माधव ढुङ्गेल
एकीकरणको घोषणा गरेको ३१ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको नौ महिना लामो विवाद अन्ततः संघीय संसद्को विघटन र पार्टी विभाजनमा पुगेर टुंगिएको हो ।
अब यसको असरस्वरुप प्रदेश सरकारहरु पनि ढल्न थाल्ने छन् । दुवै समूहको दाबीका कारण निर्वाचन आयोगबाट ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्ने राजनीतिक दल र चुनाव चिन्ह ‘सूर्य’ पनि कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘होल्ड’ हुनसक्ने छ । यसअघि नेकपा अध्यक्षको हैसियतमा निर्वाचन आयोगमा सबै पत्राचार केपी ओलीको नामबाट गरिएका छन्, अध्यक्ष प्रचण्डको नाममा नेकपाले पत्राचार गरेको छैन । त्यसले केन्द्रीय कमिटीको ६० प्रतिशत बहुमत प्रस्तुत गर्न सके नेकपा दल र सूर्य चिन्ह केपी ओली पक्षले पाउने छन् नत्र होल्ड हुने नै संभावना प्रवल छ ।
नेकपा फुटेको छ। त्यसको औपचारिकता पनि आजै दुई केन्द्रीय कमिटी बैठकले दिने छन् । अहिले नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकअल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेका दुई अलग–अलग समूह देखा परेका छन् । ती समूहहरुले आफूलाई नै आधिकारिक पार्टीको स्वरुप दिने तयारी गरेका छन् । आकार लिइसक्न अझै केही समय लाग्ने छ ।
नेकपाका दुवै समूहले आज आ–आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास, बालुवाटारमा बिहान नौ बजे केन्द्रीय कमिटी बैठक डाकेका छन् भने प्रचण्ड–नेपाल पक्षले अपरान्ह १ बजे कार्की ब्याङ्क्वेट, बबरमहलमा । बिहान नौ बजे केन्द्रीय कमिटी बैठक डाकिएको जानकारी नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले सदस्यहरुलाई जानकारी दिएका छन् भने नेकपा केन्द्रीय कार्यालयका अर्का सचिव श्रीराम ढकालले दिउँसो १ बजे बैठक बस्ने सूचना पठाएका छन् ।
पार्टी एकतापछि साविक एमाले अध्यक्ष केपी शर्मा ओली र साविक माओवादीकेन्द्रबाट प्रचण्ड अध्यक्ष भएजस्तै कार्यालयसचिव पनि एमालेका तर्फबाट रिजाल र माओवादीबाट ढकाल राखिएका थिए । दुवैले आ–आफ्नो पूर्वसमूहका अध्यक्षले नेतृत्व गर्ने समूहको बैठक डाकेका हुन् ।
प्रचण्डले नेतृत्व गरेको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने लगभग निश्चित छ । यससम्बन्धी प्रस्ताव प्रचण्ड–नेपाल समूहले पुस ५ गते बालुवाटारमै स्थायी कमिटी बैठक राखेर तयार पारिसकेको छ । यो निर्वाचन आयोगमा सोमबारै लेखी पठाइसकेको छ तर प्रचण्ड समूहले ओलीलाई हटाउने प्रक्रियास्वरुप प्रधानमन्त्री ओलीसँग लागि ‘स्पष्टीकरण’ चाहिँ सोधेको छैन । ओलीकहाँ त्यस्तो कुनै प्रष्टीकरणको पत्र नआएको उनको सचिवालयले जनकारी दियो ।
ओली समूहले त्यसभन्दा अघि नै बैठक राख्नुको उद्देश्य अनुमान गर्न सकिन्छ– ओलीका कदमलाई समर्थन गर्दै विभिन्न प्रस्ताव पारित गर्ने छ । संसद् विघटनको समर्थन गर्ने छ ।
प्रचण्ड–नेपाल समूहको संसद् पुनर्बहालीमा जोड
प्रचण्ड–नेपाल समूहका क्रियाकलापको भर्त्सना गर्ने छ । प्रचण्ड र नेपाललाई पदअनुकूल आचरण नगरेको भन्दै कारवाही गर्ने संभावना छ । नेकपाका दुई अलग समूह औपचारिक रुपमा अस्तित्वमा देखा पर्नेछन् ।
