म्यान्मारका सुरक्षाकर्मीद्वारा पत्रकार पक्राउको प्रयास

Photo - Myanmar Now
Photo - Myanmar Now

म्यान्मारको सैनिक सरकारले सैन्य कूविरूद्धको आन्दोलनमा रिपोर्टिङ गर्न राजधानी नेपिटो पुगेका पत्रकारहरुलाई  पक्राउ गर्ने प्रयास गरेको छ।

जुन्ता सरकारविरूद्धको सडक प्रदर्शनको तस्वीर र भनाइहरू क्यामेरामा कैद गर्दैगर्दा सुरक्षाकर्मीले उनीहरूलाई पक्राउ गर्न खोजेको विदेशी मिडियामा कार्यरत सञचारकर्मीले  बताएका छन्।

आन्दोलनको भीडतर्फ सुरक्षाकर्मी प्रवेश गरेसँगै पत्रकारहरूको भागाभाग भएको थियो।

पाँच जनाको समूहमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरू हाइस्कुलअगाडि जुलुसको भिडियो खिचिरहेका थिए।

सरकारी सुरक्षाकर्मीले उनीहरूलाई रोक्नका लागि आग्रह गरेको थियो। सैन्य सत्ताले प्रजातन्त्रको हत्यासँगै प्रेस स्वतन्त्रतामाथि पनि अंकुश लगाउने काम गर्न थालेको पत्रकारको आरोप छ।

सैन्य कूपछि सडक आन्दोलनमा समाचार बनाउन खटिएका पत्रकारमाथि हस्तक्षेप गर्ने सुरक्षाकर्मीको यो प्रयास पहिलो होइन।

केही दिनअघि मात्रै मिचिनामा कार्यरत विभिन्न सञ्चार संस्थाका पत्रकारलाई प्रहरीले आक्रमण गरेको ऐरावती दैनिक पत्रिकाले जनाएको छ।

सैन्य 'कू'पछि देशका कतिपय स्थानमा पत्रकारमाथि सेनाले बन्दुक तेर्स्याएका दृश्यहरू समेत समाजिक सञ्जालमा भाइरल बनेका छन्। म्यान्मारमा पछिल्लो समय पत्रकारहरू असुरक्षित बन्दै गएकोप्रति त्यहाँका मानवअधिकारवादी संस्थाले आपत्ति जनाएको छ।

यसैबीच म्यान्मार प्रेस काउन्सिलमा कार्यरत २६ सदस्यमध्ये २४ जनाले राजीनामा दिएका छन्।

जुन्ता शासनपछि देशमा स्वतन्त्रतापूर्वक मिडियामा काम गर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।

प्रकाशित मिति: : 2021-02-25 16:15:00

प्रतिकृया दिनुहोस्