क्यान्सरपीडित बालिकाको अठोट (भिडियोसहित)

क्यान्सर एउटा यस्तो महारोग हो, जसका कारण विश्वमा ९६ लाख मानिसको निधन भइसकेको छ।

सन् २०१८ को विश्व स्वास्थ्य संगठनको रिपोर्टलाई मान्ने हो भने क्यान्सर विश्वमा मानिसहरुको मृत्युको दोस्रो ठूलो कारण हो। 

विश्वमा क्यान्सर रोगबाट बाँचेका धेरै कम उदाहरण छन्। यी थोरै भाग्यमानी भित्र पर्छिन्, एलेक्जेन्ड्रा स्कट। उनको घरको नाम एलेक्स हो, जो इंग्ल्याण्डको कनेक्टिकट भन्ने ठाउँमा बस्थिन्।

उनको जन्म १८ जनवरी १९९६ मा भएको थियो। जन्मिएको महिना दिन नबित्दै क्यान्सरभित्र पनि तेस्रो ठूलो रोग मानिने न्यूरोब्लास्टोमा भएपछि परिवारले उनी जिवित रहन्छिन् भन्ने आशा लगभग छोडिसकेका थिए। पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने यो रोग हरेक ७ हजारमध्ये एक जनालाई हुने गर्छ।

कनेक्टिकट चिल्ड्रेन अस्पतालमा जतिबेला एलेक्स उपचारार्थ थिइन्, उनले आफ्नो बाबु जे तथा आमा लिज स्कटसँग एउटा प्रस्ताव राखिन्। त्यो प्रस्ताव थियो- उनले अस्पतालमा बसेर कागती पानी बनाउने र बुवाआमाले त्यसलाई बेचेर आफू र आफू जस्ता क्यान्सर पीडित बालबालिकाका लागि धनको जोहोगर्ने। उनी ४ वर्षकी थिइन्। उनको यो कुरा सुनेर उपचारमा खटिएका चिकित्सकहरु नै छक्क परेका थिए। 

क्यान्सर जस्तो जब्बर रोगसँग लडिरहेकी एलेक्स चाहन्थिन्- आफू जस्ता बालबालिकालाई क्यान्सर र ट्युमर जस्तो रोग नलागोस्। त्यसैले उनी कलिलो उमेरमै अरुको लागि पैसा जुटाउन चाहन्थिन्। 

यसका लागि उनले सन् २००० मा आफ्नै घर अगाडि कागती पानीको एउटा स्टल राखिन्। र त्यसलाई नाम दिइन्–'एलेक्स लेमोनेड स्ट्यान्ड फर क्यान्सर पेसेन्ट'। यो अभियानको सुरुवातमा करिब दुई हजार डलर संकलन भयो। यतिबेला एलेक्सका परिवारले सोचेका पनि थिएनन्, छोरीको यो अभियान पछि गएर अन्तराष्ट्रिय अभियान बन्ने छ। 

सन् २००१ मा उनको परिवार फिलाडेल्फियामा सर्यो। उनले यहाँ पनि परिवारसमक्ष कागती पानी बेच्ने अभियानलाई निरन्तरता दिने अडान राखिन्। छोरीको अडानको अगाडी परिवारको केही चलेन। उनले फिलाडेल्फियामा करिब १२ हजार डलर संकलन गरिन्। यसपछि त उनको यो अभियान देशब्यापी बन्न पुग्यो। उनको यही कथाबाट प्रेरित भएर विश्वभरीका मानिस क्यान्सर पीडित बालबालिकाको उपचारका लागि पैसा संकलन गर्ने अभियानमा जुटे। 

दयालु हृदयकी एलेक्सको निधन १ अगस्ट २००४ मा भयो। यतिबेला उनी ८ वर्षकी थिइन् र क्यान्सरसँग लडिरहेकी थिइन्। उनको निधन हुँदा १० लाख डलर संकलन भइसकेको थियो। उनको भौतिक शरीर माटोमा बिलय भए पनि उनले सुरु गरेको अभियान हालसम्म जिवित छ।

सन् २००५ मा एलेक्सको बुवाआमाले छोरीको स्मृतिलाई ताजा राख्न बालबालिकाको क्यान्सर उपचारका लागि रकम संकलन गर्ने अभियानलाई जिवित राख्ने घोषणा गरे। हाल उनीहरु 'एलेक्सको लेमोनेड स्ट्यान्ड फाउन्डेशन' मार्फत सक्रिय छन्। फाउन्डेशनले क्यान्सरप्रति जागरूकता बढाएको छ। करिब ४ सय ५० भन्दा बढी अनुसन्धान परियोजनाका लागि कोष उपलब्ध गराएको छ। यस संस्थाले उपचार भइरहेका बालबालिकाको परिवारलाई आर्थिक तथा भावनात्मक दुबै सहयोग उपलब्ध गराउने गर्छ। 

संस्थामार्फत उठेका करोडौं डलर धेरै जसो अनुसन्धानमा खर्च हुने गरेको एलेक्स परिवारको भनाइ छ। यसले पेडियाट्रिक क्यान्सरमा धेरै सफलता पनि पाइसकेको छ। आफ्नो छोरीको सानो प्रयासबाट सुरु भएको यो अभियान विश्वब्यापी बन्दै गएकोमा एलेक्सका बुवाआमा दुबै दंग छन्। र छोरीको याद पनि यसैसँग जोडिएकोमा उनीहरु गर्वान्वित पनि भएका छन्। 

जतिसुकै कष्ट पर्दा पनि एलेक्सले आफ्नो उमेर र रोगलाई अभियानमा तगारो बन्न दिइनन्। उनको यो अभियानले साना मात्र होइन, ठूला व्यक्तिलाई पनि प्रेरित गर्न सफल भयो।

राम्रो काम सुरु गर्न सानो वा ठूलो, धनी वा गरिब कुनै कुराले छेक्दैन्। खालि मानिसमा अठोट हुनुपर्छ भन्ने उदाहरण हुन्, एलेक्स। 

-एजेन्सीहरुको सहयोगमा

नारी शक्ति श्रृंखला

नारी शक्ति श्रृंखला ४. १४ वर्षको उमेरमा सफल उद्यमी
नारी शक्ति श्रृंखला २.जसको हठले विश्व तरंगीत भयो
नारी शक्ति श्रृंखला १.मलालालाई अग्रिम शुभकामना​
प्रकाशित मिति: : 2021-04-06 10:50:00

प्रतिकृया दिनुहोस्