संसद् विघटनसँगै ओली समूह साविक नेकपा (एमाले) लाई नै समेटेर पार्टीको स्वरुप दिने तयारीमा देखिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म ओली समूहले त्यही ढंगले ध्रुवीकरण भएको छ । प्रचण्ड–नेपाल समूह चाहिँ संसद् विघटनलाई अवैधानिक सावित गर्ने प्रयासमा छ । सोमबारै काँग्रेस केन्द्रीय कार्यालयमा बसेको नेकपा (प्रचण्ड समूह), कांग्रेस र जनता समाजवादी पार्टीको बैठकमा प्रचण्डले तीनै दलले चुनावमा नजाने घोषणा गरेर विघटित संसद् पुनर्बहालीको आन्दोलन गर्नुपर्ने बताएका थिए । उनले तीनै दलका सांसद्को हस्ताक्षरसहित संसद् पुनर्बहालीका लागि सर्वोच्च अदालत जान पनि प्रस्ताव गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे आ–आफ्नै दलभित्र छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएका थिए ।
प्रचण्ड नेपाल समूहले सोमबार अपरान्ह नयाँ वानेश्वरमा आफू पक्षधर विघटित प्रतिनिनिधिसभाको बैठक राख्यो, जसमा प्रतिनिधिसभाका ८७ जना सदस्य उपस्थित भएको दाबी गरिएको छ । त्यहाँबाट विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर सहित सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्बहालीको मुद्दा हाल्ने निर्णय ग¥यो । प्रचण्डलाई ‘विघटित प्रतिनिधिसभाको संसदीय दलको नेता चयन’ गर्यो र निर्वाचन आयोगमा लेखेर पठाउने निर्णय गर्यो । राष्ट्रपतिबाट संसद् विघटन गरेलगत्तै संसद्मा दर्ता गरिएको अविश्वास प्रस्तावमा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो ।
प्रधानमन्त्री ओली पक्षले पनि सोमबारै आफू पक्षधर राष्ट्रियसभा र विघटित प्रतिनिधिसभा सदस्यको बैठक राखी परिस्थितिबारे प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । आफ्नो भेलामा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११४ जना उपस्थित रहेको दाबी गर्ने सो समूहको भेलामा प्रधानमन्त्रीले जनतासँग माफी भागेर चुनावको तयारी गर्न सबैलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीप्रति आक्रोशित प्रचण्ड नेपाल समूह चुनावभन्दा पनि प्रतिनिधिसभा पुनस्र्थापनाकै उपायको खोजीमा जोड दिएको छ । सभामुख अग्नि सापकोटाको ‘विशेष अधिकार’ प्रयोग गरेर प्रतिनिधिसभा व्युँतिएको घोषणा गराउनेसम्मको प्रयत्नमा छ । सो समूहले सोमबारै कानून व्यवसायीहरुसँग परामर्श पनि गरेको छ ।
चुनाव चिन्ह र नेकपा ‘होल्ड’ हुनसक्ने
नेकपा केन्द्रीय कमिटीको आज अलग–अलग बस्ने दुई वटा बैठकले आफूलाई वास्तविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको दाबी गर्ने छन् । अर्को समूहका अध्यक्षलाई कारवाही गरेको घोषणा हुनेछन् । निर्वाचन आयोगलाई पनि यही विषय लेखेर पठाउने छन् तर निर्वाचन आयोगले प्रचण्ड समूहको दाबीलाई त्यति सजिलै स्वीकार गर्नसक्ने छैन । त्यहाँ यसअघिका पत्राचार अध्यक्ष केपी ओलीको नामबाट भएको छ ।
