भ्रष्ट सरकार हो, न कुनै भिजन छ न काम गर्ने शैली: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री सशाङ्क कोइरालाले वर्तमान सरकारको कहीँ पनि उपस्थिति नरहेको बताएका छन् ।

मोरङ कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले सरकार दमनका लागि मात्र उपस्थित हुने गरेको बताए । 

उनले सरकारको दमनको सोचको विरुद्धमा देशव्यापी विरोध सभा आयोजना गरिएको बताए ।

कोभिड–१९ जस्तो महामारीको समयमा समेत सरकार भ्रष्टचारमा लिप्त रहेको उनले आरोप लगाए । ‘भ्रष्ट सरकार हो,’ उनले भने, ‘न कुनै भिजन छ न काम गर्ने शैली ।’

विराटनगरमा सोमबार भएको विरोध सभामा महामन्त्री कोइरालाले कोभिडजस्तो महामारी नियन्त्रणको दायित्व सरकारको भए पनि हात उठाएको बताए । ‘मास्क सरकारले दिनुपर्ने भए पनि तपाई–हामी आफैँले लगाएका छौँ,’ उनले भने, ‘कोभिड–१९ जस्तो महामारीमा पनि सरकारले अर्बौको भ्रष्टाचार गर्‍यो ।’

उनले सरकारलाई तीन वर्ष कुनै बाधाविना काम गर्न दिए पनि काम भने गर्न नसकेको बताए ।

कार्यक्रममा महामन्त्री कोइरालाले सम्पूर्ण ध्यान पार्टीलाई एकढिक्का बनाउनमा केन्द्रित रहेको बताए । उनले भने, ‘पार्टी एक भएपछि जतिसुकै माओवादी र एमाले मिलुन्, नेपाली कांग्रेसलाई हराउन सक्दैन ।’

राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले सरकार भ्रष्टचारको सबैभन्दा उचाइमा पुगेको अरोप लागाए । उनले भने, ‘अहिले सरगरमाथाको उचाइ जसरी बढेको छ, त्यसरी नै सरकारको भ्रष्टचार बढेको छ ।’ अहिलेको सरकारले गरिब, किसान कसैको पनि सम्मान गर्न नसकेको जिकिर गरे । वर्तमान सरकारबाट जनताको विश्वास हटिसकेको धारणा रायमाझीको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमित सदस्य सत्यनारायण भगत, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, तरुण दल विराटनगर अध्यक्ष सन्तोष न्यौपानेलगायतले धारणा राखेका थिए । नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बूले कार्यक्रमको सभापतित्व गरेका थिए ।

यसअघि नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले विराटनगरको तीनपैनी चोकबाट निकालेको मोटर साइकल र्‍यालीले नगरको परिक्रममा गरेको थियो । त्यसैगरी नेपाली कांग्रेस मोरङले वीरेन्द्र सभागृहबाट निकालेको र्‍याली जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 

प्रकाशित मिति: : 2020-12-14 15:54:00

प्रतिकृया दिनुहोस्