नेकपाले थाल्यो– दुई दलको अभ्यास, नेकपा र सूर्य चिन्ह कसैले पनि नपाउने गरी ‘होल्ड’ हुने संभावना 

 

एकीकरणको घोषणा गरेको ३१ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको नौ महिना लामो विवाद अन्ततः संघीय संसद्को विघटन र पार्टी विभाजनमा पुगेर टुंगिएको हो ।

अब यसको असरस्वरुप प्रदेश सरकारहरु पनि ढल्न थाल्ने छन् । दुवै समूहको दाबीका कारण निर्वाचन आयोगबाट ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्ने राजनीतिक दल र चुनाव चिन्ह ‘सूर्य’ पनि कसैले पनि प्रयोग गर्न नपाउने गरी ‘होल्ड’ हुनसक्ने छ । यसअघि नेकपा अध्यक्षको हैसियतमा निर्वाचन आयोगमा सबै पत्राचार केपी ओलीको नामबाट गरिएका छन्, अध्यक्ष प्रचण्डको नाममा नेकपाले पत्राचार गरेको छैन । त्यसले केन्द्रीय कमिटीको ६० प्रतिशत बहुमत प्रस्तुत गर्न सके नेकपा दल र सूर्य चिन्ह केपी ओली पक्षले पाउने छन् नत्र होल्ड हुने नै संभावना प्रवल छ ।

नेकपा फुटेको छ। त्यसको औपचारिकता पनि आजै दुई केन्द्रीय कमिटी बैठकले दिने छन् । अहिले नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकअल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेका दुई अलग–अलग समूह देखा परेका छन् । ती समूहहरुले आफूलाई नै आधिकारिक पार्टीको स्वरुप दिने तयारी गरेका छन् । आकार लिइसक्न अझै केही समय लाग्ने छ ।

नेकपाका दुवै समूहले आज आ–आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक पुस ७ गतेका लागि डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास, बालुवाटारमा बिहान नौ बजे केन्द्रीय कमिटी बैठक डाकेका छन् भने प्रचण्ड–नेपाल पक्षले अपरान्ह १ बजे कार्की ब्याङ्क्वेट, बबरमहलमा । बिहान नौ बजे केन्द्रीय कमिटी बैठक डाकिएको जानकारी नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले सदस्यहरुलाई जानकारी दिएका छन् भने नेकपा केन्द्रीय कार्यालयका अर्का सचिव श्रीराम ढकालले दिउँसो १ बजे बैठक बस्ने सूचना पठाएका छन् । 

पार्टी एकतापछि साविक एमाले अध्यक्ष केपी शर्मा ओली र साविक माओवादीकेन्द्रबाट प्रचण्ड अध्यक्ष भएजस्तै कार्यालयसचिव पनि एमालेका तर्फबाट रिजाल र माओवादीबाट ढकाल राखिएका थिए । दुवैले आ–आफ्नो पूर्वसमूहका अध्यक्षले नेतृत्व गर्ने समूहको बैठक डाकेका हुन् ।

प्रचण्डले नेतृत्व गरेको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने लगभग निश्चित छ । यससम्बन्धी प्रस्ताव प्रचण्ड–नेपाल समूहले पुस ५ गते बालुवाटारमै स्थायी कमिटी बैठक राखेर तयार पारिसकेको छ । यो निर्वाचन आयोगमा सोमबारै लेखी पठाइसकेको छ तर प्रचण्ड समूहले ओलीलाई हटाउने प्रक्रियास्वरुप प्रधानमन्त्री ओलीसँग लागि ‘स्पष्टीकरण’ चाहिँ सोधेको छैन । ओलीकहाँ त्यस्तो कुनै प्रष्टीकरणको पत्र नआएको उनको सचिवालयले जनकारी दियो । 

ओली समूहले त्यसभन्दा अघि नै बैठक राख्नुको उद्देश्य अनुमान गर्न सकिन्छ– ओलीका कदमलाई समर्थन गर्दै विभिन्न प्रस्ताव पारित गर्ने छ । संसद् विघटनको समर्थन गर्ने छ । 

