माधवको ढाडमा टेकेर ओलीलाई ढाल्न खोज्दा प्रचण्ड सडकमा पछारिए: मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनावमा लुम्बिनी प्रदेश नेकपा ओली पक्षमय हुने बताएका छन्। उनले सरकारले बैशाखमा तोकेको चुनावमा विगतको भन्दा राम्रो जनमत ल्याउने दावी गरे।

नेकपा कम्युनिष्ट पार्टी ओली पक्षले  बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ओली नेतृत्वको पार्टीले नै बहुमत ल्याउने समेत जिकिर गरेका हुन्।

'प्रचण्डको गढ भनिएको रोल्पा र रुकुम हाम्रो पक्षमा आउँदैछ। बाँके, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लामा अघिल्लो चुनावमा हारेको ठाउँमा हामीले जित्दैछौ’ उनले भने। जनयुद्धको समयमा प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति लिएकाे बताउँदै, अहिले पनि माधवको ढाडमा टेकेर ओलीलाई ढाल्न खोज्दा प्रचण्ड सडकमा पछारिएको उनको भनाइ छ।

उनले भने, 'माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे। अहिले सडकमा ‘हामी यहाँ छौ’ भन्दै रोइकराइ गर्दैछन्।'

मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश सक्षम रहेको बताए। सबैभन्दा बढी पुँजीगत खर्च गरेर आफूहरुले उत्कृष्टताको नमूना प्रदान गरेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-02-13 15:50:00

प्रतिकृया दिनुहोस्