एक दशकदेखि फलामे साङलोमा फूलराम [भिडियोसहित]

लामो कपाल। फुस्स परेका दाह्री। माथिल्लो शरीरमा जताजतै च्यातिएको ज्याकेट लगाएका छन्। तल्लो शरिरमा लुगा पनि छैन। लाज ढाक्न सिरकको खोल बेरेका छन्।

दुवै खुट्टा बाँधिएको अवस्थामा छन्। उनी त्यहीँ दिसापिसाब गर्छन्। उनीभन्दा माथि झुण्ड्याइएको अवस्थामा देखिन्छन्, एकथान फोहोर कपडा।

यो दूरावस्था मानसिक सन्तुलन ठीक नभएका ४३ वर्षीय फूलराम थारूको हो। उनी गाईबस्तुजस्तै खम्बामा बाँधिएका छन्। फलामको साङलोले हात र खुट्टामा बाँधेर राखिएको छ।

उनी राती गाई गोरुसँग सुत्छन्। दिउँसो गाईबस्तु चर्न जान्छन्। उनी एक्लै गोठभित्र साङलोमा बाँधिएर बस्छन्।

फूलरामकी आमा पार्वती थारु ६० वर्ष भइन्। उनी बर्दियाको बाँसगढी नगरपालिका– ४ शंखरियाकी स्थायी बासिन्दा हुन्। पार्वतीका पतिलाई बूढेसकाल र रोगले गाँजेको छ, राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। जेठो छोराको यो हाल छ। अरु छोराहरु भारतमा मजदुरी गर्छन्।

फागुन ५ गते बिहान १० बजेतिर शंखरियास्थित घरमा पुग्दा चिसो बतास चलिरहेको थियो। घरको छेउमै एउटा गोठ छ। भित्र पराल र गोबरका थुप्रा छन्।

भित्र छिर्न नपाउँदै ह्वास्सै गन्हाउँछ। त्यहाँ भित्रको एउटा खम्बा पनि छ। जसमा फूलराम फलामको साङलोमा बाँधिएर वर्षौंदेखि जीवन व्यतित गरिरहेका छन्।

साङलोभित्रको कैदीजस्तो जीवनमा उनले कति ठण्डी काटे, कति गर्मी बेहोरे। कति लामखुट्टे, उपियाँ र उडुसले टोके। त्यसको पत्तो छैन उनलाई। दुख्न छोडिसक्यो उसको शरिर।

दुखेको अनुभूत गर्दैनन् उनी। बेला–बेलामा उठ्न खोज्छन्। यताउति गर्न खोज्छन् तर उनी निरीह छन्। उनलाई सुन्ने पनि कोही छैन। घरी–घरी चिच्याउँछन्। आँशु खसाल्छन्।

निर्जीव वस्तुले उनको चित्कार सुन्दैन। मानिसहरुले उनलाई मानसिक रोगीको बिल्ला भिराएर गोठमा थुनेर राखेका छन्। चार पटक जति त सर्पले टोक्यो उनको शरीरमा। दुनियाँको रमिते बनेका उनले विष पनि पचाए।

फूलराम थारूको मानसिक अवस्था बिग्रिएको २०५७ सालदेखि हो। एक्कासी मानसिक सन्तुलन गुमेपछि छिमेकीहरुलाई लखेट्ने, अपशब्द प्रयोग गर्ने र एकै ठाउँमा नबस्ने भएपछि गोठभित्र बाँधेर राखिएको पाइएको छ। त्योभन्दा अघि परिवारले फूलरामलाई उपचारको लागि प्रयास नगरेको होइन्।

फूलरामकी आमा पार्वतीले दुखेसो सुनाइन्– ऋण निकालेर उपचारको लागि अस्पताल समेत पुर्‍याएको। 'झारफुक पनि गराएँ तर निको भएन', उनले भनिन्,  'समाजमा धेरै बिराम गर्‍यो। गाउँलेकै दबाबमा साङलोले बाँधेर राखेकी छु।'

फूलरामबारे कुरा गर्दा पार्वतीका आँशु थामिएनन्। बलिन्द्र धारा आँशु खसाल्दै उनले भनिन्, ‘१० महिना कोखमा बोकेर जन्माएँ। काखमा खेलाएँ। माया लाग्छ। फलामे साङलोले छोरो बाँधिएको छ। उनको अवस्था हेर्दा मेरो मन भक्कानिन्छ। तपाईंको सहयोग चाहिएको छ।’

उनको अवस्थाको विषयमा सिंगो गाउँ मात्र होइन, सरकार पनि जानकार छ तर उद्धारको लागि अहिलेसम्म कसैले पहल लिएको छैन। पार्वती जब–जब छोराको कारुणिक अवस्थाको बारेमा सोच्छिन्, उनलाई चुनावको बेला नेताहरुले गरेको आश्वासन याद आउँछ।

स्थानीयको चुनावताका बाँसगढीका मेयर, वडा–अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु सबै उसको घर आएका थिए। उपचारको लागि आस्वासन पनि दिएका दिए। भोट मागे। चुनाव जितेर गएपछि एकपटक पनि घर फर्किनन्।

आश्वासन दिएर भोट मागेकाहरु नफर्किएपछि पनि उनलाई साङलोबाट निकालिएन। एक दशकभन्दा बढी समयसम्म राख्दा ताल्चामा समेत खियाँ लागिसकेको छ। वडाले  उनको रातो कार्ड बनाइदिएको छ।

मानसिक सन्तुलन गुमाएका उनलाई अपांगता भएका व्यक्तिको रुपमा कार्ड बनाइएको हो। राज्यले दिने उक्त रकम घर परिवारले उनको उपचारको लागि खर्च गर्न सकेको छैन।

यसमा विषयमा बिएल नेपाली सेवाले उक्त वडाका अध्यक्षसँग जिज्ञासा राख्यो। उनले फूलारामको विषयमा आफू जानकार रहेको बताए।

वडा नम्बर ४ का अध्यक्ष रजमान चौधरीका अनुसार वडाले उनको उपचारको लागि सहयोग गरेको हो। तर उनले भनेको जस्तो  फुलारामको उपचारको लागि पहल गरेको भने देखिदैन।

सामान्य कार्ड बाहेक अन्य कुनै पनि पहल भएको देखिदैन। किन भने वडा अध्यक्ष जानकार भएको बताउँदा पनि उनको उपचारको लागि कुनै पहल स्थानीय सरकारले गर्न सकेन।

फुलारामको परिवार पहिले कमलरी बसेको थियो। उनका बुवाले लामो समय अर्काको घरमा काम गर्थे। छिमेकीहरुका अनुसार फुलाराम पनि मानसिक अवस्था ठिक हुँदासम्म अर्काको घरमा काम गरेर गुजारा चलाउँथे। अहिले पनि थारु परिवार ज्यालामजदुरी गरेरै जिविकोपार्जन गर्दै आएको छ।
 

प्रकाशित मिति: : 2021-03-03 07:14:00

प्रतिकृया दिनुहोस्