प्रचण्ड–नेपाल समूहको संसद् पुनर्बहालीमा जोड

प्रचण्ड–नेपाल समूहका क्रियाकलापको भर्त्सना गर्ने छ । प्रचण्ड र नेपाललाई पदअनुकूल आचरण नगरेको भन्दै कारवाही गर्ने संभावना छ । नेकपाका दुई अलग समूह औपचारिक रुपमा अस्तित्वमा देखा पर्नेछन् ।

संसद् विघटनसँगै ओली समूह साविक नेकपा (एमाले) लाई नै समेटेर पार्टीको स्वरुप दिने तयारीमा देखिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म ओली समूहले त्यही ढंगले ध्रुवीकरण भएको छ । प्रचण्ड–नेपाल समूह चाहिँ संसद् विघटनलाई अवैधानिक सावित गर्ने प्रयासमा छ । सोमबारै काँग्रेस केन्द्रीय कार्यालयमा बसेको नेकपा (प्रचण्ड समूह), कांग्रेस र जनता समाजवादी पार्टीको बैठकमा प्रचण्डले तीनै दलले चुनावमा नजाने घोषणा गरेर विघटित संसद् पुनर्बहालीको आन्दोलन गर्नुपर्ने बताएका थिए । उनले तीनै दलका सांसद्को हस्ताक्षरसहित संसद् पुनर्बहालीका लागि सर्वोच्च अदालत जान पनि प्रस्ताव गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे आ–आफ्नै दलभित्र छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएका थिए । 

प्रचण्ड नेपाल समूहले सोमबार अपरान्ह नयाँ वानेश्वरमा आफू पक्षधर विघटित प्रतिनिनिधिसभाको बैठक राख्यो, जसमा प्रतिनिधिसभाका ८७ जना सदस्य उपस्थित भएको दाबी गरिएको छ । त्यहाँबाट विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर सहित सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्बहालीको मुद्दा हाल्ने निर्णय ग¥यो । प्रचण्डलाई ‘विघटित प्रतिनिधिसभाको संसदीय दलको नेता चयन’ गर्‍यो र निर्वाचन आयोगमा लेखेर पठाउने निर्णय गर्‍यो । राष्ट्रपतिबाट संसद् विघटन गरेलगत्तै संसद्मा दर्ता गरिएको अविश्वास प्रस्तावमा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो । 

प्रधानमन्त्री ओली पक्षले पनि सोमबारै आफू पक्षधर राष्ट्रियसभा र विघटित प्रतिनिधिसभा सदस्यको बैठक राखी परिस्थितिबारे प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । आफ्नो भेलामा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११४ जना उपस्थित रहेको दाबी गर्ने सो समूहको भेलामा प्रधानमन्त्रीले जनतासँग माफी भागेर चुनावको तयारी गर्न सबैलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीप्रति आक्रोशित प्रचण्ड नेपाल समूह चुनावभन्दा पनि प्रतिनिधिसभा पुनस्र्थापनाकै उपायको खोजीमा जोड दिएको छ । सभामुख अग्नि सापकोटाको ‘विशेष अधिकार’ प्रयोग गरेर प्रतिनिधिसभा व्युँतिएको घोषणा गराउनेसम्मको प्रयत्नमा छ । सो समूहले सोमबारै कानून व्यवसायीहरुसँग परामर्श पनि गरेको छ । 

चुनाव चिन्ह र नेकपा ‘होल्ड’ हुनसक्ने

नेकपा केन्द्रीय कमिटीको आज अलग–अलग बस्ने दुई वटा बैठकले आफूलाई वास्तविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको दाबी गर्ने छन् । अर्को समूहका अध्यक्षलाई कारवाही गरेको घोषणा हुनेछन् । निर्वाचन आयोगलाई पनि यही विषय लेखेर पठाउने छन् तर निर्वाचन आयोगले प्रचण्ड समूहको दाबीलाई त्यति सजिलै स्वीकार गर्नसक्ने छैन । त्यहाँ यसअघिका पत्राचार अध्यक्ष केपी ओलीको नामबाट भएको छ । 

पार्टी एकीकरण भएको पाँच वर्षसम्म सो दल विभाजित हुन नसक्ने कानूनी व्यवस्था छ । दलत्याग ऐनको संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतले दल विभाजित गर्न सक्ने कानूनी व्यवस्थाले पनि यहाँ काम गर्ने छैन । ६० प्रतिशत केन्द्रीय सदस्य ओली पक्षले प्रस्तुत गर्न सकेमा नेकपा र सूर्य सो पक्षले पाउने संभावना छ तर आयोगमा नेकपा अध्यक्ष ओली रहेकाले पनि प्रचण्ड पक्षले ६० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर पेश गरे पनि त्यो पाउने संभावना न्यून रहेको स्रोतको दाबी छ । 

