साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसङ्ख्या पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (गत साउनलेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

प्राधिकरणको तथ्याङ्कअनुसार गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी प्रयोगकर्ता थपिएका छन्। पुस महिनामा कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ।

कूल जनसङ्ख्यामध्ये ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ। एक करोड १३ लाख बढीको  पहुँचमा थ्रीजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको जनाइएको छ।

त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ई–भिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ रहेका छन्।

प्रकाशित मिति: : 2021-04-02 20:47:00

प्रतिकृया दिनुहोस्