दाङका स्वास्थ्यकर्मी भन्छन् : बिरामी छटपटाएर मरेको देख्न सक्दैनौँ सरकार

थाहा खबर

काठमाडौँ

श्याम राई

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा आइतबार बिहानदेखि दिउँसो दुई बजेसम्म उपचाररत दुई संक्रमितको मृत्यु भयो।

कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष छन्। यसरी मृत्यु हुनुको कारण हो–बेलैमा अक्सिजनको आपूर्ति नहुनु। 

अहिलेसम्म त्यहाँ १४ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। अक्सिजनकै अभावले अझै पनि संक्रमितको ज्यान जाने सम्भावना उच्च छ। अस्पतालका व्यवस्थापक वली भन्छन् ,‘समयमा अक्सिजन आपूर्ति हुँदैन, जसले बिरामीहरू छटपटिएर मर्न बाध्य हुन्छन्, अक्सिजन नभएर नै बिहानै उपचार गरिँदै आएको बिरामीको मृत्यु भयो।’

उनले स्थानीय तह,सिडिओसँग पटक–पटक अक्सिजनको माग गरिरहँदा पनि समयमा अक्सिजन उपलब्ध नभएको गुनासो पोखे। ‘अक्सिजन नेपालगञ्ज र बाँकेबाट ल्याउनुपर्छ, सवारीसाधनमा ल्याउँदा पाँच ६ घण्टा समय लाग्छ, त्यो बेला सम्म बिरामीले प्राण त्यागिसक्छन,’ वलीले भने।

उनका अनुसार आइतबार मात्रै १५ मिनेट अक्सिजन नभएको भए अझै संक्रमितको ज्यान जाने स्थिति थियो। ‘१५ मिनेट ढिला भए अझ अरुको पनि ज्यान जाने स्थिति थियो, ’उनले भने, ‘धन्न त्योभन्दा अगाडि नै अक्सिजन आइपुगेर बिरामी बच्न सफल भए, भोलिबाट अक्सिजन सकिन्छ, फेरि उही समस्या निम्तिन्छ।’ उनले दैनिक बढीमा ९ बजेदेखि १० बजेसम्म अक्सिजनको चरम समस्या पर्ने बताए।

प्रकाशित मिति: : 2021-05-02 21:06:00

प्रतिकृया दिनुहोस्