साउदीका 'हेल्पर' बने होमस्टे मालिक

कर्मशील युवा–१

दिनेश थापा (२७) होमस्टे व्यवसायी हुन्।

तीन वर्ष साउदीअरेबियामा मजदुरी गरेर फर्किएका उनी होमस्टे व्यवसायमा लागेका छन्। उनले बाँकेको कोहलपुर–१४ निवासी उनले कक्षा १२ सम्म औपचारिक शिक्षा पूरा गरे। 

स्नातक तहको पढाइ हापेर उनी पैसा कमाउन विदेश हानिएका थिए। जहाँ उनले तीन वर्ष बिताए। उनी त्यहाँ मेकानिकल काम गर्थे, असिस्टेन (सहयोगी) को रुपमा।

तीन वर्षअघि विदेश जाँदा उनमा धेरै ठूलो सपना थिएन। थियो त केवल पैसा कमाउने। त्यही सपना देखेर विदेश हानिएका थिए। वैदेशिक यात्रा उनको सपनाको साझेदार बन्यो। खासगरी आर्थिक रुपमा।

साउदीमा हुदाँको पल सम्झदै उनी भन्छन्, ‘जब म साउदी अरबमा गए। त्यहाँ मरुमूमिमा हरिया तरकारी फुलिरहेको देखे। बालुवामा हरियो वनजंगल बनाइएको थियो। हाम्रो नेपालमा त प्रशस्तै माटो छ। पानी छ । जमीन छ। त्यहाँ मलाई केही गर्नुपर्छ भन्ने लाग्यो।’

तीन वर्षको वैदेशिक रोजगारी सकाएर उनी  अर्गानिक व्यवसाय गर्ने सोचका साथ आफ्नै भूमिमा फर्किए।  विदेशमा कमाएको अलिअलि पैसा थियो। भर्खरै उदाउँदो जवानी पनि।

आफ्ने व्यावसायिक कर्मका विषयमा उनले घरमा आमाबुबासँग सल्लाह गरे। अन्ततः  होमस्टे व्यवसाय गर्ने निष्कर्षमा पुगे। उनका आमाबुबा पनि लामो समयदेखि साना होटल व्यवसायमै छन्।

होमस्टे व्यवसायमा समेत उनले ‘अर्गानिक ब्राण्ड’ रोजे। नाम पनि ‘अर्गानिक होमस्टे’ जुराइयो। विशेषत कर्णालीमा प्रचूर मात्रामा पाइने अर्गानिक वस्तु अहिले अन्तर्राष्ट्रिय ब्राण्ड नै बनेको छ।

जुम्लाको काली मार्सी अहिले विश्व बजारमा समेत पुग्न थालिसकेको छ। यहिँ ब्राण्ड समाते दिनेशले पनि। यति मात्रै होइन, तराईमा फल्ने अर्गानिक खाद्यवस्तु, विभिन्न परिकारको मिश्रणसमेत त्यहाँ पाइन्छ। जुन अरु ठाउँमा बिरलै पाउँछ।

होमस्टेको उनले एक महिनाअघि उद्घाटनसमेत गरिरसकेका छन्। अर्गानिक होमस्टेको उद्घाटन उनले एक मुटुरोगी महिलालाई आर्थिक सहयोग गरेका थिए। 

अहिले व्यवस्थापन  तीव्र रुपमा भइरहेको उनले बताए। उनी नयाँ वर्षको अवसर पारेर पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारीमा छन्।

उनी अहिले पनि सम्झिन्छन्, साउदीअरेबियाको मरुभूमि र त्यहाँ भित्रको सुन्दर  र हरियाली। मरुभूमिको विकासले उनलाई लोभ्याउँछ। खासमा पहिलोपटक मरुभूमिमा हरियो तरकारी देख्दा उनी अचम्ममा परेका थिए।

‘मरुभूमिमा पनि तरकारी। हामी त्यहीँ खान्थ्यौँ मलाई हाम्रै देशबाट आउँछ कि जस्तो लाग्थ्यो तर त्यही उत्पादन गरिँदो रहेछ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने।

नेपाल फर्किएर जसरी पनि अर्गानिक व्यवसाय नै गर्नुपर्छ भन्ने लागेर काम सुरु गरेको उनले बताए। अरबमा फुरेको सपना उनले अहिले आफ्नै माटोमा पूरा गर्ने कोशिशमा गर्दैछन्।

हरेक छोराछोरीको साथमा आमाबुवाको साथ आवश्यक हुन्छ। छोराछोरीको सफलताको पछाडी  अभिभावकको समेत ठूलो हात हुन्छ।  दिनेशको हकमा ठ्याक्कै यहीँ कुरा लागू हुन्छ।

घरको कान्छो छोरा भएर पनि उनी व्यावसायिक वातावरणमा हुर्किए। अहिले पनि दिनेश बुवा होटल व्यवसायमा संलग्न छन्। उनका दाजुले समेत व्यवसायमा सघाइरहेका छन्। आमा र भाउजू भने होटल र होमस्टेमा सहयोग गरिरहेको उनको भनाइ छ। 

अर्गानिक होमस्टे सम्पूर्ण समुदाय र विभिन्न परिकारहरुको साझा थलो समेत हो। त्यहाँ अर्गानिक वस्तुदेखि तराईमा पाइने परिकार र थारू तथा अन्य समुदायका विशेष परिकार पाइन्छ। त्यहाँको अर्को राम्रो पक्षमा शान्त र सुन्दर रमणीय वातावरण हो।  बाँकेको कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत हवल्दापुरदेखि पूर्वको बाटोमा लाग्नुपर्छ।

आफू यो व्यवसायमा पैसा कमाउनको लागि नभई  स्वदेशमा रोजगारी सिर्जना गर्न लागिपरेको उनी बताउँछन्। 'जीवन सिकाइ हो त्यसैले सबैकुरा सिक्दै जानुपर्छ' भन्ने मान्यता उनको छ। उनी युवा नराम्रो कुरामा मात्रै अग्रसर हुने होइन, राम्रो कुरामा पनि अग्रसर हुनुपर्ने बताउँछन्।

उनले आफूले विदेशमा गएर आत्मनिर्भर बन्नु पर्ने कुरा सिकेर आएको बताए। भने, ‘हामीले आफ्नो धरातल कहित्यै बिर्सनुहुँदैन। अरुबाट पनि धेरै कुरा सिक्नुपर्ने हुन्छ। एउटै क्षेत्रमा समर्पित हुनुपर्छ। एकदिन अवश्य सफल भइन्छ। प्रसास गर्न छोड्नु हुँदैन।’

प्रकाशित मिति: : 2021-04-01 18:59:00

प्रतिकृया दिनुहोस्