काठमाडौंका बिशाल दुबईका धनाढ्यहरूको जिम गुरु

काठमाडौंको किष्ट कलेजमा सन् २००८/०९मा होटल म्यानेजमेन्ट विषय लिएर पढिरहेका बाफलका बिशाल कँडेल (युबिम)लाई ज्यान बनाउने सुर चढेछ। 
उनी तत्कालै नजिकैको जिमखाना स्पोर्ट्स लाइटमा भर्ना भए।

छोरो पढेर ठूलो मान्छे बन्छ भनेको दुई घण्टा लगाएर ज्यान बनाउन थालेपछि युबिमका अभिभावक केही समय बिचलित भए। उनीहरूले छोरालाई धेरै सम्झाए। 

तर, युबिममा ज्यान बनाउने भोक यतिसम्म जागिसकेको थियो, उनले अभिभावकको कुरा सुनेनन्। तर, अभिभावकले भने जस्तै अध्ययनलाई पनि बीचमा छोडेनन्। 

नेपालमा ब्याचलरसम्मको अध्ययन पुरा गरेपछि उनी मास्टर्स गर्न अस्ट्रेलिया हानिए। त्यो पनि आफूलाई प्रिय लागेको खेलकुद विषय लिएर। 

अस्ट्रेलिया मै अध्ययन गरिरहेको बेला सन् २०१० मा उनलाई दुबई घुम्ने अवसर जुर्‍यो। जसले उनको परिचय नै बदलिदिएको छ। 

अहिले उनले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा ‘सेलिब्रिटी इन्स्ट्रक्टर’ को परिचय बनाइसकेका छन्। 

कुनैबेला परिवारबाट खासै सहयोग नपाएका युबिमको अहिले फेरिएको परिचयले घरपरिवार पनि दंग नै छन्। दुबई घुम्न आएको बेला उनी यहाँको जिम क्लब र लाइफ स्टाइलबाट लोभिएका थिए। यही बेला उनले दुबई फर्किने सपना बुनिसकेका थिए। 

सन् २०१३ मा अस्ट्रेलियामा अध्ययन पुरा गरेपछि उनी पुनः घुमफिरका लागि दुबई फर्किए। ‘२ पल्ट घुमेपछि त झन् मलाई दुबईमा बस्ने रहर पलायो,’ उनले विगत कोट्याए। 

युबिमले २०१४ मा रोजगारीका लागि दुबईको तीन वटा ठूला जिमखानामा आवेदन दिएका थिए। अस्ट्रेलियामा अध्ययनरत रहँदा पनि उनले जिउँ बनाउने आफ्नो मोहलाई कम हुन दिएका थिएनन्। 

त्यसैले उनको गठिलो ज्यान देखेर मोहित भएको ‘फिटनेस फस्ट’ जिमखानाले मास्टर ट्रेनरको भूमिकामा बोलायो। 

उनी यहाँ विगत ६ वर्षदेखि कार्यरत छन्। यसअवधिमा उनले विश्वका थुप्रै धनाढ्यलाई जिम गर्न सिकाइसकेका छन्। ‘विश्वको अग्लो टावर ब्रुज खलिफा, दुबई मल बनाउने कम्पनी (एमआर) का सिइओ, पेट्रोलियम कम्पनीका सिइओ र शेखका मुख्य मानिसहरू यहाँ जिम गर्न आउँछन्,’ युबिमले गर्व गर्दै बिएल नेपाली सेवासँग भने।

युबिमलाई पहिले यहाँ स्थापित हुन गाह्रो पर्‍यो। तर, विस्तारै दुबईको वातावरणमा भिजेपछि उनी यहीको रहनसहनमा डुबेका छन्। उनको नाम लिएर सिक्न आउनेको पनि कमि छैन जिमखानामा। 

युबिमले भारतका चर्चित कलाकार रितिक रोशनका निजी ट्रेनरसँग पनि केही समय तालिम लिएका थिए। उनले गल्फमा आयोजना भएको बडिबिल्डिङ प्रतियोगितामा केही मेडल पनि जितेका छन्। हालै उनले गल्फको उत्कृष्ट ट्रेनरको उपाधि पनि जितेका थिए। 

अहिले उनी आफै आफ्नो व्यवसाय खोल्ने तयारीमा छन्। भन्छन्, ‘६ वर्ष अर्काको जिममा काम गरिसके। अहिले यहाँ मेरो इमेज पनि बनेको छ। त्यसैले आफ्नै काम गर्ने योजनामा छु।’

युबिम जिम इन्स्ट्रक्टरका साथै डाइटिसियन पनि हुन्। स्वास्थ्य ज्यानका लागि कस्तो खाना खानुपर्छ यस विषयमा पनि उनले अध्ययन गरेका छन्। 

उनले डाइट सम्बन्धि जानकारी करिब २ सय जनालाई उपलब्ध गराइसकेका छन्। हालै उनले स्मार्ट क्यालोरीस् नाम गरेको एउटा कम्पनी पनि खोलेका छन्। यसबाट राम्रो कमाईं पनि भइरहेको छ। 

‘मसँग २ सयभन्दा बढी मानिसले तालिम लिइसकेका छन्। मेरो ग्राहक राम्रै छ। उनीहरूलाई ट्रेनिङ दिनेदेखि डाइट चार्टको विषयमा पनि जानकारी दिन्छु,’ उनले भने। 

अहिले उनी आफ्नो प्रगतिबाट परिवारका अन्य सदस्य पनि खुसी भएकोमा दंग छन्। 

‘मेरो परिवारलाई पहिला मेरो काम राम्रो लागेको थिएन। होटल म्यानेजमेन्ट पढ्दै गरेको मान्छे, सिधै खेलकुदमा जम्प हान्दा परिवारलाई खासै चित्त बुझेको थिएन। तर, अहिले मेरो सफलताबाट खुसी हुनुहुन्छ,’ उनले भने। 

उनले अझै आफूले धेरै कुरा सिक्न बाँकी रहेको बताए। युबिम दुबईमा नेपालीमाझ पनि निकै लोकप्रिय छन्। 

उनले विगत सुनाउँदै भने, ‘मैले काम गर्ने ठाउँमा पहिले सिकाउने सबै विदेशी मात्र थिए। यहाँका मानिस पनि गोराबाट मात्र सिक्न खोज्थे। अहिले सबै मसँग सिक्न आउँछन्।’

अहिले नेपालमा खाडी मुलुक आउने जुनसुकै नेपालीले मजदुरी मात्र गर्छन् भन्ने सोच विधमान रहेको छ। यस्तो सोच राख्ने नेपालीका लागि गतिलो झापड हुन्, युबिम। 

दुबईमा जमेका युबिमका लागि अहिले अमेरिका र अस्ट्रेलिया भनेको नै युएई हो। उनले यही बसेर आफ्नो परिचय मात्र फेरेका छैनन्, पैसा पनि दह्रो कमाएका छन्। 
यसैले उनी भन्छन्, ‘सपना देखेर मात्र हुदैन। योजना बुनेर मात्र हुदैन। त्यसलाई पुरा गर्न मिहिनेत र अध्ययन जरुरी छ।’

उनीसँग अहिले सीप पनि छ, डिग्री गरेको सर्टिफिकेट पनि। त्यसैले उनले मजदुरको रूपमा भित्रिने देशमा आफ्नो अलगै पहिचान बनाएका छन्। 

प्रकाशित मिति: : 2020-12-09 12:14:00

प्रतिकृया दिनुहोस्