पार्टी एकीकरण भएको पाँच वर्षसम्म सो दल विभाजित हुन नसक्ने कानूनी व्यवस्था छ । दलत्याग ऐनको संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतले दल विभाजित गर्न सक्ने कानूनी व्यवस्थाले पनि यहाँ काम गर्ने छैन । ६० प्रतिशत केन्द्रीय सदस्य ओली पक्षले प्रस्तुत गर्न सकेमा नेकपा र सूर्य सो पक्षले पाउने संभावना छ तर आयोगमा नेकपा अध्यक्ष ओली रहेकाले पनि प्रचण्ड पक्षले ६० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर पेश गरे पनि त्यो पाउने संभावना न्यून रहेको स्रोतको दाबी छ ।
ओली पक्षले भने नेकपा (एमाले) र चुनाव चिन्ह सूर्यको दाबी गर्ने छ । यदि सूर्य चिन्ह नपाएमा ‘झुल्के घाम’ भए पनि सो पक्षले दाबी गर्ने तयारी गरेको छ । गत भदौमा नेकपा एमाले दर्ता गर्ने व्यक्ति स्वयम् महेश बस्नेतनिकट भएकाले ओली पक्षलाई नयाँ दल बनाउन सहज छ ।
नेकपा र सूर्य चिन्ह नपाएमा प्रचण्ड पक्षलाई भने असहज हुने छ । यसै बहानामा चुनावमा नजाने निर्णय गर्न पनि सो समूहलाई सजिलो हुने छैन । त्यसैले पनि पुनर्बहालीमा जोड दिएको अर्को पक्षको अनुमान छ ।
यसरी हेर्दा चुनावमा जाँदा ओली पक्षलाई सहज छ भने पुनस्र्थापनाको मागलाई सर्वोच्च अदालतले सदर गरेमा प्रचण्ड पक्षलाई अनुकूल देखिन्छ । संसद् पुनर्बहाली भएमा दुई वर्ष कार्यकाल बाँकी रहने छ । अरु दलको समर्थन जुटाउन सकेमा प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो उनले खोली सकेका छन् । ओलीको प्रधानमन्त्री पद गुम्ने छ । अहिलेको आलोचना हेर्दा प्रतिपक्षमा पनि पुग्न सक्छ ।
रोचक विभाजन र अबको बाटो
साविक एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको ३१ महिना बित्दा दुवै समूहबीच निकै अन्तर्घुलन भएको देखिएको छ । साविक माओवादीका नेता गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु ओलीनिकट पुगेका छन् । अझै राम्ररी नथिग्रिसकेकाले केही तरल नै देखिन्छ तथापि यी नेताहरु ओली समूहमै रहने संभावना बढी देखिन्छ ।
एमालेका पूर्व पार्टीप्रमुख एवम् पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसहित एमाले हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईहरु प्रचण्ड खेमामा पुगेका छन् । प्रचण्डसँग निकट देखिएका वामदेव गौतमले विभाजित कुनै समूहमा नलाग्ने बताइसकेका छन् । नेकपा र सूर्य छाप निर्वाचन आयोगले ‘होल्ड’ गरेमा, एमाले ओलीले व्युँताएमा साविक एमालेका यी नेताहरुलाई ‘नेकपा माओवादी’ को व्यानरमुनि बस्न अझ कठिन हुने छ ।
जे होस्, चुनावी राजनीतिका हिसाबले नेकपाको दुवै समूहको आगामी यात्रा निकै चुनौतीपूर्ण देखिएको छ । संघीय संसद्का दुवै सदनलाई एकै ठाउँमा राखेर हेर्दा नेकपाको दुईतिहाइ बहुमत पुगेका बेला यो दल फुटेको छ । फूटको कारण केवल पदीय झगडा हो । यसले साविक माओवादीको १३ लाख मतदाताको नेता हुन मात्र नपुगेर ४५ लाख मत पाएको पार्टी हुने सपना बोकेका प्रचण्डको सपनालाई त ओलीले ‘दिवास्वप्न’ बनाएका छन् नै, दुईतिहाइ बहुमतको प्रधानमन्त्रीले पनि देश हाँक्न नसकेको धब्बा पनि कम्युनिष्ट पार्टीमाथि लागेको छ । एकले अर्को नेतालाई देखाउने प्रतिस्पर्धामा नेकपा रुपी डुंगा पल्टेको छ । यसबाट को–को पौडिएर पार हुने हुन्, को–को डुब्ने हुन् ? त्यो हेर्न भने केही समूह कुर्नै पर्ने छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया