‘भागेर ज्यान त जोगियो, अब बाँच्ने कसरी?’

हिमाल खबर

काठमाडौँ

अमित मचामसी  

बाढी आउन थालेको खबर पाएपछि १ असार साँझ खाना पकाउँदापकाउँदै घरबाट भागेकी मेलम्ची बजारकी राधिका श्रेष्ठ दुई दिनदेखि खाना पकाउन नपाएको बताउँछिन्। चाउचाउ र चिउराले दिन कटाएको बताउँदै उनी भन्छिन्, “पानी खायौं। चाउचाउ, बिस्कुट खायौं। अरू त के पाउनु?”

त्यो साँझ उनी खेतबाट फर्केर खाना पकाउँदै थिइन्। बाढी आएको खबर पाएपछि पाक्दै गरेको खाना छोडेर भाग्नुपरेको उनी बताउँछिन्। “दाल पकाएर भात बसालेकी थिएँ। थुनिएको खोला बग्यो, घर छाड भन्ने खबर आयो,” राधिका भन्छिन्, “बसालेको भात त्यसै छोडेर भाग्यौं। स्कूलमा बसिरहेका छौं।”

उनको घर बाढीले पुरिएको छ। खेत नदीले बगाएको छ। घरमा भएका सरसामान सबै नष्ट भएका छन्। “बाढीबाट त भागेर जोगियौं। घर, खेत केही बाँकी रहेन। अब कसरी बाँच्ने हो?” उनी आफैंलाई प्रश्न गर्छिन्। 

भागेर बाढीबाट ज्यान जोगाएका मेलम्ची-११ का लक्ष्मीप्रसाद श्रेष्ठले पनि अब के गर्ने भन्ने सोच्न सकेका छैनन्। “दुई घण्टामै सबै तहसनहस भयो। केही बाँकी रहेन। त्यहीँ आँखामा आइरहेको छ। केही सोच्न सकेको छैन,” उनी आँखा पुछ्दै भन्छन्। 

प्रहरीले ‘मेलम्चीमा बाढी आउँदै छ’ भनेपछि उनी घर छाडेर भागेका थिए। परिवारका अन्य सदस्य पनि भागे। तर, धनसम्पत्ति केही जोगाउन नसकिएको उनी सुनाउँछन्। 

स्थानीय विद्यालयमा आश्रय लिइरहेका उनी सबै बर्बाद भएको पीडा पोख्छन्। “घर पुरियो। होटल पुरियो। खेतबारी सबै नदीले लग्यो,” लक्ष्मीप्रसाद भन्छन्, “जिन्दगीभर जोडेको सम्पत्ति सबै गयो।”
 

प्रकाशित मिति: : 2021-06-17 16:56:00

प्रतिकृया दिनुहोस्