमततर्फ नभई सहमतिकै आधारमा अघि बढ्न बीचको केही उपाय निकालेर मन्त्रिमण्डल पुनर्गठन गरी महाधिवेशनमा जाने बाटोतर्फ नेकपा जाने संभावना बाँकी नै रहेको सहमतिको प्रयत्नमा जुटेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-11-28 07:07:00

प्रतिकृया दिनुहोस्