वाणिज्य बैकको भाउमा उछाल आएपछि शेयरबजारमा रौनक, रकम र नेप्से सूचक दुवैमा नयाँ कीर्तिमान

बिएल संवाददाता

काठमाडाै‌ं

वाणिज्य बैंकहरुको भाउमा उछाल आएपछि आइतबार समग्र सेयर बजारमा रौनकता छाएको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा नयाँ कीर्तिमान बनिरहेको छ । अधिकांश बैंकको भाउ बढेपछि सूचकले छलाङ मारेको हो । 

नेप्से सूचक ७५.०२ अंकले बढेर १९६८.२७ विन्दुमा आइपुगेको छ । २०० कम्पनीको ९ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ करोड ५९ लाख ४५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ८ समूहको सूचक बढेको छ ।

यस दिन करिब दर्जन वाणिज्य बैंकहरुको भाउ सर्किट लाग्ने गरी बढेका छन् । बैंकिङमा उछाल आउने वित्तिकै समग्र बजार सूचकले नयाँ उचाई लिने गर्छ । त्यसो त यसअघि बैंकको भाउ खासै बढेको थिएन । त्यही भएर पनि अहिले रौनक सुरु भएको हो ।

खरिदबिक्री रकमलाई औसतमा हेर्दा प्रतिमिनेट ३ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीका हिसाबले कारोबार भएको देखिन्छ । बजार वियरिस हुँदा दिनभरको कारोबार दैनिक २० करोड भन्दा तल झरेको थियो । अहिले १ मिनेटकै कारोबार झन्डै ४ करोड रुपैयाँ आसपासमा पुग्न लागिसकेको छ । यसले सेयर बजारमा निकै ठूलो उत्साह देखिएको पुष्टि हुन्छ ।
 
 कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएका छन् । यसले साना–ठूला, नयाँ अनि पुराना सबैथरिका लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् । बजार बढ्छ भन्ने सकारात्मक मनोविज्ञान हावी हुँदा आम लगानीकर्तामा आफ्नो क्षमताले भ्याएसम्म लगानी गर्ने प्रवृत्ति देखिन्छ । 

यसले पनि बजारमा रौनकता थप्न सहयोग गरेको छ । यसैगरी, कोरोनाका कारण नेपाली बजारमात्र होइन, यतिबेला संसारका सेयर बजारहरु नयाँ उचाईमा पुगेका छन् । त्यसको थोरै भए पनि प्रतिबिम्ब यहाँ पनि देखिएको हो । तथापि, विश्व बजारको नेपाली सेयर बजारमा प्रत्यक्ष प्रभाव भने पर्दैन ।

प्रकाशित मिति: : 2020-11-29 15:33:00

प्रतिकृया दिनुहोस्