ओली पक्षले भने नेकपा (एमाले) र चुनाव चिन्ह सूर्यको दाबी गर्ने छ । यदि सूर्य चिन्ह नपाएमा ‘झुल्के घाम’ भए पनि सो पक्षले दाबी गर्ने तयारी गरेको छ । गत भदौमा नेकपा एमाले दर्ता गर्ने व्यक्ति स्वयम् महेश बस्नेतनिकट भएकाले ओली पक्षलाई नयाँ दल बनाउन सहज छ ।
नेकपा र सूर्य चिन्ह नपाएमा प्रचण्ड पक्षलाई भने असहज हुने छ । यसै बहानामा चुनावमा नजाने निर्णय गर्न पनि सो समूहलाई सजिलो हुने छैन । त्यसैले पनि पुनर्बहालीमा जोड दिएको अर्को पक्षको अनुमान छ ।

यसरी हेर्दा चुनावमा जाँदा ओली पक्षलाई सहज छ भने पुनस्र्थापनाको मागलाई सर्वोच्च अदालतले सदर गरेमा प्रचण्ड पक्षलाई अनुकूल देखिन्छ । संसद् पुनर्बहाली भएमा दुई वर्ष कार्यकाल बाँकी रहने छ । अरु दलको समर्थन जुटाउन सकेमा प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो उनले खोली सकेका छन् । ओलीको प्रधानमन्त्री पद गुम्ने छ । अहिलेको आलोचना हेर्दा प्रतिपक्षमा पनि पुग्न सक्छ ।


रोचक विभाजन र अबको बाटो

साविक एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको ३१ महिना बित्दा दुवै समूहबीच निकै अन्तर्घुलन भएको देखिएको छ । साविक माओवादीका नेता गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु ओलीनिकट पुगेका छन् । अझै राम्ररी नथिग्रिसकेकाले केही तरल नै देखिन्छ तथापि यी नेताहरु ओली समूहमै रहने संभावना बढी देखिन्छ । 

एमालेका पूर्व पार्टीप्रमुख एवम् पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसहित एमाले हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईहरु प्रचण्ड खेमामा पुगेका छन् । प्रचण्डसँग निकट देखिएका वामदेव गौतमले विभाजित कुनै समूहमा नलाग्ने बताइसकेका छन् । नेकपा र सूर्य छाप निर्वाचन आयोगले ‘होल्ड’ गरेमा, एमाले ओलीले व्युँताएमा साविक एमालेका यी नेताहरुलाई ‘नेकपा माओवादी’ को व्यानरमुनि बस्न अझ कठिन हुने छ ।

जे होस्, चुनावी राजनीतिका हिसाबले नेकपाको दुवै समूहको आगामी यात्रा निकै चुनौतीपूर्ण देखिएको छ । संघीय संसद्का दुवै सदनलाई एकै ठाउँमा राखेर हेर्दा नेकपाको दुईतिहाइ बहुमत पुगेका बेला यो दल फुटेको छ । फूटको कारण केवल पदीय झगडा हो । यसले साविक माओवादीको १३ लाख मतदाताको नेता हुन मात्र नपुगेर ४५ लाख मत पाएको पार्टी हुने सपना बोकेका प्रचण्डको सपनालाई त ओलीले ‘दिवास्वप्न’ बनाएका छन् नै, दुईतिहाइ बहुमतको प्रधानमन्त्रीले पनि देश हाँक्न नसकेको धब्बा पनि कम्युनिष्ट पार्टीमाथि लागेको छ । एकले अर्को नेतालाई देखाउने प्रतिस्पर्धामा नेकपा रुपी डुंगा पल्टेको छ । यसबाट को–को पौडिएर पार हुने हुन्, को–को डुब्ने हुन् ? त्यो हेर्न भने केही समूह कुर्नै पर्ने छ । 
   
 

प्रकाशित मिति: : 2020-12-22 07:00:00

प्रतिकृया दिनुहोस्