'महिला स्वास्थ्य स्वयंसेविका' उप-मेयर (भिडियो)

सानैदेखि समाजसेवाप्रति रुची थियो, उनको। कसैलाई सहयोग गर्न पाउँदा फुुरूङ हुन्थिन्। 

उनी जन्मिदा समाजमा छोरीहरूलाई उत्ति पढाउने चलन थिएन। घरबाट निस्किन पनि बन्देज लगाइन्थ्यो, छोरीहरूलाई। 

शान्ति नेपाल, ५५। अहिले गोकर्णेश्वर नगरपालिकाको उप-मेयर बनेर नारी सशक्तिकरणका लागि सक्रिय बनेकी छिन्।

लामो समय उनले ‘हेड मास्टर्नी’ भएर शिक्षाको उज्यालो छर्ने काम गरिन्। विगत तीन वर्षदेखि उनी महिलाहरूलाई विकाशमार्फत राज्यको मुलधारमा जोड्ने अभियानमा छिन्। 

शान्तिको जन्म गोकर्णस्थित वडा नम्बर ७ मा भएको हो। उनका बुवा नेपाल प्रहरीमा अनुसन्धन अधिकृत थिए। आमा गृहणी। त्यतिबेला छोरीहरूले घरधन्दा गर्नुपर्छ भन्ने मान्यता थियो। त्यसैले स्कुलमा पढाउन पठाउने चलन थिएन। तर, उनको घर यसको विपरित थियो। शिक्षित परिवारमा जन्मिएका कारण उनलाई स्कुलमा गएर पढ्न खासै गाह्रो भएन। उनले आइएडसम्मको अध्ययन पुरा गरिन्। 



क्यान्सरपीडित बालिकाको अठोट (भिडियोसहित)



पढाईमा उनी सानैदेखि अब्बल थिइन। १६ वर्षको उमेरमै उनी एसएलसी परीक्षा दिएर गाउँमा आफूभन्दा साना भुराभुरीलाई पढाउने काममा लागिसकेकी थिइन। रमाइलो कुरा, उनको बिहे पनि १६ वर्षको उमेरमै भएको थियो। स्वास्थ्य विभागमा कार्यरत द्धारिकानाथ नेपालसँग उनको बिहे भएको थियो। 

विवाह गरेपछि आफ्नो अध्ययन रोकिन्छ कि भन्ने उनलाई लागेको थियो। तर, श्रीमानले पढाउन कञ्जुस गरेनन्। आइएडको अध्ययन समाप्त भएपछि उनले २०३९ सालदेखि स्थानीय गाकर्णेश्वर महादेव इंग्लिस स्कुलमा पढाउन थालिन्। पढाइप्रतिको लगावकै कारण उनी २०४७ देखि २०५७ सालसम्म सोही स्कुलको प्रधानाध्यापिकासमेत बनिन्। 

तर घरायसी कामको चाप बढेपछि उनले अवकास लिएकी हुन्। यद्यपि जागिर छोडेपनि उनले गाउँघरमा महिला हक र अधिकारको कुरा गर्न छोडिनन्। उनी समाजमा सकारात्मक कुरा फैलाउँदै हिड्थिन्। उनी २०५५ सालदेखि नै महिला स्वास्थ्य स्वयंसेविका थिइन्। 

शिक्षक पेशाबाट अवकाश लिएको एक वर्षपछि उनी पुनः सोही पेशामा फर्किइन्। उनले २०५८ सालदेखि गोकर्णकै स्कुल 'सहयोगी उच्च माध्यमिक विद्यालय' मा पढाउन थालेकी थिइन्। जहाँ उनले शिक्षा प्राप्तिका लागि आफ्नो ७ वर्ष दिएकी थिइन्। उनले आफ्नो पढाइको सुरुवात त्यहिँबाट गरेकी हुन्। 

शिक्षक पेशामा लागेकी उनले महिलाहरूको हकहितका लागि पनि काम गर्न छाडिन्न। यहि क्रममा उनले समाज र महिलाका लागि केही गर्ने उदेश्य लिएर एक्कासी राजनीतिमा हाम्फालिन्। 

‘मलाई सानैदेखि समाजसेवा गर्ने खुब रुची थियो। त्यसैले समाजको विकासका लागि राजनीतिमा आउनुपर्छ भन्ने महसुस भयो। यसपछि यतातिर ढल्किए,’ उनले बिएल नेपाली सेवासँग आफू राजनीतिमा लाग्नुको उद्देश्य बताइन्।



सुन्दरी प्याराजम्पर (भिडियोसहित)



नेपाली कांग्रेसबाट टिकट पाएकी शान्तिलाई उनको लगनशीलता तथा समाजप्रति उनको उत्तरदायित्वलाई मनन् गर्दै स्थानीयले पनि तीन वर्षअघि भएको स्थानीय निकायको चुनावमा गोकर्णेश्वर नगरपालिको उप-मेयरमा जिताए। 

‘मेरो कामप्रतिको लगाव देखेर नै पार्टीले अवसर दिएको हो’ उनले भनिन्, ‘उप-मेयर जितेपछि समाजप्रति मेरो जिम्मेवारी बढेको छ।’ 

उनी अब आफूले थप समाजिक न्याय तथा विकासमा आधारित एजेन्डामा काम गर्न जरूरी भएको औल्याउँछिन्। ‘अहिले नगरवासी सबैको घरदैलोमा खानेपानी जडान भएको छ। सडकका काम तिव्र रूपमा बढिरहेको छ,’ उनी भन्छिन्। 

उनी समस्यालाई पहाड मान्दिनन्। समस्यालाई अवसरको रूपमा बदल्नुपर्ने उनको मान्यता छ। त्यसैले त उनी प्रायः जनताकै घरदैलोमा देखिने गर्छिन। ‘काम गर्न कहिल्यै पछि हट्दिन र हट्ने पनि छैन्। समाजका लागि खटिनै रहनेछु’ उनले भनिन्।



भारतको कोठीबाट बाहिरिएर विश्वको ध्यान खिचेकी सुनिता दनुवार (भिडियोसहित)



तीन वर्षदेखि उप-मेयरको पदमा अनवरत खटिरहँदा पनि उनलाई मनमा शान्ति छैन। उनी अहिले पनि महिलालाई दोस्रो दर्जामा राख्ने गरेको समाजिक संरचनाको विरोध गर्छिन। पुरूष प्रधान समाजमा आफूले गर्न सक्ने विकास कार्यमा समेत रोकावट आएको उनको भनाइ छ।

‘कतिपय काम गर्न सक्ने भए पनि महिला भएकै कारण धक लाग्छ। त्यस्तो क्रियाकलाप देखेर दुःख लाग्छ। पुरूषले गर्न नसकेका काम महिलाले गर्न सक्छन् तर महिलालाई जहिल्यै दोस्रो पारिन्छ’ उनी दुःखेसो पोख्छिन्।

अबको उनको लक्ष्य नगरवासीका लागि विकासका काम गर्नु हो। त्यसैले उनी आउँदो चुनावमा मेयरका लागि दाबेदारी गर्ने बताउँछिन्। ‘मेरो उद्धेश्य भनेको समाज विकसित बनाउनु हो। त्यसैले दोस्रो दर्जामा होइन, पहलो स्थानमा बसेर काम गर्न चाहान्छु’ उनले भनिन्। 

प्रकाशित मिति: : 2021-04-11 18:41:00

प्रतिकृया दिनुहोस्